February 25, 2025, 9:37 am
» प्रेम सम्बन्धका कारण पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका तनावग्रस्त » नवलपरासी पश्चिममा भएको गोलीकाण्डबारे सांसद अमरेशले मागे सरकारको जवाफ » पूर्वबाट रातो सूर्य उदाउँदैछ- प्रचण्ड » ७० वर्षमाथिकालाई राष्ट्रिय परिचयपत्र लागू नगर्न माग » आमआदमी पार्टीका १२ विधायक दिनभरका लागि दिल्ली विधानसभाबाट निष्काशित

रवि लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस

पुस ८, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की अदालतमा दायर सहकारी ठगी प्रकरण मुद्दामा आजदेखि थुनछेक बहस हुने भएको छ ।

अदालतमा आज गोला प्रथापछि न्यायाधीशको बेन्च तय हुनेछ । बेन्चले सुनुवाइ सकिएपछि लामिछाने लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।

सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, पूर्व डीआईजी छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।

पाँच जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ । लामिछानेविरुद्ध भने तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ ।

लामिछाने र जीवी राई सहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सूर्यदर्शनको ५ करोड ४८ लाख निक्षेप गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको भेटिएको प्रहरीको दाबी छ ।

लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच र सहकारी ठगीतर्फ तीन करोड ३७ लाख ६५ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले जनाएको छ ।

सहकारीको बचत रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया