April 24, 2025, 9:03 pm

भक्तपुरको बिस्केट जात्रामा ५५ हातको लिङ्गो अन्तत: सफलतापूर्वक उठ्यो, टौमढीमा गुञ्जियो “ह्या ह्यो!”

बैशाख १, २०८२ मा प्रकाशित | १०३०दर्शक तीव्रखबर

– शिव कुमार फुयल

— भक्तपुरको बिस्केट जात्राको मुटु मानिने ५५ हात अग्लो लिङ्गो (योसिं) आज सोमबार दिउँसो टौमढीमा सफलतापूर्वक उठाइएको छ।२०८१ चैत ३१ गत्ते आइतबार राति असफल भए पनि  भोलिपल्ट २०८२ बैशाख १ गत्ते बिहानैदेखि  दोहोरिएको प्रयास अन्ततः सफल भएको हो।

भक्तपुरको ऐतिहासिक बिस्केट जात्रामा आइतबार राति लिङ्गो (योसिं) उठाउने प्रयास असफल भएपछि जात्राको जोश केही क्षण स्तब्ध भएको थियो। परम्परागत स्वर, बाजा र हजारौंको भीडबीच टौमढीमा ठाडो उभिन खोजेको ५५ हात अग्लो लिङ्गो रातभर प्रयास गर्दा पनि उठ्न सकेको थियन । लिङ्गो नउठेपछि धार्मिक भावना र जात्राको संस्कृतति झल्काउने यो क्षण भक्तपुरका गल्ली–गल्लीमा मात्र होइन, सामाजिक सञ्जालमा पनि व्यापक चर्चा र कुराकानीको विषय बन्यो।

जात्रा भर्न आउने स्थानियहरु आ-आफ्नै प्रतिक्रिया दिदै थिय। टौमढिको भिडमा कोहि भन्दै थियो  “शिव र भैरवको मन नपुगेसम्म लिङ्गो उठ्दैन। हामीले जति ताने पनि, तान्ने शक्ति र तानिनुपर्ने घडी दुवैको मिलन हुनुपर्छ।”

पुन: बैशाख १ गत्ते सोमबार बिहानै देखि लिङ्गो उठाउने क्रम सुरु भयो अन्तत: लिङ्गो उठेरै छोड्यो ।

लिङ्गो उठ्नेबित्तिकै टौमढी क्षेत्रमा रहेका हजारौं दर्शकको एकै साथ  “ह्या ह्यो!” को गुन्जयमानले आकाश चिरेएको जस्तो लाग्थ्यो । भीडको उत्साह, बाजा, झाँकी, र सुरक्षाकर्मीको व्यवस्थापनले भक्तपुरको फेरि एकपटक संस्कृति  जोगिएको छ ।

लिङ्गो क्रमशः ठाडो हुँदै पूर्ण रूपमा सीधा भएपछि आस्था कतिको छ भन्ने  प्रष्ट देखिन्थ्यो ।  युवाहरूको समन्वय र समर्पण , गुठी व्यवस्थापनको सहकार्य र हजारौंको सहभागिता हेर्दा जात्राको शक्ति के हो भन्ने स्पष्ट हुन्थ्यो।  लिङ्गो मात्र होइन, भत्तपुरको विस्केट जात्राको संस्कार उठेको छ । समस्त भक्तपुरको प्रतिष्ठा जोगिएको छ ।

यो दिन विस्केट जात्राको सबैभन्दा पवित्र र महत्वपुर्ण दिन मानिन्छ, जसले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ संवतको स्वागत गर्दछ।लिङ्गो उठेपछि जात्राको औपचारिक सुरुवात भएको छ। अब विभिन्न टोलबाट रथयात्रा अगाडि बढ्नेछ, भवानी र भैरवका रथ तानिँदै शहर घुमाइनेछ। टोलबीचको प्रतिस्पर्धा र साङ्गीतिक कार्यक्रमहरू पनि सुरु हुनेछन्।

बिस्केट जात्रा भक्तपुरको मात्र होइन, सम्पूर्ण नेपालकै एक अनौठो सांस्कृतिक सम्पदा हो। लिङ्गोको सफल उभ्याइ जात्राको केन्द्र हो, जसले वर्षभरिको ऊर्जा, सामूहिकता र धार्मिक विश्वासलाई एक ठाउँमा बाँधिदिन्छ।

लिङ्गो, जसलाई भैरवनाथ देवताको वीरध्वज मानिन्छ, यो नाग–नागिनीको प्रतीक हो। “यो हाम्रो पुर्खाको परम्परा हो ” ६२ वर्षीय स्थानीय बासिन्दा तीर्थराज डंगोल भन्छन्, “यो लिङ्गो उभिएपछि मात्रै नयाँ वर्ष सुरु भएको होकि भन्ने महसुस हुन्छ।”

यो लिङ्गो केवल एउटा काटिएको रुख मात्र होइन, यो त अष्टमात्रिकाको प्रतीक हो। लिङ्गो ठड्याउने क्रममा प्रयोग हुने आठवटा डोरीहरू अष्टमात्रिकाका आठ शक्तिको संकेत मानिन्छ। लिङ्गोको टुप्पोमा फहराइने हंलिपतध्वज वीरता र विजयको संकेत हो। धार्मिक विश्वास अनुसार लिङ्गो फुकाएर हेर्न हुँदैन, त्यसो गरे नयाँ वर्ष अशुभ हुने डर हुन्छ। स्कन्दपुराणमा पनि उल्लेख छ “यत्र यत्र स्थितो ध्वजः तत्र तत्र शुभं भवेत्।” अर्थात जहाँ जहाँ धर्मको ध्वज ठड्याइन्छ, त्यहाँ शुभ फल मिल्दछ।  भक्तपुरमा ठड्याइने यो योसिंः लिङ्गो वीरता, शुद्धता र पुनर्जन्मको प्रतीक मानिन्छ

भक्तपुरका एक संस्कृतिविद् भन्छन्, “यो परम्परा वैदिक कालको ध्वज स्थापना संस्कारसँग जोडिएको छ। नाग–नागिनीको प्रतीकको रूपमा लिङ्गोले पृथ्वी र आकाशबीचको सन्तुलनलाई जनाउँछ।”

लिङ्गो ठड्याउनु अघि, भैरवनाथ र भद्रकालीको रथलाई खलाँ टोलमा जुधाउने चलन छ, जसलाई ‘द्योल्वाकिगु’ भनिन्छ। यो भगवानको शक्तिपरीक्षण जस्तै हो – जसमा उत्सव र मनोरञ्जन मिसिएको हुन्छ।

विस्केट जात्राको यो दिन भक्तपुरवासीको उत्साह चरम सिमामा हुन्छ विस्केट जात्रामा स्थानीय युवाहरूको सक्रियता अभूतपूर्व हुन्छ। उनीहरू डोरी समातेर लिङ्गो उभ्याउने जिम्मेवारी लिन्छन्। २६ वर्षीय विकेस प्रजापति भन्छन्, “लिङ्गो रातभरी तान्दा पनि ठडिएन शरीर थाक्यो तर मन भरिएको छैन ”

स्थानीयहरूका अनुसार यो परम्परा नयाँ वर्षको शुभारम्भमा सकारात्मक ऊर्जा प्राप्त गर्ने माध्यम हो। यस दिनको अर्को आकर्षण भनेको लिङ्गोको टुप्पोसम्म चढेर ल्याइने फूलपाती हो। जनविश्वास अनुसार जसले फूलपाती ल्याउँछ, उसको मनोकामना पूरा हुन्छ। “पुर्खाको परम्परा देखिको चलन अनुसार लिङ्गोमा चडेर बोकेर फूल ल्याउने बानी मलाई बाल्यकालदेखि नै छ,” स्थानिय राकेस शाक्य भन्छन्, “यसरी ल्याउदा आफ्नो विश्वासको डोरी भगवानसम्म पुग्छ भन्ने अर्थ हुन्छ।”

लिङ्गो उभ्याएपछि बाराही देवीको तिंप्वाः जात्रा सुरु हुन्छ र त्यसको पाँचौँ दिन अर्थात् वैशाख १ गते, लिङ्गो विधिपूर्वक ढालिन्छ।

यसरी पुरानो वर्षको अन्त्य र नयाँको शुभारम्भको पुल तयार हुन्छ। वैशाख १ गते बेलुका पुन: सोहि लिङ्गो , विधिपूर्वक पूजा गरेर ढालिन्छ। यसलाई संस्कृतमा “ध्वजपतन संस्कार” भनिन्छ। यो प्रक्रिया “नवचक्र प्रवर्तन” को प्रतीक मानिन्छ, जसमा एक चक्र (वर्ष)को समाप्ति र अर्कोको आरम्भ हुन्छ।“चक्रं विचक्रमे देवो यत्र धर्मो अधिष्ठितः।”(महाभारत, शान्तिपर्व)अर्थात “जहाँ धर्म टिकेको छ, त्यहाँ चक्र सधैं अगाडि बढ्छ।”

विस्केट जात्राको यो लिङ्गो ठड्याउने परम्परा केवल सांस्कृतिक उत्सव मात्र होइन यो त वैदिक, पौराणिक र जनआस्थाको गहिरो मिश्रण हो। जब भक्तपुरको आकाशमा योसिंः उभिन्छ, त्यो क्षण एकपटकका लागि इतिहास, श्रद्धा र भविष्य सबै एउटै ध्वजमा गुञ्जिन्छन्।विस्केट जात्रा केवल धार्मिक अनुष्ठान मात्र होइन, यो भक्तपुरको सामूहिक चेतना, पहिचान र समर्पणको उत्सव हो। जति ठूलो लिङ्गो उभिन्छ, त्यति नै उचाइमा पुग्छ यहाँको आस्था, ऊर्जा र संस्कृति।

प्रतिक्रिया