काठमाडौँ – वीरगञ्जमा हनुमान जयन्तीको शोभायात्राका क्रममा चैत ३० गते उत्पन्न भएको विवादलाई साम्य पार्न जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले पाँच बुँदे सहमति गरेको छ।
दिनभर चलेको छलफलपछि प्रशासन, राजनीतिक दल, धार्मिक प्रतिनिधि, नागरिक समाज र सुरक्षा निकायका प्रतिनिधिहरूबीच सहमति जुटेको हो। जसले वीरगञ्जमा शान्ति स्थापना हुने आशा जगाएको छ।
बैठकले मुख्य रूपमा पाँच वटा विषयमा सहमति गरेको छ। जसमा हनुमान जयन्तीको शोभायात्रामा भएको घटनामा संलग्न दोषीहरूको पहिचान गरी कानूनी प्रक्रियाअनुसार आवश्यक कारबाही गर्ने सहमति भएको छ।
यस्तै, बैठकमा सहभागी सबै पक्षले आपसी धार्मिक र साम्प्रदायिक सद्भाव कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै घटनाको अनुसन्धान तथा कानूनी प्रक्रियामा पूर्ण सहयोग पुर्याउने सहमति पनि भएको छ।
घाइतेको उपचार र क्षतिपूर्ति, घटनामा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचारको व्यवस्था गरिने भएको छ। यसका साथै घटनाबाट भएको भौतिक क्षतिको क्षतिपूर्तिका लागि प्रशासनले आवश्यक पहल गर्ने निर्णय गरेको छ।
धार्मिक, साँस्कृतिक र जातीय कुनै पनि कार्यक्रममा हतियार प्रदर्शनलाई पूर्ण रूपमा निषेध गरिएको छ। यदि यस्तो कार्य गरेको पाइएमा दोषीलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।
पर्सा जिल्लामा सञ्चालित सम्पूर्ण धार्मिक संस्था र उनीहरूले चलाएका विद्यालय, मदरसालगायतका संस्थाहरूको सुक्ष्म अनुगमन गरिने भएको छ। यदि कुनै अनियमितता भेटिएमा आवश्यक कारबाही अगाडि बढाइनेछ।
प्रतिक्रिया