April 27, 2025, 1:38 am

नयाँ वर्षमा नयाँ सरकार बन्ने प्रचण्डको दाबी

चैत्र ३०, २०८१ मा प्रकाशित | ४२०दर्शक तीव्रखबर

काठमाडौं ।नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष प्रवेशसँगै नयाँ सरकार बन्न सक्ने दाबी गरेका छन् ।आज गृहजिल्ला चितवन पुगेका प्रचण्डले पत्रकारहरूसँगको कुराकानीमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन हुने आधार बनेको दाबी गरेका हुन् ।

नयाँ वर्षमा नयाँ सरकारको सम्भावना छ ?’ भन्ने पत्रकारको प्रश्नमा उनले ‘सरकारतिर आफ्नो पार्टीको ध्यान नरहे पनि परिस्थितिले त्यतातिर डोर्याएको ‘जवाफ दिए ।

‘हाम्रो ध्यान चैँ सरकारतिर त्यति छैन । तर परिस्थिति यस्तो बन्दै छ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिराख्या छ । त्यसकारण कुनै पनि सम्भावना हुन सक्छ ।’ प्रचण्डले भने ।

आफूले पहिलेदेखि नै ठूलो दलको हैसियतले सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने बताउँदै आएको र त्यो दिशातिर गैरहेको दाबी उनले गरे । सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्ने नै सही कुरा हुने उनले दोहो¥याए ।

‘पछिल्लोचोटि थुप्रै नयाँ अनुभवसहित भन्या हो, मलाई योभन्दा बढी बोल्न नलगाउनुस् । मैले केही नयाँ कुराको आधारमा त्यो कुरा भन्या हो । मलाई लाग्छ त्यही दिशातिर देश जान्छ ।’
नयाँ वर्षमा मुलुकले निकास पाउने उनको भनाई छ ।

‘चौतर्फी असन्तुष्टि, आक्रोश, आवेग, आन्दोलन चलिराख्या छ । तर सरकार संवेदनशील छैन । डाक्टर, नर्स, शिक्षक, लघुवित्त पीडित मात्र नभएर सबै राजनीतिक दलहरू पनि झण्डै झण्डै सडकमै छन् । सरकारमा भएका दल पनि सडकमा आउन थाल्या छन् । भनेपछि परिस्थिति निकै गम्भीर र पेचिलो बनेको छ । तर मलाई लाग्छ नयाँ वर्षले केही न केही निकास लिएर आउँछ ।’ प्रचण्डले भने ।

प्रतिक्रिया