काठमाडौँ – गभर्नर महाप्रसाद अधिकारले आफ्नो कार्यकालको दोस्रो वर्ष पुग्दा नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि प्रहार भएको बताएका छन्।
शुक्रबार आफ्नो कार्यकालमा भएका प्रमुख कार्य तथा उपलब्धिहरु सार्वजनिक गर्दै उनले नेतृत्वमाथि नै गरिएको प्रहारले केन्द्रीय बैंकको स्वायत्ततामाथि नै ठाडो हस्तक्षेप भएको बताए।
जस्तोसुकै असहज परिस्थिति भए पनि सम्बन्धित चुनौतीहरु सामना गर्न सबैको सद्भाव रहेका कारण विगत ५ वर्ष आफ्नो सन्तुष्टिका वर्षहरु रहेको गभर्नर अधिकारीले बताए। उनले राष्ट्र बैंकको इतिहासमा महत्वपूर्ण इँट्टाहरु थपिएको महसुस भएकोसमेत दाबी गरे।
उनले भने, ‘कार्यकालको दोस्रो वर्ष पुग्दा नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि प्रहार भई केन्द्रीय बैंकको स्वायत्ततामाथि ठाडो हस्तक्षेप अवस्था रह्यो।’
उनले आफूले कार्यकाल सम्हाल्दै गर्दा कोभिडका कारण विश्व अर्थतन्त्र संकुचनमा फसेको बताउँदै महामारी पुनरुत्थान नहुँदै रुस युक्रेनको तनावका कारण उच्च मूल्य वृद्धिको सामना संसारले गर्नुपरेको बताए।
चुनौताका बाबजुत राष्ट्र बैंकले लिएको समयअनुसारका उपयुक्त नीतिगत व्यवस्थाका कारण समग्र आर्थिक स्थायित्व कायम हुन सकेको उल्लेख गरे। गभर्नर अधिकारीकाअनुसार मुलुकको बाह्य क्षेत्र सुदृढ छ।
आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै गभर्नर अधिकारीले वित्तीय पँहुच विस्तार गर्ने, वित्तीय सेवाको उपयोगलाई प्रोत्साहन दिने तथा वित्तीय ग्राहक संरक्षणमार्फत सर्वसाधारणको वित्तीय प्रणालीमा रहेको विश्वास अभिवृद्धि गर्ने कार्यलाई राष्ट्र बैंकले उच्च प्राथमिकतामा राख्न सफल भएको बताए।
प्रतिक्रिया