गाडी आयात खुलाउन माग गर्दै नाडाद्वारा आन्दोलन घोषणा

- December 2, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सरकारले नेपालमा गाडी आयातमा लगाएको रोक तत्काल खुलाउनु पर्ने माग राख्दै अटोमोबाइल्स व्यवसायीहरुले विरोध कार्यक्रम सार्वजनिक गरेका छन्। शुक्रबार पत्रकार सम्मेलन गगरि अटो व्यवसायीले शतप्रतिशत नगद मार्जिन र ५० प्रतिशत नगद मार्जिन व्यवस्था खारेजीको मागका साथै आयात तत्काल खुलाउनु पर्ने भन्दै आन्दोलनको घोषणा गरेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले बताएका छन् ।

उनले चालू पुँजी कर्जा मार्गदर्शन खारेज, मौद्रिक नीति परिमार्जन, ब्याजदर नियन्त्रण र गाडी आयात फुकुवा माग गर्दै आन्दोलन घोषणा गरेको बताए । जसले कर तिरेको छ उसैलाई सरकारले पेलेको समेत आरोप उनले लगाए । नाडाका अध्यक्ष थापाले बाध्यात्मक परिस्थिति आएकाले आन्दोलनको बिकल्प समेत नभएको बताए।

२१ प्रतिशत राजस्व योगदान अटो क्षेत्रले दिए पनि सरकारले अटोमोबाइल्सलाई प्राथमिकता नदिएको उनीहरुको गुनासो रहेको छ । अध्यक्ष थापाले भने,‘८ महिनादेखि अटो व्यवसाय बन्द छ, १ लाख रोजगारी सिर्जना गरेको यस क्षेत्रमा ३० प्रतिशत कटौती भै सकेको छ, अब तत्काल सरकारले हाम्रो माग नसुने आन्दोलन गरिनुको विकल्प छैन ।’

उनले गाडीमा ५० प्रतिशत र पार्टस १०० प्रतिशत नगद मार्जिन राख्नुपरेको भन्दै असन्तुष्टि जनाएका छन्। अटोमोबाइल्स व्यवसायी सडकमा जाने अवस्थामा पुगेको भन्दै थापाले भने,‘मंसिर २२ गतेसम्म पहिलो चरणका कार्यक्रम सार्वजनिक गरेका छौँ।’ अध्यक्ष थापाले समस्या समाधान नभए पुनः आन्दोलन घोषणा गर्ने बताए।

चरणबद्ध रुपमा विरोध कार्यक्रम गर्दै जाने बताइएको छ । नाडाले सरकारी नीतिको विरोध गर्दै उनीहरुले चरणबद्ध आन्दोलन घोषणा गरेका हुन । यसअनुसार २२ गते सम्पूर्ण व्यवसायीले कालो पहिरन लगाई ११ बजेदेखि २ बजेसम्म माइतीघर मण्डलामा धर्ना दिने कार्यक्रम छ। उक्त दिन सातै प्रदेशमा धर्ना कार्यक्रम बस्ने नाडाले जनाएको छ।

आन्दोलनका संयोजक तथा नाडा उपाध्यक्ष सुरेन्द्र रिजालले ३ घण्टा शान्तिपूर्ण धर्ना गर्ने बताए। उनले नगद मार्जिनको व्यवस्था र गाडी आयात खुल्ला गर्नुपर्ने बताए। निर्जीवन बीमाको ५० प्रतिशत व्यवसाय घटेकोमा पनि उनीहरुले असन्तुष्टि जनाएका छन्। नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले सरकारका कारण ५८ वटा डिलर बन्द भएको बताए।

नाडाका अनुसार अटो क्षेत्रमा १ खर्ब लगानी रहेको छ भने १० हजार व्यवसायी रहेका छन्। नाडाले यसकाे सुरुवात मंसिर २२ गते काठमाडाैंकाे माइतीघर मण्डलामा बिहान ११ बजेदेखि २ बजेसम्म कालाे लुगा लगाई धर्ना दिएर सुरु गर्ने जनाएकाे छ । ८ महिना देखि पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनका आयातमा प्रतिबन्ध लगाएकोमाथि नेपाल राष्ट्र बैंकले अटोमोवाइल व्यवसायसँग सम्बन्धित विषयहरुमा एकपछि अर्को व्यवसाय अमैत्री नीति नियमहरु ल्याएकाे विराेधमा आन्दाेलन गर्न लागेकाे नाडाले जनाएकाे छ ।

नाडाकाे माग र सुझावहरु : 

विगत ८ महिना देखि नीजि प्रयोजनका कार, जीप भ्यान तथा १५० सि.सि माथिका दुई पाँग्रे सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध तत्काल खोल्नु पर्ने ।

नेपाल राष्ट्र बैंकद्वारा जारी चालु पूँजी कर्जा मार्गदशर्न, २०७९ तत्कालका लागि स्थगित गर्दै अनुकुल समयमा आवश्यक परिमार्जन सहित व्यवसायीहरुको सल्लाहमा लागु गरिनु पर्ने ।

सतप्रतिशत नगद मार्जिन र पचास प्रतिशत नगद मार्जिन राखेर प्रतित पत्र खोल्नु पर्ने व्यवस्थालाई पहिलेकै अवस्थामा ल्याउनु पर्ने ।

नेपालको वित्तिय निकायहरुले यही २०७९ साल कार्तिक १ गते देखि लागु हुनेगरी कर्जा प्रवाहमा व्याज बढाउने निर्णय गरेको छ । यसले नेपालको अटोमोवाइल क्षेत्र लगायत समग्र उद्योग व्यवसायनै गम्भिर रुपले प्रभावित भएको कारण, व्यवसायीहरुले व्याज नै तिर्न नसक्ने अवस्था आउने देखिएको छ । हालको व्याज तथा प्रिमियम दर लाई तत्कालै नियन्त्रणमा राख्नको लागि आवश्यक व्यवस्था गर्नु पर्ने ।

अटोलोन / हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनु पर्ने ।

बैंकहरुको तरलता अभावलाई सहज बनाउन सिडी रेसियाेलाई पूनरावलोकन गर्नु पर्ने ।

बैकहरुबाट सवारी साधनको हायर पर्चेज लाेन स्वीकृत भए पश्चात जारी गरिने डेलिभरी अर्डर वापतको भुक्तानी समयावधि सवारी साधन बैंकको नाममा नामसारी भएको एक हप्ताभित्र गरिनु पर्ने ।

त्यस्तै वैकहरुवाट निजी सवारी साधनको हायर पर्चेज लाेन प्रवाह गर्ने प्रकियामा लाेन भ्यालु टु रेसियाेको हालको सिमा पचास प्रतिशतबाट वृद्धि गरी सत्तरी प्रतिशत कायम गर्नु पर्ने ।

पूर्नकर्जा नविकरण गर्ने म्याद एक वर्षको लागि थप गरिनु पर्ने ।

भिड तथा आयात प्रतिबन्धका कारण लामो समय देखि थला परेको अटोमोवाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पूर्नतालिकीकरण तथा व्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनु पर्ने ।

आन्दोलनका कार्यक्रमः

१.  यहि आउदो शुक्रवार २०७९ मंसिर १६ गते प्रेस मिट गरेर सम्पूर्ण हाम्रा कार्यक्रमहरू मिडिया समक्षजानकारी गराउने र मिडियाको                          सहयोग लिने ।
२.  नाडाद्धारा तय गरिएका नाराहरु हामी सबै व्यावसायीले फेसबुक, इन्स्टाग्राम र टुइटरमा प्रोफाइल पिक्चर बनाउने ।
३.  हामिले तय गरेको नाराहरू हामिले चढ्ने गाडीमा आजै बाट अगाडी पछाडी टांसेर हिँड्ने ।
४.  नाराहरूलाई व्यानर बनाएर आफ्नो सोरुममा टास्ने ।
५.  हाम्रो विरोध कार्यक्रममा सहभागि हुन नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध वस्तुगत संगठन र जिल्ला नगर उद्योग वाणिज्य             संघहरु, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलाई समेत औपचारिक पत्रमार्फत सहयोग माग्ने ।
६.   यस पश्चात पछि २०७९०/८/२२ गते विहिवारका दिन सम्पूर्ण व्यवसायी साथीहरू कालो पहिरन लगाइ, प्लेकार्ड बोकी बिहानको ११ बजे         देखि २ बजेसम्म काठमाण्डौको माइतिघर मण्डेलामा धर्ना दिने र साथै सातै प्रदेशमा एकै पटक धर्ना कार्यक्रममा बस्ने ।
७.  सोही दिन हाम्रा औपचारिक नाराहरू काठमाडौँ लगायत हाम्रा सातै प्रदेशमा रहेका संगठन मार्फत सार्वजनिक गर्ने र नेपाल भरका                    सम्पूर्ण    सदस्यज्यूहरुलाई एकै पटक परिचालन गर्ने ।
८.     मङ्गसिर २२ गतेसम्म पनि हाम्रो मागको सम्बोधन नभएमा पहिलो चरणको कार्यक्रम २२ गते समापन गरी दोस्रो चरणको                आन्दोलनको कार्यक्रम पुनः सार्वजनिक गर्ने ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!