April 9, 2025, 7:06 pm

अवैध रूपमा अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपालीमाथि गोली प्रहार

फाल्गुन २७, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

काठमाडौं । अवैध रूपमा अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपाली नागरिकमाथि गोली प्रहार गरिएको छ । गोली प्रहारपछि उनीहरूलाई नियन्त्रणमा लिइएको स्थानीय प्रहरीको भनाइ छ ।स्थानीय समयअनुसार गतसाता मंगलबार राति उनीहरू डुंगा चढेर क्यालिफोर्नियाको सानडिएयो क्षेत्रबाट अवैध तरिकाले अमेरिका प्रवेश गर्न खोजेका थिए । अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी)को एयर एन्ड मरिन अपरेसन्स् (एएमओ)ले उनीहरूमाथि गोली पक्राउ गरेको हो । उनीहरूको नाम खुलाइएको छैन । त्यसबेला क्यालिफोर्नियाको समुन्द्री तटबाट दुई नेपालीसहित नौ जना अवैध अमेरिका प्रवेश गर्न खोजेको र उनीहरूलाई नियन्त्रणमा लिइएको सीबीपीले वेभसाइडमार्फत जानकारी दिएको छ । पक्राउ पर्नेमा दुई नेपालीसहित दुई मेक्सिकन, चार ब्राजिलियन र एक जना चिनियाँ नागरिक छन् ।‘एएमओको विमानले मंगलबार राति करिब साढे ९ बजे क्यालिफोर्नियाको तटबाट डुंगामा अमेरिकाको सिमातर्फ आउँदै गरेको अवैध आप्रवासीको समूह पत्ता लगाएपछि कोस्टल इन्टरसेप्टर भेसलसँग समन्वय गर्दै एयरक्रुले डुंगाको निगरानी गरिरहेको थियो,’ सीबीपीले भनेको छ, ‘रातिको समयका कारण समुद्रमा उनीहरूलाई नियन्त्रणमा लिन समस्या भएपछि बुधबार बिहान उनीहरूमाथि गोली प्रहार गरी पक्राउ गरिएको हो ।’

उनीहरूलाई अमेरिकी कानुन ८ युएससी १३२४ उल्लंघन गरेको आरोपमा कानुनी कारबाही प्रक्रिया अघि बढाउने सीबीपीले तयारी गरेको छ ।

अमेरिकी कानुनअनुसार सामान्य उल्लंघनमा जरिवाना वा पाँच वर्षसम्म जेल, आर्थिक लाभका लागि वा आपराधिक विदेशी संलग्न भएमा न्यूनतम ३ देखि अधिकतम १० वर्षसम्म जेल सजाय हुनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा कार्यभार सम्हालेलगत्तै सीमा सुरक्षामा कडाइ गरिएको छ । यस्तै  सुरक्षाकर्मी परिचालन संख्यामा समेत दोब्बर वृद्धि गरिएको छ । यसक्रममा अवैध ढंगले अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीको संख्या ९७ प्रतिशतले घटेको छ ।

ट्रम्प प्रशासनले सीमा सुरुक्षामा खटिने सीबीपीलाई गैरकानुनी रूपमा अमेरिका प्रवेशका लागि सीमा पार गर्न खोज्नेहरुलाई अवस्थाको अध्ययन गर्दै इन्काउन्टर गर्न, पक्राउ गरी जेलमा राख्न, तत्काल कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन र निष्कासन गर्न आदेश दिएको छ ।

प्रतिक्रिया