January 22, 2025, 10:05 am
» चितवनमा गैंडाको आक्रमणबाट मृत्यु » प्रचण्डले जति बोले पनि कोशिस गरे पनि सरकार नढल्ने : नेता थापा » बसमा छुट नपाउँदा एमाले विद्यार्थीको विरोध » डोनाल्ड ट्रम्पलाई रास्वपाको बधाई, अमेरिकी दूतावासमा बोधार्थ » बिमानमा बम भएको सन्देश पछि बंगलादेशमा जहाज उडान बन्द

इजरायल-हमास युद्धविराम : इजरायली कारागारबाट ९० जना प्यालेस्टिनी मुक्त

माघ ७, २०८१ मा प्रकाशित | २६०दर्शक तीव्रखबर

काठमाडौँ। हमाससँगको युद्धविराम सम्झौताअन्तर्गत इजरायलले अधीनस्थ वेस्ट बैंकस्थित एक कारागारबाट ९० जना प्यालेस्टिनीलाई मुक्त गरेको छ। दुईवटा बसमा राखेर उनीहरूलाई जेलबाट बाहिर लगिएको थियो।

मुक्त भएका बन्दीलाई सयौँ प्यालेस्टिनीले उल्लासपूर्वक स्वागत गरे। इजरेलले रिहा गरेका बन्दीमा अधिकांश महिला छन्। इजरायलले मुक्त गरेका बन्दीहरूमा प्यालेस्टिनी राजनीतिज्ञ खालिदा जरार पनि रहेको विभिन्न समाचारसंस्थाहरूले जनाएका छन्।

उनलाई रमल्लाहमा उनका आफन्त र शुभचिन्तकहरूले स्वागत गरिरहेको तस्बिरहरू पनि सार्वजनिक भएका छन्। जरार ‘पप्यलर फ्रन्ट फर द लिबरेशन अफ प्यालेस्टाइन’की प्रभावशाली नेता हुन्।

उक्त संगठनलाई इजरेल, अमेरिका र युरोपेली संघले “आतंकवादी संगठन” भनेका छन्। उनी कैयौं पटक जेलमा पर्दै र छुट्दै आएकी छन्। यसअघि उनलाई भिडलाई उक्साएको आरोपमा सजाय पनि भएको थियो।

त्यसअघि आइतवार प्यालेस्टिनी लडाकु समूह हमासले गाजामा बन्धक बनाइएका तीन जनालाई मुक्त गरेको थियो। गाजामा कार्यरत रेडक्रसमार्फत् इजरेली सेनालाई हमासले बन्धकहरू बुझाएको हो। मुक्त गरिएका तीन बन्धकमा ३१, २८ र २४ वर्षका महिला छन्। त्यसमध्ये दुई इजरेली र एक ब्रिटिश तथा इजरेली दुवै नागरिकता भएकी महिला हुन्।

बीबीसीका अनुसार  हमासबाट मुक्त भएका उनीहरूलाई अहिले तेल अभिभस्थित अस्पतालमा उपचार गरिँदै छ। उनीहरूको अवस्था स्थिर रहेको चिकित्सकहरूले बताएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार आइतबार मानवीय सहायता सामग्री बोकेका ६३० भन्दा बढी ट्रकहरू गाजामा प्रवेश गरेका छन्। त्यसमध्ये ३०० भन्दा बढी उत्तरी गाजातर्फ गएका छन्।

गाजावासीहरू मुख्यत: मानवीय सहायतामार्फत् आउने खाद्यसामग्रीमा निर्भर छन्। पछिल्ला साताहरूमा गाजामा औसतमा दैनिक ४० वटा ट्रकहरू मात्र प्रवेश गरिरहेका थिए।

द्वन्द्व सुरु हुनुभन्दा अगाडि दैनिक ५०० जति ट्रकहरू त्यहाँ प्रवेश गर्थे। युद्धविराम सम्झौतामा दैनिक रूपमा त्यहाँ ६०० सहायता सामग्री बोकेका ट्रकहरू प्रवेश गर्नुपर्ने उल्लेख छ। आइतबार गाजामा प्रवेश गरेकामध्ये ३० वटा ट्रकमा स्वास्थ्यसम्बन्धी सेवाहरू सञ्चालनका लागि आवश्यक पर्ने इन्धन लगिएको छ।

हमासले एक बन्धक मुक्त गरेको बदलामा ३० जना प्यालेस्टिनी बन्दीहरूलाई इजरायली जेलबाट छाडिने बताएको छ। लागू हुने अन्तिम समयमा समेत केही ढिलो भई आइतवारबाट सुरु भएको युद्धविरामले दुवैतर्फ खुसी छाएको देखिएको छ।

आफ्नो घरबाट विस्थापित भएका गाजावासीहरू भग्नावशेषमा परिणत भएका आफ्ना घरहरूतर्फ फर्कँदै छन्। उनीहरू १५ महिनादेखि जारी लडाइँमा आफ्नो घरबाट विस्थापित भएर रफाहस्थित अस्थायी शिविरमा बसिरहेका थिए।

प्रतिक्रिया