September 19, 2024, 9:45 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

संघीय निजामती ऐन दुई महिनाभित्र पारित हुन्छ : सामान्य प्रशासन मन्त्री गुप्ता

साउन ८, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

वीरगन्ज : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले विगत आठ वर्षदेखि अलपत्र परेको संघीय निजामती ऐन दुई महिनाभित्र पारित गरिने बताएका छन्।

पहिलो पटक मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला पर्सामा मंगलबार आइपुगेका मन्त्री गुप्ताले वीरगन्जमा नेकपा एमाले पर्साले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै यस्तो बताएका छन्।

उनले भने, ‘मैले मन्त्रालय सम्हालेको ८ दिनमात्र भएको छ। यो ८ दिनमा मैले दुई वटा कामलाई प्राथमिकता दिएर अगाडि बढेको छु। पहिलो काम ८ वर्षदेखि अलपत्र परेको संघीय निजामती ऐनलाई अबको दुई महिनाभित्र पास गराउने छु। अर्को काम भनेको मन्त्रालय मातहतका कर्मचारीको सरुवा प्रक्रियालाई व्यवस्थित पार्ने हो। त्यसका लागि नियमावली बनाउने काम सुरु गरिसकेका छौं। कम्तीमा १ वर्षभित्र कुनै पनि कर्मचारीको सरुवा नहुने गरी त्यो नियमावली बन्दैछ। यसले कर्मचारीको सरुवामा अहिले देखिएको बेथिति अन्त्य हुन्छ।’

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री गुप्ताले माओवादी अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्रीमा रहिरहन एमाले र कांग्रेसलाई पालैपालो खेलाएका कारण अहिले एमाले-कांग्रेस एक ठाउँमा आएर नयाँ समीकरणको सरकार बनाउनु परेको बताए।

उनले भने, ‘प्रचण्डले कहिले एमालेको बुईमा चढेर खेलाए, कहिले कांग्रेसको बुईमा चढेर खेलाए। कहिले एमालेलाई तर्साए, कहिले कांग्रेसलाई तर्साए। त्यसले देशमा राजनीतिक अराजकता बढ्यो। त्यसकारण एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाजी एक ठाउँमा आउनु परेको हो।’

पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री गुप्ताले एमाले अध्यक्ष ओली नेतृत्वको सरकारसामु धेरै चुनौतीहरू रहेको पनि बताए। देश र जनतालाई समृद्ध बनाउँदै देशमा अमूल परिवर्तन ल्याउने चुनौती अहिलेको सरकार सामु रहेको उनको भनाई थियो। मन्त्री गुप्ताले भने, ‘नेपाली जनताको एकमात्र आशा र भरोसाको केन्द्र आदरणीय पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीज्यू हुनुहुन्छ। यो देशमा विगतमा विकासको गति ओलीकै सरकारले ल्याएको हो। त्यसकारण निकट भविष्यमै जनताले देख्ने र अनुभूति गर्ने गरी यो सरकारले काम गर्छ।’

फरक प्रसंगमा मन्त्री गुप्ताले पर्सामा एमाले पार्टीभित्र रहेका झिनामसिना मतभेदलाई बिर्सिएर एकताबद्ध भई संगठन निर्माणमा लाग्न नेता-कार्यकर्तालाई निर्देशन पनि दिए। उनले भने, ‘म आफैंले पनि जिल्लाका कोही पनि नेता-कार्यकर्तासँग वैरभाव राख्दिनँ। मेरा लागि सबै बराबर हुनुहुन्छ। अहिलेको जिल्ला नेतृत्त्वसँग हामीसबै मिलेर काम गर्नेछौं।

एमाले पर्साका अध्यक्ष डाक्टर विश्वम्भर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवााल, एमाले केन्द्रीय सदस्य अरविन्द सिंह, नेताहरू विचारी यादव, प्रधुमन चौहान, जयप्रकाश थारू, शिव पटेल, जिल्ला उपाध्यक्ष मनोज गुप्ता, जिल्ला सचिव महेश दास लगायतको पनि सहभागीता थियो।

प्रतिक्रिया