January 9, 2025, 3:54 am
» विगतमा ‘आई लभ यू केपी बा’ भन्नेहरुप्रति एमाले महासचिव असन्तुष्ट » धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती » सार्वजनिक लेखा समिति सभापति पोखरेलकी श्रीमती धरौटीमा रिहा » सल्यानमा आमाबाटै दुई छोरीको हत्या » रवि लामिछानेसँगै सहकारी ठगीमा मुछिएका दुई जना धरौटीमा रिहा

‘ताप्लेजुङ, सङ्खुवासभा र पाँचथरमा भूकम्पबाट क्षति भएको छैन’

पुस २३, २०८१ मा प्रकाशित | ४१०दर्शक तीव्रखबर

विराटनगर, । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प जाँदा यसको धक्का विशेष गरेर कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा महसुस गरिएको छ ।

शक्तिशाली भूकम्पले केही क्षण हल्लाए पनि ती जिल्लाको स्थिति सामान्य रहेको तथा हालसम्म क्षतिको विवरण प्राप्त नभएको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बताउनुभएको छ ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालले भूकम्पको धक्का महसुस गरिएको र यसबाट जिल्लामा के–कति क्षति भयो भन्ने एकीन गर्न स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरी विवरण सङ्कलन गर्ने काम सुरु भइसकेको जानकारी दिनुभयो ।

सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले भूकम्पबाट अहिलेसम्म भौतिक तथा  मानवीय  क्षतिको सूचना नआएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरी आवश्यक जानकारी लिने काम भइरहेको छ ।”

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले भूकम्पको ठूलै धक्का महसुस भएको बताउनुभयो । सगरमाथा बेसक्याम्पतर्फ अलि बढी जोखिम रहेकाले सुरक्षाका सबै निकाय परिचालन गरी विवरण लिने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु कोइरालाले भूकम्पबाट मानवीय र भौतिक क्षति के कति भयो यसका लागि सुरक्षा निकायलाई परिचालन गरिसकेको जानकारी दिनुभयो ।

भोजपुर जिल्ला प्रशासन कार्यालयका अधिकृत कृष्ण बस्नेतले भूकम्पको धक्का महसुस भएको बताउनुभयो । उहाँले यसबाट जिल्लामा के–कस्तो क्षति भएको छ विवरणका लागि स्थानीय तह, प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिसकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया