December 23, 2024, 9:10 am
» निजामती विधेयक पारित गर्न मन्त्रालय क्रियाशील छ : मन्त्री गुप्ता » वडा अध्यक्ष भण्डारीले ब्यक्तिगत खर्चमा गरे वृदवृद्धालाई घर-घरमा पुगेर सहयोग » एम्बाप्पेको सानदार गोलमा रियलको जित » रवि हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने भुसाल पक्राउ » रवि लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस

सहकारी बैंकका ६ जना सञ्चालक बर्खास्त : अध्यक्ष जेलमा, सीईओ चेपुवामा

पुस ७, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

काठमाडौं,  । राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिको बैठकले ६ जना सञ्चालकलाई पदबाट हटाएको छ ।

बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै छ जना सञ्चालकलाई सञ्चालकबाट हटाउने निर्णय गरेको हो ।

बिहीबार बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष केबी उप्रेतीसँगै सञ्चालकहरू रामबहादुर जीसी, रामहरि बजगाईं, केदार मानन्धर, शिवा थापा र मनोजकुमार थापा मगरलाई पदबाट हटाएको हो ।

बैंकको नवनियुक्त अध्यक्ष महेन्द्र गिरीका अनुसार नेपाल राष्ट्र बैंकको निर्देशन पालना गरेर उनीहरूलाई पदबाट राजीनामा माग गरेको जानकारी दिए ।

‘राष्ट्र बैंकले ६ जना सञ्चालकलाई छिटो हटाउन निर्देशन दिएको थियो, हामीले राष्ट्र बैंकको निर्देशन पालना गरेका हौं,’ उनले भने, ‘साथीहरूले पनि सहयोग गर्नुभयो ।’

गिरीका अनुसार जीसी र मानन्धरले राजीनामा दिएका थिए । अन्यलाई भने राष्ट्र बैंकको निर्देशनअनुसार नै पदबाट बर्खास्त गर्नु परेको हो ।

उनीहरू आवद्ध संस्थाले बैंकको ऋण भुक्तान नगरेको कारण राष्ट्र बैंकले सञ्चालकबाट हटाउन निर्देशन दिएको थियो ।

बैंक सञ्चालक समिति अध्यक्ष कृष्णबहादुर (केबी) उप्रेती सहकारीको बचत ठगीको आरोपमा हाल पुर्पक्षका लागि थुनामा छन् ।

उप्रेती अध्यक्ष रहेको तत्कालीन हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थासहित पाँच सहकारी मिलेर बनेको आइडियल यमुना हाम्रो बहुउद्देश्यी सहकारी संस्थाले बैंकको करिब ६० करोड रुपैयाँ ऋण तिर्न बाँकी रहेको बुझिएको छ ।

राष्ट्र बैंकले राष्ट्रिय सहकमारी बैंकलाई ७ जनाको मात्रै सञ्चालक समिति बनाउन पनि निर्देशन दिएको बुझिएको छ ।

चार जना सहकारी संस्थाबाट निर्वाचित तथा दुई जना सर्वसाधारणबाट र एक जना विज्ञ गरी कुल ७ जनाको सञ्चालक समिति बनाउन राष्ट्र बैंकले निर्देशन दिएको छ । तर, बैंकले भने ११ जनाको कार्यसमितिका लागि अनुरोध गरेको बुझिएको छ ।

१५ जनाको सञ्चालक समिति रहेको बैंकमा ६ जनालाई सञ्चालक समितिबाट हटाएपछि हाल बैंकको सञ्चालक समितिमा ९ जना रहेका छन् । अब विनियमावली संशोधनपछि के-कस्तो व्यवस्था हुन्छ सोही व्यवस्थाअनसार अगाडि बढ्ने तयारी राष्ट्रिय सहकारी बैंकको छ ।

अध्यक्ष जेलमा, सीईओ चेपुवामा
पाल राष्ट्र बैंकले स्वनियमनमा सञ्चालित सहकारी क्षेत्रमा हस्तक्षेप गरेको भन्दै आलोचना भएको छ । सहकारीको बचत ठगीको आरोपमा हाल पुर्पक्षका लागि हिरासतमा रहेका राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीलाई अध्यक्षबाट हटाउन हस्तक्षेप गरेको भन्दै सहकारीकर्मीले राष्ट्र बैंकको आलोचना गरेका हुन् ।

२०७९ पुसमा दोस्रो कार्यकालका लागि बैंकको अध्यक्ष बनेका उप्रेतीलाई प्रहरीले सहकारीको बचत ठगीको आरोपमा गत असारमा पक्राउ गरेको थियो । हाल उनी पुर्पक्षका लागि हिरासतमै छन् । तर, नेपाल राष्ट्र बैंकले भने साधारणसभाबाट अध्यक्ष बनेका उप्रेतीलाई हटाएर सहकारी क्षेत्रमाथि नै हस्तक्षेप गरेको भन्दै आलोचना गरेका हुन् ।

राष्ट्रिय सहकारी महासंघ नेपालका पूर्वअध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका सल्लाहकार केशब बडालले उप्रेतीको कमजोरी नै भएको भएपनि अध्यक्षबाट हटाउन नहुने धारणा राखे । बुधबार राष्ट्रिय सहकारी बैंकको २१औं साधारणसभामा बोल्दै उनले सहकारीको स्वायत्त र स्वतन्त्रता गुम्न नदिन सबैले समन्वय गर्नुपर्ने धारणा राखे ।

यस्तै, राष्ट्रिय सहकारी बैंकका सल्लाहकार लीलामणि पोखरेलले पनि नेपाल राष्ट्र बैंकले बैंकको अध्यक्ष र सञ्चालकलाई हटाएर सहकारीमाथि नै हस्तक्षेप गरेको धारणा राखे ।

‘सहकारी क्षेत्र अर्थतन्त्रको तीन खम्बामध्ये एक महत्त्वपूर्ण खम्बा हो, हामी सहकारी क्षेत्रमा स्वनियमनको कुरा गर्छौं । तर, सहकारी बैंकका अध्यक्षलाई राष्ट्र बैंकले हटाउने अवस्था किन आयो ?,’ उनले प्रश्न गर्दै भने, ‘बोर्डमा कति जना राख्ने, कसलाई अध्यक्ष बनाउने भनेर राष्ट्र बैंकले निर्देशन दिने हो ?’

उनले अर्थतन्त्रको एउटा खम्बामा सरकारको प्रत्यक्ष हस्तक्षेप देखिएको धारणा राखे । वर्तमान समस्या समाधानका लागि सबैले हातेमालो गर्नुपर्ने उनको भनाइ छ ।

पोखरेलले अध्यक्ष जेलमा रहेको अवस्थामा राष्ट्र बैंकले राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा उच्च व्यवस्थापनलाई चेपुवामा राखेको दाबी पनि गरे । अहिले बैंकको व्यवस्थापकीय नेतृत्व बद्री गुरागाईंले गरिरहेका छन् ।

उनले अझै पनि केही सञ्चालकलाई १५ दिनभित्र हटाउनु भनेर राष्ट्र बैंकले निर्देशन दिएको बताउँदै त्यो यस्ता कमजोरीलाई समाधान गर्दै लैजानुपर्ने धारणा राखे ।

नयाँ अध्यक्ष बने गिरी
नेपाल राष्ट्र बैंकले राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेतीलाई हटाउन निर्देशन दिएसँगै बैंकका सञ्चालक महेन्द्र गिरी नयाँ अध्यक्ष बनेका छन् । सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष बनाउने निर्णय गरेसँगै बैंकको साधारणसभाले त्यसलाई अनुमोदन पनि गरिसकेको छ ।

गिरी झापाको साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिरहेका छन् । अब सहकारी बैंकको बोर्डको नेतृत्व गर्ने जिम्मेवारी पनि उनको काँधमा आइपुगेको देशविकासमा खब र छ  ।

नवनियुक्त अध्यक्ष गिरीले आफ्नोसामु ठूलो चुनौती रहेको बताउँदै आगामी असारसम्म बैंकलाई एउटा उचाइमा पुर्याउन भूमिका खेल्ने धारणा राखे ।

‘हामीले आन्तरिक व्यवस्थापन नगरेर सुख छैन, बैंकलाई बचाउन सदस्यको भूमिका महत्वपूर्ण हुन्छ, अब मेरो नेतृत्वमा पुससभरि सुझाव संकलन गरेर आगामी असारसम्म राम्रो नतिजा आउने गरि काम गर्छु,’ उनले भने ।

प्रतिक्रिया