काठमाडौं : नेपाली कांग्रेसले बीआरआईमा अनुदान लिने तर ऋणका रुपमा स्वीकार नगर्ने अडान यथावत रहेको बताएको छ। सोमबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका बीआरआईअन्तरगतका परियोजना सम्झौता पनि अनुदानमै भएको बताए।
उनले प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा भएका सम्झौतालाई अनुदानमा कार्यान्वयन गरेर चीनले अगाडि बढाउने विश्वास व्यक्त गरे।
‘बीआरआई सन्दर्भमा पार्टीको कार्यसम्पादन समितिले समझदारी हुनुअघि नै अनुदान स्वीकार गर्ने र अहिले ऋण स्वीकार नगर्ने निर्णय गरेको थियो। चीनबाट आएको प्रारम्भिक प्रस्तावमा सरकारले छलफल गर्यो। पार्टीले पनि आफ्नो भनाइ राख्यो। त्यो भनाइअनुरुप नै सरकारले चिनियाँ सरकारसँग प्रस्तुत गर्यो। फ्रेमर्वक समझदारीमा राष्ट्रिय आवश्यकता र हित अनुकूलताका विषयवस्तुलाई समावेश गरेर त्यो अगाडि बढ्यो,’उनले भने,’ तर त्यो ग्राण्ड फाइनान्सिङ नभएर एड फाइनान्सिङ भएर आयो भन्ने चर्चा छ। तर, त्यो एड फाइनान्सिङमा ग्राण्ड परिहाल्ने नै भयो।’
उनले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बीआरआई फ्रेमवर्कमा भएको हस्ताक्षरअनुसार नै अनुदानलाई कार्यान्वयन गरेर सूचीमा रहेका परियोजनालाई चीनले अगाडि बढाउने विश्वास छ।
उनल चीन सरकार मात्रै नभइ दुई पक्षीय सरकारबाट प्राप्त हुने ऋणका सर्तहरू अनेकखालका हुने भन्दै यसमा सोचबिचार गर्नुपर्ने बताए। उनले भने,’दुई पक्षीय सरकारबाट प्राप्त हुने ऋणका सर्तहरू अनेक हुन्छन्। त्यस्ता सर्तहरू ऋण लिँदा देशलाई फाइदा नहुने र परियोजना कार्यान्वयन भएपनि त्यसबाट आउने प्रतिफलले समेत ऋण तिर्न नसक्ने अवस्था आउन सक्छ। त्यसको उदाहरण पोखरा एयरपोर्ट बनेको छ। यसको प्रतिफल नआउने भइसक्यो। यो खराब ऋणमा परिसक्यो।’
प्रतिक्रिया