December 5, 2024, 1:39 am
» नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध : स्वास्थ्यमन्त्री पौडेल » चीनसँग ऐतिहासिक महत्त्व राख्ने सम्झौता भएका छन् : प्रधानमन्त्री » डेंगु सङ्क्रमण घट्दै » चितवनमा रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठजना घाइते » नेप्सेमा २५ अंकको गिरावट, १३२ कम्पनीको शेयर मूल्य घट्यो

तेह्र वर्षमा पनि पूरा भएन खानेपानी आयोजना

मंसिर १९, २०८१ मा प्रकाशित | २९०दर्शक तीव्रखबर

म्याग्दी – जिल्लाको अन्नपूर्ण गाउँपालिकाको मुहानबाट पर्वतको जलजला गाउँपालिकाका तीन वडामा खानेपानी वितरण गर्ने उद्देश्यले १३ वर्षअघि निर्माण सुरु भएको खानेपानी आयोजनाले अझै पूर्णता पाएको छैन् ।

जलजला म्याग्दीको सदरमुकाम बेनीबजारसँगै जोडिएको पर्वतको स्थानीय तह हो । जलजला-१ मलगाउँ, वडा नं २ को आरुबोट, वडा नं ५ को डाँडाकटेरी, बनमडे, लोप्रे, फलामेडाँडा, गैरीगाउँ, टिमुरबोट, अन्नेचौरका पाँच सय परिवारमा खानेपानी विस्तार गर्ने उद्देश्यले विसं २०६८ मा जलजला कुकुरचिहान खानेपानी आयोजना निर्माण सुरु भएको थियो ।

जलजला-५ का वडाध्यक्ष तिलकबहादुर जिसीले पर्याप्त बजेट व्यवस्थापन नहुँदा खानेपानी आयोजना निर्माण १३ वर्ष भइसक्दा पनि पूरा हुन नसकेको बताए ।

‘तीन करोड भन्दा बढी लागत अनुमान गरिएको योजनाका लागि वर्षमा दुईदेखि पाँच लाखका दरले बजेट आउँदा निर्माणले गति लिन नसकेको हो’, उनले भने, ‘हालसम्म प्राप्त भएको ५० लाख खर्चेर वनमडे र लोप्रेका ६५ घरमा मात्र खानेपानी वितरण भएको छ ।’

सङ्घीयता कार्यान्वयन सुरु नहुँदै थालिएको योजना नयाँ संविधान जारी भएपछि प्रदेश सरकारमा हस्तान्तरण भएको थियो । योजनाले निरन्तरता पाए पनि बजेट भने पर्याप्त नआएको कुकुरचिहान खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव समबहादुर तिलिजाले बताए।

‘स्वच्छ खानेपानीको आशमा यहाँको स्थानीयले १३ वर्ष बिताएका छन्’, उनले भने, ‘निर्माण गरेका इन्टेक, रिजर्भ ट्याङ्की र धारा पनि पानी नआउँदै जीर्ण भएका छन् ।’

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ मा पर्ने मोहरेडाँडाको फेदीमा रहेको कुकुरचिहान र लोप्रेको जङ्गलको मुहानको पानी संकलन गरेर घरघरमा धारा बनाई वितरण गर्ने आयोजनाको लक्ष्य हो ।

स्थानीयले पुरानो आयोजनाको सार्वजनिक धारा, व्यक्तिगत लगानीमा स्थानीय मुहानमा पाइपलाइन जोडेर कुवा र खोल्साको पानी उपभोग गर्दै आएका छन् । खानेपानीको असुविधा हुँदा दैनिकी प्रभावित भएको स्थानीय पूर्खपुर्जा पुनले बताए । आयोजनाले समेटेको फलामेडाँडा पर्यटकीयस्थल पनि हो ।

चालु आर्थिक वर्षमा तीन वटा शीर्षकमा सो आयोजनाका लागि दुई करोड १० लाख बजेट विनियोजन भएको छ । प्रदेश सरकारले जलजला कुकुरचिहान क्रमागत आयोजनालाई १० लाख विनियोजन गरेको छ ।

सङ्घीय खानेपानी मन्त्रालयले जलजला बृहत् खानेपानी आयोजना एक, पाँच र सात तथा बाँसखर्क कुकुरच्यान जलजला एकदेखि पाँचको शीर्षकमा एक-एक करोड विनियोजन गरेको छ ।

गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले सङ्घीय र प्रदेश सरकारबाट प्राप्त बजेटलाई समन्वय गरेर दोहोरो नपर्ने गरी कार्यान्वयन हुने वातावरण बनाउने प्रतिबद्धता जनाए। आयोजना कार्यालयकाका प्रमुख पदमबहादुर कुँवरले फरक-फरक आयोजना अनुसार काम र क्षेत्र बाँडफाँड गरेर निर्माण गरिने उल्लेख गरे।

प्रतिक्रिया