December 4, 2024, 6:59 pm
» नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध : स्वास्थ्यमन्त्री पौडेल » चीनसँग ऐतिहासिक महत्त्व राख्ने सम्झौता भएका छन् : प्रधानमन्त्री » डेंगु सङ्क्रमण घट्दै » चितवनमा रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठजना घाइते » नेप्सेमा २५ अंकको गिरावट, १३२ कम्पनीको शेयर मूल्य घट्यो

रामजानकी विवाहपञ्चमी : अयोध्याबाट जनकपुरधाम आइपुगे जन्ती

मंसिर १८, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

महेन्द्रनगर (धनुषा),  : रामजानकी विवाहपञ्चमीको अवसरमा भगवान् श्रीरामको जन्मभूमि अयोध्याबाट मङ्सिर १२ गते प्रस्थान गरेको जन्ती आज जनकपुरधाम आइपुगेको छ ।

करिब पाँच सय साधुसन्तको समूह रहेको सो जन्ती टोली सोमबार राति महोत्तरीको मटिहानीमा विश्राम गरेर आज जनकपुरधाम प्रवेश गरेको हो । जनकपुरधाम आइपुगेका जन्तीलाई उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले औपचारिक रूपमा स्वागत गर्नुभयो । यस क्रममा सडकका दुवै किनारामा उभिएका स्थानीय बासिन्दाले ‘जय सियाराम’ को नारा लगाउँदै पुष्पवृष्टिका साथ जन्तीलाई सम्मान गरेका थिए ।

यसअघि महोत्तरीको मटिहानीमा नगरप्रमुख हरिप्रसाद मण्डलसहित नगरवासीले बाजागाजाका साथ भव्य स्वागत गर्नुभएको थियो । जन्तीको आगमनलाई भव्य बनाउन जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले नगरवासीलाई सहभागी हुन आग्रह  गर्नुभयो ।

उहाँले भन्नुभयो, “प्रत्येक पाँच वर्षमा अयोध्याबाट भगवान् श्रीरामको जन्ती जनकपुर आउँछ । यो हाम्रा लागि विशेष शौभाग्य हो । जन्तीको स्वागत गर्न पाउँदा हामी गौरवान्वित छौँ ।” महन्त दासले जन्तीका लागि चार दिनसम्म जनकपुरधाममा बसोबास र भोजनको सम्पूर्ण व्यवस्था मिलाइएको बताउनुभयो ।

जन्ती अहिले जनकपुरधामको बाह्रबिघा मैदानमा रहेको छ । केहीबेरमा जन्तीलाई जानकी मन्दिरमा स्वागत गर्न लगिने कार्यक्रम छ । विसं २०६१ देखि सुरु भएको अयोध्याबाट जन्ती आउने परम्परा यस पटक चौथोपटक हो । प्रत्येक पाँच वर्षमा जन्ती जनकपुर आउने गरेको छ ।

सप्ताहव्यापी रूपमा मनाइने रामजानकी विवाहपञ्चमी महामहोत्सवको रौनकले जनकपुरधाम उत्सवमय बनेको छ । यही मङ्सिर १६ गतेदेखि सुरु भएको विवाहपञ्चमीमा पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला र तेस्रो दिन आज धनुषयज्ञ महोत्सव मनाइँदै छ ।

धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार, भगवान् श्रीरामले कसैले हल्लाउन नसकेको शिव धनुष तीन टुक्रा पारेपछि माता सीतासँग विवाह निश्चित भएको थियो । मटिहानीमा लक्ष्मीनारायण मठका मानमहन्थ जगरनाथ दास वैष्णव, मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डललगायतले मटिहानीमा जन्तीको स्वागत गर्नुभएको थियो ।

भारतको अयोध्यास्थित कारसेवकपुरमबाट प्रस्थान गरेका जन्ती बिहारको बक्सर, पाटलीपुत्र, हाजीपुर, काँटी, शिवहर, रुन्नी, सैदपुर, पनौराधाम, जानकी मन्दिर, पुपरी, अहिल्या हुँदै आइतबार भारतको विहारस्थित बेनीपट्टी आइपुगेको थियो । सोमबार साँझ बेनीपट्टीबाट मधवापुर हुँदै महोत्तरीको मटिहानी आएका जन्ती आज जनकपुरधाम पुगेका छन् ।

प्रतिक्रिया