November 16, 2024, 10:39 am
» इजरायली निकासी आदेशपछि दक्षिण बेरुतमा पुनः आक्रमण » गठबन्धनमा कुनै खटपट छैन् ,उपनिर्वाचनमा एक्लाएक्लै लड्दा कुनै असर पर्दैन: राजन भट्टराई » करका लक्ष्य पूरा इमान्दारी पूर्वक काम गर्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन » भारतीय अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु १६ को अवस्था गम्भीर » उपनिर्वाचन : वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय

गण्डकी प्रदेशसभा सदस्य गौचनप्रति श्रद्धाञ्जली अर्पण

मंसिर १, २०८१ मा प्रकाशित | २५०दर्शक तीव्रखबर

कास्की– गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर आज श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र प्रदेशसभाका उपसभामुख वीनाकुमारी थापाले पोखराको नदीपुरस्थित प्रदेशसभा प्राङ्गणमा गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् । श्रद्धाञ्जलीका लागि गौचनको पार्थिव शरीर प्रदेशसभाको प्राङ्गणमा राखिएको छ ।

त्यसैगरी नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीको झण्डा ओढाएका थिए । थकाली सेवा समितिले आफ्नो परम्पराअनुसार श्रद्धाञ्जली व्यक्त गरेको थियो ।

गौचनप्रति श्रद्धाञ्जलीका लागि गण्डकी प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य, राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, थकाली समुदायका अगुवा, आफन्तजन र शुभेच्छुकहरुको उपस्थिति थियो ।

मुस्ताङको कोबाङमा विसं २०१८ असार १८ गते जन्मिएकी गौचनको परिवार हाल म्याग्दीमा बसोबास गर्दै आएको छ । गौचनको गत कात्तिक २८ गते राति काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो ।

उनी नेपाली कांग्रेसका तर्फबाट विसं २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित भएकी थिइन् । उनी प्रदेशसभा अर्थ तथा विकास समितिको सदस्य थिइन् ।

गौचन राजनीतिसँगै विभिन्न सामाजिक तथा व्यावसायिक क्षेत्रमा समेत सक्रिय थिइन् । गौचनको म्याग्दीमा लगेर दाहसंस्कार गरिने परिवारजनले जनाएको छ । गौचनका एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया