धनकुटा : चौबीसे गाउँपालिका–३ कुरुलेतेनुपाको शिरमा पर्छ बन्दुकेडाँडा। भौगोलिक बनावटको हिसावले बन्दुकेडाँडा उचाइमा भएकाले यहाँ सिँचाइका लागि मात्र होइन पिउनका लागि पनि खानेपानीको धेरै समस्या छ। बन्दुकेडाँडा सुक्खा ग्रस्त क्षेत्र हो।
६२ वर्षका स्थानीय लोकेन्द्रकुमार याखाका अनुसार यो क्षेत्रमा खानेपानीको समस्या यति थियो कि स्थानीयलाई खानेपानी ल्याउन एक बिहान समय लाग्थ्यो।
बन्दुकेडाँडासहित कुरुले तेनुपामा कुनै बेला बाक्लो बस्ती थियो। २०४५ सालको भूकम्पपछि यस क्षेत्रका अधिकांश खानेपानीका मुहान सुक्न थाले। खानेपानी समस्याकै कारण यहाँका स्थानीय बसाइँ सर्न थाले। बस्ती रित्तिँदै गयो। बसाइँसराइले सिंगो गाउँ नै उजाड बनाएको थियो।
बसाइँसराइले बस्ती रित्तिएर उजाड बनाएको बन्दुकेडाँडामा अहिले लटरसम्म स्याउ फल्न थालेको छ। बन्दुकेडाँडाको करिब १ सय १५ रोपनी क्षेत्रफलमा रहेको रहरलाग्दा स्याउको बोटमा यतिबेला लटरसम्म स्याउ फलेका छन्।
लटरम्म फलेको स्याउ हेर्न स्थानीय मात्र होइन टाढाबाट मान्छेहरू आउने गर्छन्। उजाड ठाउँलाई उब्जाउ बनाउने उद्देश्यले स्थानीय बासिन्दाको संलग्नतामा तमोर पर्माकल्चर सिकाइ थलो स्थापना गरी वर्षाको पानी संकलन गर्दै स्याउ खेती सुरु गरियो। पाँच वर्षअघि रोपिएको स्याउको बोटमा गत वर्षदेखि फल लाग्न थालेको छ। करिब १ सय १५ रोपनी क्षेत्रफलमा ३५ प्रजातिका फलफूल खेती गरिएको व्यवस्थापक भोजकुमार काफ्लेले बताए। विभिन्न फलफूलका १२ सय बोटबिरुवामध्ये ३ सय ५० भन्दा बढी डोसेट, आन्ना प्रजातिका स्याउका बोट छन्। यी प्रजाति पहाडी क्षेत्रका हावापानीसँग मिल्दो स्याउका प्रजाति हुन्।
सिँचाइका लागि आकाशे पानीको भर
फलफूल खेतीका लागि ३४ लाख लिटर क्षमताको ४ वटा प्लास्टिक पोखरी निर्माण गरिएको छ। सिँचाइको लागि त परै जाओस् पिउने पानी पनि यो क्षेत्रमा समस्या नै छ। त्यही भएर वर्षाको बेला घरको छानाको बलेसी, बाटोको भेलको पानी संकलन गरिएको व्यवस्थापक
काफ्लेले बताए।
उनका अनुसार ४ वटा पोखरीमध्ये २ वटा पोखरी ५/५ लाख क्षमताको छ। एउटा १० लाख र अर्को १४ लाख लिटर क्षमताको छ। वर्षाको पानी संकलन गरेर हिउँदको सुक्खा समयमा सिँचाइ गरिन्छ। गत वैशाख १ गतेदेखि यो क्षेत्रमा लिफ्टिङ खानेपानी योजना सञ्चालनमा आएको छ। तर, पर्याप्त छैन। यहाँका स्थानीयलाई पिउन र सिँचाइका लागि आकाशे पानीको भर पर्नुपर्ने स्थिति छ।
रोकियो बसाइँसराइ
अहिले पनि रित्तिएको गाउँ भरिएको छैन। बसाइँ गएका फर्किएका छैनन्। तर, बसाइँ जान रोकिएको शिक्षकसमेत रहेका स्थानीय चिरञ्जीवी अधिकारीले बताए। पहिले यहाँका स्थानीयलाई विश्वास लागेको थिएन। तर, अहिले स्याउ फलेको देख्दा स्थानीयलाई विश्वास लागेको छ। लटरसम्म स्याउ फलेको देख्दा यहाँका स्थानीय बसाइँ सर्नबाट रोकिएका छन्। स्याउ खेती स्थानीयले पनि अनुशरण गर्न थालेका छन्। स्याउ रोपेर स्थानीयले पनि फलाएको उनले बताए।
स्थानीयले गरे अनुशरण
बन्दुकेडाँडामा स्याउ फलेपछि यस क्षेत्रका स्थानीयले पनि स्याउ खेती सुरु गरेका छन्। बन्दुकेडाँडाकी स्थानीय भगिश्वरी याखाले १ सय स्याउका बोट रोपेकी छिन्। त्यस्तै सोही ठाउँका मिलन याखाले पनि ६० बोट स्याउ रोपेका छन्।
बन्दुकेडाँडासहित कुरुले, तेनुपा, सोगुम क्षेत्रका करिब ३ सय ५० भन्दा बढी घरधुरीले न्यूनतम ५ देखि २० वटासम्म स्याउका बोट रोपेका छन्। सिँचाइका लागि वर्षाको पानी संकलन गर्न प्लास्टिक पोखरी बनाएका छन्। गत आर्थिक वर्षमा वडाले स्थानीयलाई स्याउका बिरुवा वितरण गरेको थियो।
प्रयास गर्दा हुँदो रै’छ
लटरम्म फलेको स्याउ हेर्न बन्दुकेडाँडा पुगेका धनकुटा सदरमुकामका रत्न जिमीले इच्छा शक्ति भएपछि जस्तोसुकै ठाउँमा खेति गरे पनि सफल हुने रैछ भन्ने प्रमाणित भएको बताए।
उनले भने, ‘विकल्प अनेक हुन्छन्। सिँचाइका लागि खोलाकै पानी, मुहानकै पानी नचाहिँदो रै’छ। वर्षाको पानी संकलन गरेर खेती गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ।’
प्रतिक्रिया