January 11, 2025, 1:51 am
» भीमदत्तका नगरप्रमुख र प्रशासकीय अधिकृतको भ्रष्टाचार मुद्दा सर्वोच्चमा » उद्योगहरूको व्यवस्थापनलाई आधुनिकीकरण : गर्नुपर्छ मन्त्री सिंह » रवि लामिछानेलाई धरौटीमा रिहा आदेश गर्ने न्यायाधीशविरुद्ध युवराज सफलको उजुरी » सरकारको यो गठबन्धन अब धेरै दिन चल्दैनः प्रचण्ड » प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयको ‘ब्रिफिङ’

सरकारी छात्रवृत्तिमा विद्यावारिधि गर्न विदेश गएका त्रिविका ५३ शिक्षक उतै पलायन

मंसिर १४, २०८१ मा प्रकाशित | १८००दर्शक तीव्रखबर

काठमाडौं, । शिक्षकहरु विद्यार्थीलाई नैतिकता, अनुशासनको पाठ सिकाउँछन् । तर, शिक्षकहरुले नै नैतिकता भुले भने ? त्रिभुवन विश्वविद्यालयमा यही भइरहेको छ ।

त्रिविका स्थायी शिक्षकहरु वृत्ति विकासका लागि छात्रवृत्तिमा विद्यावारिधि अध्ययन गर्न विदेश जान्छन्, फर्किएर सेवा दिने कबुल पनि गरेका हुन्छन् ।

तर, नैतिकता र अनुशासन भुल्दै उनीहरु विदेशमै पलायन हुन्छन् । अर्थात् फर्किँदैनन् । कति छन् त यस्ता शिक्षक त्रिविमा ?

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस, विभाग, अनुसन्धान केन्द्र र आंगिक क्याम्पसमा अध्यापनरत शिक्षकहरु वृत्ति विकासका लागि छात्रवृत्तिमा एमफिल तथा विद्यावारिधि अध्ययनका लागि विदेशिने तर उतै पलायन हुने क्रम रोकिएको छैन ।

त्रिविका अनुसार २०७१ देखि २०८१ सम्मको दश वर्षमा ९ सय ४६ शिक्षकहरु छात्रवृत्तिमा अध्ययनका लागि अमेरिका तथा युरोपेली मुलुकहरुमा गएका छन् ।

अझ चिकित्सा शास्त्र तथा इन्जिनियरिङ अध्ययन संस्थान र १० वटा आंगिक क्याम्पसको त त्रिविसँग विवरण नै छैन ।

तीमध्ये ५३ शिक्षकहरु अध्ययन पुरा गरे पनि स्वदेश फर्किएका छैनन् । विदेशमा अध्ययन पूरा गरी स्वदेश फर्किएर सेवा दिने सर्तसहित कबुलियतनामा गरे पनि शिक्षकहरु उतै पलायन हुनुले नैतिकतामाथि नै गम्भीर प्रश्न उब्जिएको प्राध्यापकहरु बताउँछन् ।

शिक्षकहरुले जतिवर्ष अध्ययन बिदा लिएको हो, त्यति नै समय विश्वविद्यालयमा सेवा गर्नुपर्ने व्यवस्था त्रिविमा छ ।

तर पनि शिक्षकहरुले आफूले गरेका कबुल भुलेर सेवाको सट्टा राजीनामा पत्र पठाउने गरेको पाइन्छ । त्यसो त विश्वविद्यालयले यस्ता शिक्षकलाई कारबाही नगरेको पनि होइन ।

अध्ययन बिदा सकेपछि नफर्किने शिक्षकलाई खाइपाई आएको तलबभत्ता १० प्रतिशत ब्याजसहित फिर्ता गर्ने कानुनी प्रावधान छ ।

यस्तो अनुशासनहीन काम गर्नेहरुलाई तलब असुल उपरदेखि बर्खास्तसम्मका कारबाही गरिएको विश्वविद्यालयले जनाएको छ ।

उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीलाई पढाउने गुरुहरुले नै नियम कानुन र नैतिकता पालना नगर्नु दुःखद् भएको विज्ञहरुको भनाइ छ ।

विश्वविद्यालय र राज्यले वृत्ति विकासमा सहयोग गर्ने तर विदेशमै पलायन हुनु विश्वविद्यालयमात्र नभई राष्ट्रमाथि कै घात भएको उनीहरु बताउँछन् ।

शिक्षकहरु छात्रवृत्तिमा अध्ययनका लागि विदेश जाने, तर नफर्कने प्रवृत्ति रोक्न विश्वविद्यालय र सरकारले कडाइ गर्नुपर्छ । कान्तिपुर टिभीबाट ।

प्रतिक्रिया