November 23, 2024, 9:45 pm
» अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु » इराकमा भएको हवाई आक्रमणमा पाँच जना आइएस लडाकुको मृत्यु » काठमाडौँमा आज तीन शव भेटिए » गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दिगो रुपमा हुन्छ : मन्त्री पाण्डे » चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…

आज कात्तिक शुक्ल प्रतिपदा : गोरु, गोवर्द्धन र हली पूजा

कार्तिक १७, २०८१ मा प्रकाशित | ६४०दर्शक तीव्रखबर

काठमाडौँ : कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ । पछिल्लो समय गाईको अभावमा पैसा राखेर सङ्कल्प पढिन्छ । गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रूपमा राखिएको छ ।
आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।
यसैगरी, आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । वर्षभर जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ ।

गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषिकर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ ।

आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदा/सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस्तै, आज नेवार समुदायमा  म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म  (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्। आत्मसन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने  र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ ।

यही शास्त्रीय मान्यता र विश्वासका आधारमा आत्म (म्हः) पूजा गर्ने परम्परा बसेको हो । यो पर्व नेवारी समुदायको बाहुल्यता रहेको काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत स्थानमा मनाउने गरिएको छ ।

प्रतिक्रिया