जताततै भेटिए प्राकृतिक तातोपानीका मुहान

- March 18, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बेनी । म्याग्दीको बेनी नगरपालिकासहित विभिन्न गाविसका १४ ठाउँमा मुलबाट नै ५० डिग्री सेल्सीयस भन्दा बढी तापक्रम भएका पानी निस्कने प्राकृतिक तातोपानीका मुहान फेला परेका छन् ।

प्राकृतिक उपचारस्थलको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका १३ सिङ्गा तातोपानीको म्याग्दी नदी किनारामा मात्रै पाँचवटा तातोपानीका मुहान भेटिएका सिङ्गा तातोपानी कुन्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिनुभयो ।

नेपालमा नै प्रसिद्धि कमाउन सफल तातोपानी कुन्डमा वार्षिक २० हजारको हाराहारीमा बिरामी डुबेर उपचार गर्न आउने गरेका छन् । तातोपानीमा रहेका अन्य मुहानलाई पनि व्यवस्थित गर्नुपर्ने शाक्यले बताउनुभयो ।

यहाँ बाथ, ग्याष्ट्रिक, गानोगोला, चर्मरोगदेखि लिएर प्यारालाइसिस जस्तो कठिन रोग लागेका व्यक्ति डुबेर उपचार गर्नका लागि आउने गरेका छन् ।

त्यसैगरी मुदीको बगर, दरवाङको भाले वास्ने ताल, भुरुङतातोपानी, हिस्तान, दानाको कालीगण्डकी किनारमा गरी अन्य नौवटा तातोपानीका मुहान फेला परेका स्थानीयवासीले बताएका छन् ।

म्याग्दी र कालीगण्डकी नदीको बगरमा रहेका यी तातोपानीका मुहानमा मुलबाट नै गन्धक र बिरेनुनको गन्धसहितको ५० देखि ५८ डिग्री सेल्सीयससम्मको तातोपानी निस्कने गर्दछ । सिङ्गातातोपानी ,भुरुङतातोपानी, दाना र मुदीको तातोपानीको मुहानलाई व्यवस्थित रुपमा पोखरी निर्माण गरी सङ्कलन गर्ने गरिएको छ भने अन्य ठाउँमा रहेका तातोापानीका मुहानलाई व्यवस्थित गर्न सकिएको छैन ।

म्याग्दीमा रहेका यस्ता प्राकृतिक तातोपानीका मुहानलाई व्यवस्थित गरी प्रचारप्रसार गर्नसक्ने हो भने बिरामीले स्वास्थ्य लाभ लिनुका साथै उपचार पर्यटनमार्फत स्थानीयवासीले आयआर्जन गर्नसक्ने बलियो सम्भावना रहेको नेकपा एमालेका राजकुमार थापाले बताउनुभयो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!