मापदण्ड बिपरितका डेरी, फोहोरको डंगुरले संक्रमणको खतरा

- August 25, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पर्वत । सदरमुकाम कुस्माबजारमा सञ्चालित अधिकांश डेरीमा फोहरको डङ्गुर भएको पाइएको छ ।

जिल्ला पशुसेवा कार्यालयले बुधबार अनुगमनका क्रममा अधिकांश डेरी पसलमा सरसफाइ अभाव देखिएको हो । अधिकांश डेरी उद्योग मापदण्ड पूरा नगरी सञ्चालन गरेको पाइएको जिल्ला पशुसेवा कार्यालयको पशु चिकित्सक रामजीप्रसाद पौडेलले जानकारी दिए ।

दुग्ध प्रशोधन गर्ने, उमाल्ने तथा चिस्यान गर्ने तथा बिक्री गर्ने ठाउँ मापदण्डअनुसार नभएको पाइएको हो । दूधका परिकार बनाउने तथा दूध प्याकिङ गर्ने ठाउँ मापदण्ड पूरा नगरेको पाइएको छ । कतिपय पसलमा तरकारी, अन्य खाद्य पदार्थ दूध राख्ने ठाउँ नजिक राखिएको पाइएकाले ब्याक्टेरियाको सङ्क्रमण भई दूध छिटो बिग्रन सक्ने पशु प्राविधिकले बताएका छन् ।

दूधलाई प्याकिङ गर्ने क्रममा दूधमा भएको गुणस्तर, ल्याक्टोज र ठोस पदार्थको मात्रा तथा उपभोग गर्न मिल्ने मितिसमेत लेख्नुपर्नेमा त्यस्तो नगरेको पाइएको छ । “मापदण्ड पूरा गरेको नपाइएकाले सुधार गर्न सुझाव दिएका छौँ,” पौडेलले भने ।

सहकारी र डेरी उद्योगले खुल्ला रुपमा बजारमा दूध बिक्री गर्दा ब्याक्टेरियाको सङ्क्रमणको खतरा भएकाले यसलाई सुधार गरेर मापदण्डअनुसार प्याकिङ गरी बिक्री गर्न सुझाव दिएको पशु विकास अधिकृत डा सुधीर थापाले बताए । “अब अनुगमनका क्रममा दूधमा हानीकारक कोलिफर्मलगायतका जीवाणु भए÷नभएको तथा पानीलगायतका आवश्यक मात्राको अवस्थाका बारेमा गुणस्तर जाँच गरिने छ,” थापाले भने । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

 

तीव्र अपडेट