September 19, 2024, 10:04 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

न्याउरी मुसो मार्न थापेको पासोमा परेको छावाको करेन्ट लागेर मृत्यु, एकजना पक्राउ

साउन ३०, २०८१ मा प्रकाशित | ६५०दर्शक तीव्रखबर

विराटनगर  : मोरङको बेलबारी नगरपालिका-३ करमडाँडामा छावा (हात्तीको बच्चा) को करेन्ट लागेर मृत्यु भएको छ। विनोद थापाको टिक बगानभित्र अन्दाजी २/३ वर्षको जस्तो देखिने पोथी छावा मंगलबार बिहान मृत फेला परेको थियो ।

प्रारम्भिक अनुसन्धानबाट विद्युत प्रवाह गरी न्याउरी मुसोलाई थापेको पासोमा परेर जंगली हात्तीको छावा मरेको पत्ता लागेको सब डिभिजन वन कार्यालय बेलबारीका प्रमुख एवं वन अधिकृत दिपेशकुमार मिश्रले बताए । उनका अनुसार पासोमा प्रवाह भइरहेको करेन्ट लागेर छावाको मृत्यु भएको हो।

विद्युत प्रवाह गरेर पासो थाप्ने एकजना पक्राउ परेका छन् । बेलबारी–३ का ४६ वर्षीय तेजबहादुर राईलाई प्रहरी र वन कर्मचारीको टोलीले मंगलबार नै पक्राउ गरेको हो । राईविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत मुद्दा चलाउन अदालतबाट बुधबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइने मिश्रले बताए । उनका अनुसार यो मुद्दामा कसुर ठहर हुँदा ५ देखि १५ वर्षसम्म कैद वा ५ लाखदेखि १० लाखसम्म जरिबाना अर्थात दुवै सजाय हुने व्यवस्था छ ।

छावा मृत फेला परेको घटनास्थल राईको घरदेखि लगभग २० मिटरको दुरीमा मात्रै रहेको जानकारी मिश्रले दिए । राईले घरमा पालेका कुखुरा खाएर न्याउरी मुसोले दुःख दिइरहेको थियो । उनले न्याउरी मार्नका लागि पासो थापेको पत्ता लागेको वन कार्यालयले जनाएको छ ।

‘घरमा पालेका कुखुरा खाएर दुःख दिन थालेपछि न्याउरी मुसोलाई लक्षित गरेर पासो थापेका रहेछन्,’वन कार्यालय स्रोतले भन्यो,‘त्यही पासोमा प्रवाह भइरहेको करेन्ट लागेर छावा मरेको पाइयो ।’ वन कार्यालयका अनुसार हात्तीले समेत राईले लगाएको बालीनाली खाइदिएर दुःख दिइरहेको रहेछ । झुत्ता बनाएर थाङ्ग्रोमा राखेको मकै, बारीको सिमल तरुल र कोदोको बिउ खाएर तथा नष्ट गरेर हात्तीले दुःख दिइरहेको कार्यालयले जनाएको छ ।

घटनास्थल वरपर सोमबार राति १०/१२ वटाको संख्यामा हात्ती देखा परेको स्थानीयले बताएका छन् । प्रहरीका अनुसार बेलबारी क्षेत्रमा पछिल्लो १ सातायता हात्तीको ‘मुभमेन्ट’ बढेको थियो । हात्तीको हुलले बालीनाली खाएर र नष्ट गरेर सामान्य क्षति पनि गरिरहेको छ । स्थानीयले लगाएका बालीनाली खाइदिने र नष्ट गर्ने गरेको इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहालले बताए ।

‘बेलबारी क्षेत्रमा १ सातायता नियमित जंगली हात्ती देखा परिरहेका छन्,’दाहालले भने,‘घटनास्थलनजिक पनि हात्तीको बथान देखा परेको जानकारी स्थानीयले गराएका छन् ।’त्यही हुलमा रहेको छावाको करेन्ट लागेर मृत्यु भएको वन अधिकृत मिश्रले बताए । घटनाको अनुसन्धानका लागि मिश्रलाई नै अनुसन्धान अधिकृत तोकिएको छ ।

उनका अनुसार कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको विज्ञको टिमले पोस्टमार्टम गरेर परीक्षणका लागि नमुनासमेत लिएर गएको छ । तत्काललाई करेन्ट लागेर छावाको मृत्यु भएको देखिए पनि त्यसलाई यकिन गर्न पोस्टमार्टम रिपोर्ट पर्खनै पर्ने उनको भनाइ छ । ‘पोस्टमार्टमपछि मृत फेला परेकै ठाउँमा छावाको अन्त्येष्टि गरिएको छ,’मिश्रले भने,‘हात्ती मृत भेटिनु गम्भीर विषय भएकाले अनुसन्धान विभिन्न कोणबाट भइरहेको छ ।’

पछिल्लो समय कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा जंगली हात्तीको ‘मुभमेन्ट’ बाक्लो बन्दै गएको छ । भारतबाट निक्कै समयअघि प्रवेश गरेका हात्तीले नेपाल छाड्न मानिरहेका छैनन् । वन अधिकृत मिश्र पूर्वी नेपालमा मनपर्ने आहारा पाइने भएकाले हात्ती भारततिर फर्किन नचाहेको हुनसक्ने बताउँछन् । खासगरी हात्तीले धान, मकै, केरा, उखुजस्ता बाली मन पराउँछन् ।

पछिल्लो समय जंगलमा खानेकुरा सकिदै गएकाले हात्तीले बस्तीमा छिरेर उपद्रो पनि मच्चाउने गरेको जानकारहरू बताउँछन् । हात्ती मार्ने र मर्ने क्रम पनि बढेको छ । करेन्टको पासोमा पर्नेदेखि गोली हानेर मार्नेलगायतका अपराधिक गतिविधि पनि भइरहेका छन् ।

मोरङमा पछिल्लो ७ महिनाको अवधिमा ३ वटा जंगली हात्ती मृत फेला परिसकेका छन् । सुन्दरहरैँचा नगरपालिका–६ मा भाले जातको छावा गत जेठ ३० गते बिहान मृत फेला परेको थियो । त्यस्तै, सुन्दरहरैंचा-१० स्थित जनजागरण सामुदायिक वनमा गोली हानेर मारेको अवस्थामा करिव १२ वर्षको जंगली हात्ती २०८० पुस १६ गते मृत भेटिएको थियो ।  किशोर बुढाथोकी -अन्नपूर्णबाट

 

प्रतिक्रिया