September 16, 2024, 7:32 pm
» परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान » नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो » स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता » रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर » जुम्लामा उत्पादीत स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

‘डेङ्गीलाई सामान्य रुपले नसोचौँ’

साउन ३०, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

गण्डकी, :  यही साउन १० गते तनहुँको व्यास नगरपालिकाका–७ का ४८ वर्षीय पुरुषको डेङ्गी सङ्क्रमणबाट निधन भयो ।

यसको दुईसातापछि गत शनिबार हल्दीबारी गाउँपालिका–३ झापाकी ४२ वर्षीया शिक्षिकाले डेङ्गीकै कारण ज्यान गुमाउनुप¥यो । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार गत वर्ष नेपालमा डेङ्गी सङ्क्रमणबाट २० जनाको मृत्यु भएको थियो ।

यस वर्षपनि गत असारयता डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । ७३ जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिएको महाशाखाले जनाएको छ । गण्डकी प्रदेशका जिल्ला पनि यसबाट अछुतो छैनन् ।

तनहुँ, कास्कीलगायत जिल्ला डेङ्गी सङ्क्रमणबाट बढी प्रभावित छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार गत आइतबारसम्म गण्डकीका दस जिल्लामा गरि १३ सय जनाभन्दा बढीमा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ ।

मुस्ताङबाहेक प्रदेशका सबै जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको निर्देशनालयका सूचना अधिकारी नवराज शर्माले जानकारी दिनुभयो ।

उक्त अवधिसम्ममा सबैभन्दा बढी तनहुँमा पाँच सय ५२ जनामा डेङ्गीको सङ्क्रमण देखिएको थियो । तनहुँपछि कास्की डेङ्गीबाट बढी प्रभावित देखिन्छ । गत बुधबार मात्र कास्कीमा ४० जना डेङ्गी सङ्क्रमित भेटिएका थिए ।

गत आइतबारसम्मको तथ्याङ्कअनुसार गोरखामा एक सय ११, बागलुङमा ८६, पर्वतमा ६६, लमजुङमा ५५, म्याग्दीमा ४१, स्याङ्जामा ३६, नवलपुरमा ११ र मनाङमा मात्र एक जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ ।

गत जुलाई महिनामा छ सय ४३ जना सङ्क्रमित भेटिएकामा अगष्टको दोस्रो साता नबित्दै पाँच सयभन्दा बढीमा डेङ्गीको सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

गत जनवरीमा ७० जनामा डेङ्गीको सङ्क्रमण भएकामा त्यसयता घट्दै आएर जुन महिनामा ८७ बाट पुनः सङ्क्रमितको संख्या थपिँदै आएको हो ।

पछिल्लो दुई महिनामा डेङ्गी सङ्क्रमणको दरलाई हेर्दा आगामी दिनमा सङ्क्रमणको जोखिम थप तीव्र हुने देखिएको जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले बताउनुभयो ।

उहाँका अनुसार असारदेखि कात्तिकसम्म डेङ्गीको सङ्क्रमण बढी फैलने गर्छ । समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके डेङ्गीले महामारीको रुप लिन सक्ने प्रमुख नेपालीले बताउनुभयो ।

“डेङ्गीलाई सामान्य रुपले नसोचौँ, यसका अप्रिय उदाहरण हामीसँग छन्”, उहाँले भन्नुभयो, “डेङ्गी भइसकेपछि अचाक्ली पीडा र दर्द हुन्छ, उपचार र हेरचाह पुगेन भने स्वास्थ्य अवस्था जटिल बन्दै गएर बिरामीको मृत्युसमेत हुनसक्छ ।”

उहाँले पछिल्लो समय प्रदेश राजधानी पोखरामा डेङ्गी तीव्र रुपमा फैलिएको बताउनुभयो । डेङ्गी रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने प्रमुख नेपालीको भनाइ छ ।

यस रोगबाट बच्न लामखुट्टको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको प्रमुख नेपालीले बताउनुभयो । चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गी सङ्क्रमण हुने गरेको उहाँले बताउनुभयो ।

धवलागिरि अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेङ्गी सङ्क्रमण हुँदैमा आत्तिहाल्नु चाहिँ नपर्ने बताउनुभयो ।

डेङ्गी सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने उहाँको भनाइ छ ।

डेङ्गी भएमा आराम गर्ने, पानीलगायत झोलिलो प्रसस्त पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्न नहुने प्रमुख चिकित्सक प्रधानले बताउनुभयो ।

गर्भवती र बालबालिकामा डेङ्गीको सङ्क्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तन सक्ने खतरा हुने उहाँको भनाइ छ ।

“अधिकांश सङ्क्रमित सामान्य उपचारपछि निको हुन्छन्, कतिपयमा डेङ्गीले जटिलता ल्याउन सक्छ, सामान्य रोग हो भन्ने सोचेर लापरबाही गरेमा ज्यानै जोखिममा पर्न सक्छ”, उहाँले भन्नुभयो । डेङ्गीबाट बच्ने उत्तम उपाय लामखुट्टेको टोकाइबाट बच्नु रहेको प्रमुख चिकित्सक प्रधानले बताउनुभयो ।

डेङ्गी सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने उहाँको भनाइ छ ।

डेङ्गीको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गनुपर्ने प्रमुख चिकित्सक प्रधानले बताउनुभयो ।

उक्त लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा जन्माउने गरेको पोखरा महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो ।

“डेङ्गी नियन्त्रणको प्रभावकारी उपाय भनेको घर वरपरि पानी जम्न नदिनु हो, यो लामखुट्टे जमेको सफा पानीमा बस्छ र दिउँसोमा मात्र मानिसलाई टोक्छ”, उहाँले भन्नुभयो । डेङ्गीको शङ्का लागेमा तुरुन्त परीक्षण गरी र आवश्यकता अनुसार उपचार सुरु गर्नुपर्ने जनस्वास्थ्य निरीक्षक पाण्डेले बताउनुभयो ।

डेङ्गीको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने गरेको उहाँको भनाइ छ ।

स्वास्थ्य शाखाले लामखुट्टेको टोकाइबाट बच्न, घर वरिपरि पानी जम्ने ड्रम, खाली बट्टा, पुराना टायर, भाँडाकुँडा नराख्न र शरीर ढोक्ने गरी लुगा लगाउन सर्वसाधारणमा अनुरोध गरेको छ ।

महानगरसहित यहाँका स्थानीय तहले डेङ्गीको सङ्क्रमण रोकथामका लागि लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान सुरु गरेका छन् ।

प्रतिक्रिया