December 23, 2024, 5:25 am
» एम्बाप्पेको सानदार गोलमा रियलको जित » रवि हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने भुसाल पक्राउ » रवि लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस » चिकित्सकको ‘बलात्कार र हत्या’ को आरोप लागेका भारतीयद्वारा आफू निर्दोष रहेको अदालतसमक्ष बयान » तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण

साउन २०, २०८१ मा प्रकाशित | ७६०दर्शक तीव्रखबर

म्याग्दी,  : जिल्लाको मङ्गला गाउँपालिका–२ र्‍यालेखोरमा लिफ्ट प्रविधिबाट खानेपानी आयोजना निर्माण भएको छ ।

सौर्य ऊर्जाको प्रयोग गरेर र्‍यालेखोर बस्ती मुनीको मुहानबाट पानी तानेर घरघरमा धारा जडान गरी वितरण गरिएको हो ।

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मङ्गला गाउँपालिका र उपभोक्ताको साझेदारीमा उक्त आयोजना निर्माण भएको हो ।

आयोजना निर्माणमा प्राविधिक तथा आर्थिक सहयोग गरेको नेवाका प्राविधिक गोर्खबहादुर शाहीले मुहानबाट एक सय ९ मिटर माथि रहेको टङ्कीमा तानेर वितरणको व्यवस्था मिलाएको जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतिसेकेण्ड दुई लिटरका दरले तानिएको पानी २४ वटा घर र त्रिभुवन मङ्गला माविमा निजी धारामार्फत वितरण गरिएको हो ।

रु ९२ लाख २४ हजार नौ सय ८७ को लगानीमा र्‍यालेखोर, खुुम्लीया र भाइवाङमा खानेपानी आयोजना निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष तेजिन्द्र आचार्यले बताउनुभयो ।

उहाँले र्‍यालेखोर र भाइवाङका एक सय घर र विद्यालय, सामुदायिक भवन र खेलमैदानमा आठ वटा निजी धारा निर्माण गरेर खानेपानी वितरण गरिएको जानकारी दिनुभयो । भाइवाङ र खुम्लीयामा पधेराको मुहानको पानी वितरण गरिएको छ ।

“यसअघि चार/पाँच घरका लागि एउटाका दरले बनाइएको सार्वजनिक धारामा पाइप जोडेर घरघरमा पानी लैजाने गरिएको थियो”, आचार्यले भन्नुभयो, “वितरण प्रणाली र मुहान व्यवस्थित नहुँदा खानेपानीको अभाव थियो ।”

मुहान र वितरण पाइपलाइनलाई व्यवस्थित गरेपछि सीमित स्रोतले पनि सबैले सहजरुपमा खानेपानी उपभोग गर्न पाएका उहाँको भनाइ छ । घरघरमा धाराका साथै भाडा माझ्ने जुठेल्ना र सुकाउने पक्की चाङ बनाइएको छ ।

नेवाको रु ३८ लाख ७१ लाख तीन सय सात, मङ्गला गाउँपालिकाको रु २७ लाख अनुदान र उपभोक्ताको रु २२ लाख ७८ हजार चार सय ६८ श्रमदानमा आयोजना निर्माण भएको उपभोक्ता समितिले जनाएको छ ।

अध्यक्ष आचार्यका अनुसार उपभोक्ताले श्रमदान गर्नुका साथै थप रु तीन लाख ७५ हजार दुई सय १२ नगद सङ्कलन गरिएको थियो । स्थानीय पुष्पा गौतमले घरकै धारामा नियमित खानेपानी आउन थालेपछि समयको बचत, झञ्झट र सास्ती हटेको बताउनुभयो ।

खानेपानीका साथै नुहाउन, कपडा धुन, गाईवस्तुलाई खुवाउन र सरसफाइका लागि पानी लिन सार्वजनिक धारामा जाने समय बचत भएको उहाँको भनाइ छ ।

नेवाको सहयोगमा मङ्गला गाउँपालिकाको थप दुई ठाउँमा खानेपानी आयोजना निर्माण भएका छन् ।

खानीगाउँका ३७ घर र एक विद्यालय तथा हिदीका ६४ घरमा निजी धारासहित खानेपानी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले जानकारी दिनुभयो ।

प्रतिक्रिया