January 22, 2025, 9:54 am
» चितवनमा गैंडाको आक्रमणबाट मृत्यु » प्रचण्डले जति बोले पनि कोशिस गरे पनि सरकार नढल्ने : नेता थापा » बसमा छुट नपाउँदा एमाले विद्यार्थीको विरोध » डोनाल्ड ट्रम्पलाई रास्वपाको बधाई, अमेरिकी दूतावासमा बोधार्थ » बिमानमा बम भएको सन्देश पछि बंगलादेशमा जहाज उडान बन्द

प्युठानका किसानलाई चैतेधान भित्र्याउने चटारो

साउन १६, २०८१ मा प्रकाशित | ९४०दर्शक तीव्रखबर

स्वर्गद्वारी (प्युठान),  यहाँको माण्डवी गाउँपालिका–५ छापका ठाकुर घर्तीमगरलाई चैतेधान भित्र्याउने चटारो छ । चार रोपनीमा लगाएको धान भित्र्याउन उहाँलाई भ्याइनभ्याइ छ ।

“तीन बाली लगाउँदा अन्न वर्ष दिन पुग्ने र केही बीउ बिक्री हुने हुँदा एउटै खेतबाट आम्दानीको स्रोत थपिएको छ”, किसान घर्तीमगरले भन्नुभयो ।

परम्परागत धानको बीउलाई त्यागेर उन्नत जातको धान रोप्दा उत्पादन वृद्धि हुनुका साथै बीउको बिक्रीबाट आम्दानीमा बढेपछि चैतेधान लगाउन थालेको उहाँले बताउनुभयो ।

घर्तीमगरजस्तै माण्डवी गाउँपालिका–५ का ९४ किसानले छ सय ५० रोपनीभन्दा बढीमा यस वर्ष चैतेधान लगाएका छन् ।

कतिपय किसानले भित्र्याइसकेका छन्भने  कोही भित्र्याउने तयारीमा छन् । धान भित्र्याएका खेतमा बर्खेधान रोप्न बीउ तयार भइसकेको छ ।

जिल्लामा प्युठान नगरपालिकाको झिमरुक फाँट, ऐरावती गाउँपालिकाको गोठिवाङ, सरङबेँसी, डाबरा फाँट, माण्डवी गाउँपालिकाको रुद्रपुर फाँट, मल्लरानी गाउँपालिका छापेखोलाका फाँट र स्वर्गद्धारी नगरपालिका केही स्थानमा चैतेधान हुँदै आएको छ ।

धानको उत्पादन र उत्पादकत्व बढाउन काम गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ प्युठानले चैते धानखेतीको प्रवर्द्धन गर्दै आएको छ । जसले गर्दा यसअघि चैतेधान लगाएका किसानले निरन्तर धानखेती गर्दै आएका छन् ।

चैते धान रोप्ने किसानलाई बीउमा ५० प्रतिशत अनुदान, कुलो निर्माणमा ८५ प्रतिशत, मलमा ५० प्रतिशत र विषादी र प्राविधिक सहयोगमा निःशुल्क प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले उपलब्ध गराएको छ । किसानलाई जमिन बाँझो नराख्न प्रोत्साहन गरी उत्पादनमा जोड दिइएको परियोजनाप्रमुख चुमान गिरीले बताउनुभयो ।

गत वर्ष एक हजार तीन सय ५० रोपनीमा चैतेधान लगाइएको थियोभने यो वर्ष दुई हजार छ सय रोपनीमा खेती भएको छ । परियोजनाप्रमुख गिरीका अनुसार जिल्लामा परम्परागत रूपमा धेरै फाँटमा चैतेधान रोपिए पनि  पछिल्लो समय यो चार सय रोपनीमा सीमित थियो ।

प्युठानको २२ हजार हेक्टर खेतीयोग्य भूमिमध्ये छ हजार पाँच सय ७५ हेक्टरमा धानखेती हुँदै आएको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका प्रमुख उमेश श्रेष्ठले जानकारी दिनुभयो । गत वर्ष जिल्लामा २१ हजार नौ सय ६७ मेट्रिक टन धान उत्पादन भएको थियो ।

प्रतिक्रिया