काठमाडौं– गृहमन्त्री रमेश लेखकले आफू कुनै पनि प्रकारको जातीय विभेद र छुवाछुतविरुद्धमा सधैँ रहेको प्रस्टीकरण दिएका छन् ।
सत्यन्द्र राम र नेहा रौनियारबीच भएको विवाहसम्बन्धमा प्रकाशित समाचार, अभिव्यक्त चासो र सदनमा उठेको विषयबारे प्रष्टीकरण दिँदै उनले यस्तो बताएका हुन् ।
‘छुवाछुत तथा भेदभावविरुद्धको हक एवम् व्यक्तिको नैसर्गिक मानवअधिकारको रक्षा र त्यसको उपभोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा गृह मन्त्रालय क्रियाशील छ,’ संसद् बैठकमा उनले भने, ‘म अत्यन्त ज्यादा संवेदनशील छु । म कुनै पनि प्रकारको जातीय विभेद र छुवाछुतको विरुद्धमा सधैँ रहने छु । र रहेको छु ।’
अन्तरजातीय विवाह गरेका सर्लाहीका सत्येन्द्र र नेहामाथि गृहमन्त्री लेखककै निर्देशनमा अत्याचार भएको आरोपका बारेमा सांसदहरूले बिहीबारको संसद् बैठकमा चासो राखेका थिए ।
सांसदहरू शिव नेपाली, अनिशा नेपाली, शान्ति विक, हर्कमाया विक, रनेन्द्र बराइलीलगायतले गृहमन्त्री लेखकको जवाफ माग गरेका थिए ।
प्रतिक्रिया