February 23, 2025, 7:25 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

दर्ता नभएका सामाजिक सञ्जालमाथि प्रतिवन्ध लगाइने

माघ २३, २०८१ मा प्रकाशित | ३९०दर्शक तीव्रखबर

नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने सरकारले तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कुनै पनि सामाजिक सञ्जाल दर्ता नभएको खण्डमा प्रतिबन्ध लगाइने स्पष्ट पार्नुभएको हो ।

सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको उहाँको दाबी छ । नेपाल टेलिकमको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सामाजिक सञ्जाल अराजक बन्दै गएको र त्यसलाई नियमन गर्नुपर्ने आम नागरिकको मागका आधारमा सरकारले विधेयक ल्याएको जिकिरसमेत गर्नुभयो ।

रैको माग के छ भने यो सोसल मिडियालाई रेगुलेट गर्दिनुपर्‍यो मन्त्रीज्यु भन्ने छ । यो मनपरी गर्ने, मनपरी भन्ने कुरा लोकतन्त्र होइन होला नि त’, उहाँले भन्नुभयो, ‘त्यसैले हामीले सोसल मिडिया प्रयोग, सञ्चालन र नियमन गर्ने विधेयक हामीले पेस गरेका छौँ । विरोध अलिअलि सुरु भएको छ । लोकतन्त्रमा विरोध त भइहाल्छ ।’

सामाजिक सद्भाव भत्काउने, विद्वेष फैल्याउने, धार्मिक सहिष्णुता भत्काउने कुरा देशद्रोह भएकाले त्यस्तो गर्नेलाई विधेयकमा दण्ड सजायको प्रावधान राखिएको मन्त्री गुरुङले खुलाउनुभयो । देशमा साइबर क्राइमका घटनाहरु बढिरहेकोले त्यसलाई नियन्त्रण गर्न ऐनको मस्यौदा तयार गरिरहेको पनि जानकारी दिनुभयो ।

अहिले नेपालमा दर्ता भएर सञ्चालनमा आएको सामाजिक सञ्जाल टिकटक मात्रै रहेको र मेटा (फेसबुक), इन्स्टाग्राम, ह्वाट्सएप लगायत अन्य सामाजिक सञ्जाललाई पनि दर्ताका लागि सार्वजनिक आह्वान गरिएको पनि उहाँले बताउनुभयो ।

‘टिकटकलाई हामीले भन्यौँ, तिमीले टुरिजममा हाम्रो देशको काम गर्नुपर्छ । उसले काम गरिरहेको छ । एआईको दुरुपयोग गरेर कति बदमासी गरिरहेको हुन्छ, हामी समात्नै सक्दैनौँ । किनभने उनीहरु हामीसँग आइरहेको छैन’, मन्त्री गुरुङले भन्नुभयो, ‘मेटा, फेसबुक, इन्स्टाग्राम केके छ त्यो प्रयोग गर्दा हामीलाई के सहयोग गर्न सक्छौँ ? हामीलाई स्वास्थ्यमा सहयोग गर, हाम्रो इन्डस्ट्रीमा सहयोग गर । गुड गभर्नेन्सलाई काम गर्न सहयोग गर । त्यो नगरिकन उनीहरूलाई चलाउन दिँदैनौँ ।’मन्त्री गुरुङले दर्ता हुन आउनेलाई सञ्चालनका लागि सरकारले सहज वातावरण मिलाउने उल्लेख गर्दै सामाजिक सञ्जाल देशको नियम, कानूनअनुसार चल्नुपर्ने प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया