पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ सक्रिय राजनीतिमा फर्किन लागेको चर्चा चलिरहँदा नेकपा माओवादी केन्द्रले जिम्मेवारी दिने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल पुष्पकमल दाहाल प्रचण्ड निवास (खुमलटार)मा दिउँसो बसेको पदाधिकारी बैठकले उहाँलाई पार्टीको उत्पादन क्षेत्र हेर्न लगाउनेमा सहमति जनाएको छ ।
गत पुसा तेस्रो साता बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पार्टीका नेता तथा कार्यकर्तालाई फागुन १ गतेसम्म आर्थिक स्रोत खुल्नेगरी आफ्नो सम्पति विवरण पेश गर्न निर्देशन दिनुभएको थियो । पछिल्लो समय धारावाहिक रुपमा भ्रष्टाचारका काण्ड सतहमा आइरहँदा माओवादीका कार्यकर्ताहरु उत्पादनसँग जोडिएर आर्थिक स्रोत सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
प्रचण्डकै प्रस्तावमा पार्टीले उत्पादन क्षेत्रलाई जोड्न छुट्टै संयन्त्र बनाउन लागेको छ । पूर्व उपराष्ट्रपतिलाई सोही जिम्मेवारी हेर्न दिने निर्णय गरिएको बैठकमा सहभागी एक पदाधिकारीले बताए । पुनलाई पदाधिकारीकै हैसियतमा उक्त जिम्मेवारी दिइएको हो ।
ती पदाधिकारीले भने, ‘अहिले मोटामोटी पार्टीको उत्पादन क्षेत्र हेर्ने जिम्मेवारी दिने निर्णय भएको छ, बाँकी निर्णय बिस्तारै हुने छ ।’
आजको बैठकले आगामी फागुन ९ गते स्थानीय तहमा निर्वाचित प्रमुख तथा उपप्रमुखको भेला गर्ने र फागुन १२ गतेदेखि जनतासँग माओवादी अभियान चलाउने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया