January 18, 2025, 11:06 pm
» सङ्घीयतालगायत अधिकार रक्षाका लागि अझै सङ्घर्ष आवश्यक छः मुख्यमन्त्री सिंह » जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित » ब्राजिलमा प्रहरी कारबाहीमा छ जनाको मृत्यु » इरानी सर्वोच्च अदालतका दुई न्यायाधीशको कार्यकक्षमा हत्या » कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, दुई जना पक्राउ

जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित

माघ ५, २०८१ मा प्रकाशित | ७१०दर्शक तीव्रखबर

बरहथवा । जिल्लाको हरिपुर क्षेत्रका जङ्गली हात्ती बस्ती पसरे बालीनालीमा क्षति पुर्‍याउन थालेपछि स्थानीय त्रसित बनेका छन् । हरिपुर नगरपालिका–१ हजारबिघा क्षेत्रमा किसानले लगाएका बालीनाली जङ्गली हात्तीले क्षति गरेको हो ।

तीन वटाको सङ्ख्यामा देखिएको जङ्गली हात्तीले किसानको खेतमा पसेर अन्न र उखुबाली नष्ट गरेको वडाध्यक्ष नानीबाबु थापाले जानकारी दिए । ‘गएराति एक्कासि गाउँ नजिकै जङ्गलबाट खेतमा हात्तीहरू पसेका हुन्’, उनले भने, “खेतमा लगाएको बालीनाली क्षति गरेपछि गाउँतिर आउँछ कि भन्ने चिन्तामा स्थानीय छन् । हामीले सुरक्षा निकाय र वन कार्यालयमा खबर गरेका छौँ ।”

वडाध्यक्ष थापाका अनुसार गएराति हात्तीले स्थानीय मुना लायो मगरको कच्ची घर पनि भत्काएको छ । दिनभर जङ्गलमा लुकेर बस्ने जङ्गली हात्ती रातको समयमा बस्ती नजिकैको खेतबारी र गाउँमा प्रवेश गरेर उपद्रो गर्ने गरेको उनको भनाइ छ

विपन्न एकल महिला मगरको हात्तीले घर भत्काएपछि उनी  थप त्रसित बनेको स्थानीयले निर्मला कार्कीले बताइन् । हात्तीले घरभित्र रहेको अन्नपात खाएको भन्दै रातको समयमा हात्ती आएको देखेपछि मगरले छिमेकको घरतर्फ भागेर ज्यान जोगाएको उनले बताइन् ।

सोही हात्तीको बथानले स्थानीय निर्मला कार्की, अष्टम खड्का, गोपाल बस्नेतसहितको करिब १ बिघा जमिनमा लगाइएको मकै, गहुँ र उखु बाली पनि क्षति गरेको सब–डिभिजन वन कार्यालयका प्रमुख रोहित चौधरीले जानकारी दिए ।

सब डिभिजन वन कार्यालयले हरिपुर नगरपालिका–१, जानकीनगरका वन क्षेत्रमा गए रातिदेखि जङ्गली हात्ती देखा परेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । यस वन क्षेत्रमा बर्सेनि जङ्गली हात्ती आएर स्थानीयको बाली तथा घरमा क्षति गर्ने गरेका छन् ।

गत वर्ष पनि जङ्गली हात्तीले घुर्कौली जङ्गलमा घाँस काट्न गएका एक युवकमाथि आक्रमण गर्दा यसवकको निधन भएको थियो । अहिले वन क्षेत्रमा देखिएका जङ्गली हात्ती केही समयअघि रौतहटको विभिन्न वन क्षेत्रमा देखिने गरेका हात्तीको बथान हुनसक्ने डिभिजन वन कार्यालयले अनुमान गरेको छ ।

हात्तीलाई आफ्नो गन्तव्य बासस्थानतर्फ फर्काउन पहल भइरहेको वन कार्यालयका प्रमुख चौधरीले जानकारी दिए ।

प्रतिक्रिया