February 23, 2025, 9:02 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु

पुस २९, २०८१ मा प्रकाशित | ४९०दर्शक तीव्रखबर

चितवन– विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीय लगायतको सहभागितामा चितवन, तनहुँ र नवलपरासीको संगमस्थल देवघाटको बेनीमा माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ ।

नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती, महेश सन्यास आश्रमका पीठाधीश रमणानन्द गिरी सो अवसरमा उपस्थिति रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए।

मेलाको शुभारम्भ गरिएसँगै अन्यत्रदेखि भक्तजन आउनेक्रम सुरु भएको छ । नदीमा स्नानका लागि रेखाङ्कनको काम गरिएको छ । देवघाटमा पुसको अन्तिम दिनदेखि मकर स्नान मेला सुरु हुन्छ ।

गोसाइँकुण्डबाट आएको त्रिशूली र मुक्तिनाथबाट आएको कालीगण्डकी दोभान देवघाटमा माघे सङ्क्रान्तिका दिन नुहाउँदा फल प्राप्त हुने जनविश्वास छ । स्वदेशका मात्रै नभएर भारतका हिन्दुहरू पनि यस दिनमा स्नान गर्न आउने गर्दछन् । माघे सङ्क्रान्तिमा देवताहरू पनि नुहाउन, तीर्थ गर्न देवघाट आउने धार्मिक कथन रहेको छ ।

आज राति भक्तजन देवघाटमा जाग्राम बस्ने प्रचलन छ । धर्मशास्त्रअनुसार सौरमासका हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । आजदेखि सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।

‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घीउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोगी भइने जनविश्वास छ । देवघाटमा नेपाल र भारतबाट भक्तजन स्नानका लागि आउने गर्दछन् ।

प्रतिक्रिया