सुनसरी– धरानको दुई स्थानबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालयले दिएको जानकारी अनुसार धरान-८ सिद्धार्थ मार्गस्थित कुमार खत्रीको घरमा कोठा लिएर बस्ने ३१ वर्षीय असरद अन्सारी र ४५ वर्षीय जियाउल अन्सारी पक्राउ परेका हुन् ।
उनीहरूको कोठा खानतलासी गर्दा ट्रामाडोल-५० लेखिएको ४२ हजार ६ सय क्याप्सुल बरामद भएको थियो । अरसदको स्थायी घर सुनसरीको हरिनगरा- ४ र जियाउलको सोही पालिकाको वडा-२ भूटाहा हो ।
असरद र जिउलले धरानमा कोठा भाडामा लिएर अवैधरुपमा लागूऔषधको कारोबार गर्दै आएको जानकारी पाएपछि बिहीबार राती छापा मार्दा ट्रामाडोल बरामद भएको हो । बरामद ट्रामाडोलको बजार मुल्य करिब ४ लाख रुपैयाँ बराबरको हुन आउँछ ।
यसैगरी प्रहरीले धरान-१६ बस्ने २४ वर्षीय सुमित भुजेललाई जोरसखुवा चोकबाट पक्राउ गरेको जनाएको छ । भूजेलको साथबाट ट्रामाडोल सय क्याप्सुल, ट्रामानियल ९ सय क्याप्सुल, स्पास्मेण्ड हजार क्याप्सुल बरामद गरेको प्रहरीले जनाएको छ ।
ट्रामाडोल औषधी मांसपेशीको दुखाई कम गर्न र रुमेटायड आर्थराइटिस र आस्टियो आर्थराइटिसबाट हुने दुखाई कम गर्न बिरामीलाई चिकित्सकको सल्लाह अनुसार मात्र प्रयोग गर्न सकिन्छ । ट्रामाडोलमा भएको रसायनले दुखाई भएको सन्देश दिने मस्तिष्कको रसायनलाई निष्क्रिय बनाउने गर्छ । यस्तै ट्रामानियल र स्पास्मेण्ड पनि दुखाई कम गराउने औषधी नै हुन् ।
यी औषधीहरूलाई लागूऔषधको श्रेणीमा राखिएको छैन । जुनसुकै मेडिकल हल वा औषधी पसलमा पाउन सकिने भएकाले पछिल्लो समयमा लागूऔषधको कारोबार गर्ने गिरोहले लागूऔषधकै रूपमा प्रयोगकर्ताहरूलाई विक्री गर्दै आएका छन् ।
प्रतिक्रिया