February 23, 2025, 9:41 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

शीतलहरले तराईको जनजीवन प्रभावित

पुस २६, २०८१ मा प्रकाशित | ३८०दर्शक तीव्रखबर

जलेश्वर – विगत पाँच दिनदेखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरीसहित तराई मधेसमा जनजीवन प्रभावित भएको छ।

लगातारको चिसो वायुले तराईका जिल्लामा दैनिक रुपमा जाडो बढेको बढ्यै भएपछि जनजीवन प्रभावित भएको हो।

निरन्तरको चिसो कठ्याग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण पशुचौपाया तथा बालीनाली समेत प्रभावित बनेका जलेश्वर– ७ का वीरेन्द्र शर्माले बताए। चिसोकै कारण सदरमुकाम जलेश्वरमा नागरिकको चहलपहलमा कमी आएको छ। बाक्लो कुहिरोका कारण यातयातका कमै चल्न थालेका छन्।

जिल्लाका विभिन्न बजारमा बाक्लो ऊनी कपडाको व्यापार बढेको छ। चिसोले हाट बजारमा चहलपहल घटेको छ। चिया व्यापार भने बढेको जलेश्वर नगरपालिका–१ का चिया पसले उमेश साहले बताए।

चिसोकै कारण जिल्लाका विभिन्न स्वास्थ्य केन्द्र तथा जिल्ला अस्पतालमा बिरामीको सङ्ख्या ह्वात्तै बढेको चिकित्सकहरु बताउँछन्।

जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी प्रभावित भएका छन्। चिसोको कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरीमा रुघाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्ने लगायतका समस्या देखिएको छ। जाडोबाट बच्न ठाउँठाउँमा स्थानीयले आगो बालेर घुर तापिरहेका छन्।

जाडोकै कारण ग्रामीण भेगमा बस्तुभाउलाई समेत समस्या भएको जलेश्वर–१० का सहदेव मण्डलले बताए।

प्रतिक्रिया