January 7, 2025, 8:15 am
» आगलागी हुँदा धनमाल जलेर नष्ट » चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द » युक्रेनको कुराखोवे सहर फेरि कब्जा गरेको रूसी दाबी » डडेलधुराको आलितालमा ४८ प्रजातिका जलपन्छी » बागमती कार्ययोजना प्रकृतिमैत्री रूपमा अघि बढ्छ : उपप्रधानमन्त्री सिंह

माली आक्रमणमा आठ सर्वसाधारणको मृत्यु

पुस २१, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

मध्य मालीमा कम्तीमा आठ सर्वसाधारणको मृत्यु भएको विभिन्न स्रोतहरूले आइतबार बताएका छन् । स्रोतहरूले समस्याग्रस्त पश्चिम अफ्रिकी यस देशमा भएको पछिल्लो आक्रमणका लागि माली सेना र रुसको वाग्नर समूहलाई जिम्मेवार ठह¥याएका छन् ।

माली राजनीतिक, सुरक्षा र आर्थिक सङ्कटमा फसेको छ र सन् २०१२ देखि अल–कायदा र इस्लामिक स्टेट समूहसँग सम्बद्ध विभिन्न समूहहरूद्वारा तहसनहस पारिएको छ । यसले अस्थिर उत्तरी मरुभूमि क्षेत्रमा पृथकतावादी विद्रोहको पनि सामना गरिरहेको छ ।

“एउटा हाइलक्स फोरबाइफोर सवारी साधन… मौरिटानियामा रहेको शरणार्थी शिविरतर्फ जाँदै गर्दा वाग्नर र माली सेनाले गोली चलाए । बिहीबार कम्तीमा आठ सर्वसाधारणको मृत्यु भयो”, एक स्थानीय अधिकारीले नाम नखुलाउने शर्तमा भने ।

“सवारी साधनका सबै यात्रुको मृत्यु भयो । उनीहरूलाई सामूहिक चिहानमा गाडियो”, पीडितमध्ये एकका आफन्तले भने ।

एक स्थानीय मानवीय सहायता स्रोतले घटनाको पुष्टि गर्दै आठ सर्वसाधारणलाई ‘निओनो र नम्पाला क्षेत्रबीच… गोली हानी मारिएको’ बताएको छ ।

मालीको सेनाले यस घटनामा तत्काल कुनै टिप्पणी गरेको छैन र एएफपीले सम्पर्क गरेका रक्षा मन्त्रालयका अधिकारीले टिप्पणी गर्न अस्वीकार गरे ।

मालीको उत्तरमा टुआरेग जातीय अल्पसङ्ख्यक समूहका विभिन्न पृथकतावादी समूह समावेश भएको अजावाद मुक्ति मोर्चा (एफएलए) ले शनिबार जारी गरेको विज्ञप्तिमा माली सेना र रुसको वाग्नर भाडाका सैनिक समूहलाई ‘जानीजानी गरिएको आपराधिक कार्य’ का लागि दोष दिएको छ । घटनामा नौ जनाको मृत्यु भएको उसले बतायो ।

एफएलएले भन्यो, “माली सेना र वाग्नर भाडाका सैनिकहरूद्वारा गौमा कौरा र दिउरा बीचमा महिला र बालबालिकासहित नौ जना सर्वसाधारणको हत्या भएको कुरा ठूलो दुःखका साथ प्राप्त भयो ।”

माली सेनाले सन् २०२० र २०२१ मा लगातार दुई पटक सत्ता कब्जा गरेको थियो । त्यसयता उसले पूर्व औपनिवेशिक शक्ति फ्रान्स र युरोपेली साझेदारहरूसँग आफ्नो जिहादी विरोधी गठबन्धन तोडेको छ र राजनीतिक तथा सैन्य रूपमा रुसतर्फ मोडिएको छ ।

प्रतिक्रिया