काठमाडौं, । महँगी बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनाको तथ्याङ्कअनुसार महँगी बढ्दै गएको छ ।
कात्तिक मसान्तमा उपभोक्ता मुद्रास्फीति (महँगी) पाँच दशमलव ६० प्रतिशत पुगेको छ । जुन असोज मसान्तमा चार दशमलव ८२ प्रतिशत थियो । एक वर्षअघि कात्तिकमा पाँच दशमलव ३८ प्रतिशत थियो ।
गत कात्तिक मसान्तसम्म खाद्य तथा पेयपदार्थ समूहको मूल्यवृद्धि नौ दशमलव १० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ६५ प्रतिशत छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः पाँच दशमलव ९८ प्रतिशत र चार दशमलव ९९ प्रतिशतले थियो ।
कात्तिक मसान्तमा तरकारी समूहको उपभोक्ता मूल्यवृद्धि ३३ दशमलव ९९ प्रतिशत, दाल तथा गेडागुडीको १० दशमलव ७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १० दशमलव १५ प्रतिशत र घ्यू तथा तेलको नौ दशमलव २९ प्रतिशतले बढेको छ भने मरमसला उपसमूहको एक दशमलव ४१ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको एक दशमलव २८ प्रतिशत र माछा तथा मासुको शून्य दशमलव शून्य दुई प्रतिशतले घटेको छ ।
प्रदेशगतरूपमा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव १९ प्रतिशत, मधेश प्रदेशको पाँच दशमलव ७२ प्रतिशत, बागमती प्रदेशको पाँच दशमलव ३५ प्रतिशत, गण्डकी प्रदेशको चार दशमलव ६९ प्रतिशत, लुम्बिनी प्रदेशको पाँच दशमलव १० प्रतिशत, कर्णाली प्रदेशको तीन दशमलव २१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको छ दशमलव ५७ प्रतिशत छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ४२ प्रतिशत, तराईको पाँच दशमलव ७२ प्रतिशत, पहाडको पाँच दशमलव १५ प्रतिशत र हिमालको छ दशमलव ७८ प्रतिशत छ ।
रेमिट्यान्स पाँच खर्ब २१ अर्ब
वैदेशिक रोजगारीबाट प्राप्त हुने आय (रेमिट्यान्स आप्रवाह) बढेको छ । यस आर्थिक वर्षको पहिलो चार महिनामा पाँच खर्ब २१ अर्ब ६२ करोड रुपैयाँ भित्रिएको छ ।
जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नौ दशमलव एक प्रतिशत बढी हो । अमेरिकी डलरमा रेमिट्यान्स तीन अर्ब ८७ करोड भित्रिएको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा तीन अर्ब ६० करोड भित्रिएकोे थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) पाँच खर्ब ६८ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय पाँच खर्ब २१ अर्ब ४३ करोड थियो ।
कात्तिक मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख ४७ हजार चार सय ७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार एक सय पाँच छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः एक लाख ३७ हजार चार सय ७५ र ६८ हजार आठ सय ४१ थियो ।
शोधनान्तर खाता र चालू खाता बचतमा
कात्तिकसम्म शोधनान्तर स्थिति दुई खर्ब पाँच अर्ब ८३ करोड रुपैयाँले बचतमा छ । गत वर्षको सोही अवधिमा एक खर्ब ५० अर्ब २४ करोडले बचतमा थियो । अमेरिकी डलरमा गत वर्ष कात्तिकमा एक अर्ब १३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति यस वर्ष एक अर्ब ५३ करोडले बचतमा छ ।
समीक्षा अवधिमा चालू खाता एक खर्ब ४३ अर्ब ४२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ९७ अर्ब १० करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७३ करोड छ लाखले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा एक अर्ब छ करोडले बचतमा छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर दुई अर्ब ४७ करोड छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर एक अर्ब ५९ करोड थियो ।
यसैगरी, समीक्षा अवधिमा पाँच अर्ब ७६ करोड प्रत्यक्ष वैदेशिक (इक्विटी मात्र) लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक (इक्विटी मात्र) लगानी आप्रवाह तीन अर्ब ६५ करोड थियो ।
साढे २२ खर्ब विदेशी मुद्रा सञ्चिती
विदेशी मुद्रा सञ्चिति बढेको छ । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँबराबर रहेको विदेशी विनिमय सञ्चिति कात्तिक मसान्तसम्म १० दशमलव पाँच प्रतिशत बढेर २२ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।
अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा नौ दशमलव चार प्रतिशत बढेर १६ अर्ब ७० करोड पुगेको छ ।
विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ कात्तिक मसान्तमा आठ दशमलव छ प्रतिशतले बढेर २० खर्ब आठ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकबाहेका बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ कात्तिक मसान्तमा २८ दशमलव चार प्रतिशतले बढेर दुई खर्ब ४७ अर्ब २० करोड रुपैयाँ छ । २०८१ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत छ ।
आर्थिक वर्ष २०८१÷८२ को चार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८ महिनाको वस्तु आयात र १५ महिना तीन दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
२०८१ कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३९ दशमलव पाँच प्रतिशत, एक सय २६ प्रतिशत र ३१ दशमलव चार प्रतिशत छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५ दशमलव आठ प्रतिशत, एक सय आठ दशमलव छ प्रतिशत र २९ दशमलव तीन प्रतिशत थिए ।
खुद सेवा आय २३ अर्ब घाटामा
खुद सेवा आय करिब २२ अर्ब ९५ करोड रुपैयाँ घाटामा देखिएको छ । गत वर्ष कात्तिकमा खुद सेवा आय २७ अर्ब ८९ करोड घाटामा थियो ।
भ्रमण आय तीन दशमलव आठ प्रतिशतले बढेर २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २५ अर्ब ८७ करोड रुपैयाँ थियो ।
समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १० दशमलव तीन प्रतिशतले बढेर ६८ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।
यसमध्ये शिक्षातर्फको व्यय ३७ अर्ब ७२ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ६१ अर्ब ९२ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय ३८ अर्ब ४४ करोड रुपैयाँ छ । (आर्थिक दैनिकबाट)
प्रतिक्रिया