January 10, 2025, 8:13 pm
» भीमदत्तका नगरप्रमुख र प्रशासकीय अधिकृतको भ्रष्टाचार मुद्दा सर्वोच्चमा » उद्योगहरूको व्यवस्थापनलाई आधुनिकीकरण : गर्नुपर्छ मन्त्री सिंह » रवि लामिछानेलाई धरौटीमा रिहा आदेश गर्ने न्यायाधीशविरुद्ध युवराज सफलको उजुरी » सरकारको यो गठबन्धन अब धेरै दिन चल्दैनः प्रचण्ड » प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयको ‘ब्रिफिङ’

बैंकिङ प्रणालीमा निक्षेप पठाउँदै राष्ट्र बैंक

मंसिर १८, २०८१ मा प्रकाशित | ४३०दर्शक तीव्रखबर

काठमाडौं,  । बैंकिङ प्रणालीमा अहिले प्रशस्त तरलता छ । बैंकहरूले कर्जा विस्तार गर्न नसक्दा राष्ट्र बैंकले अर्बौँ रुपैयाँ प्रणालीबाट तानेर व्यवस्थापन गरिरहेको छ ।

आइतबार मात्रै पनि राष्ट्र बैंकले ५० अर्ब निक्षेप सङ्कलन गर्न आवेदन माग्दा बैंकहरूले ६४ अर्ब ५५ करोड राख्न तयार भएका थिए । यसले बैंकहरूसँग लगानीयोग्य रकम प्रशस्त रहेको देखाउँछ ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार वित्तीय प्रणालीमा अहिले ६६ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप छ । यस्तै बैंक तथा वित्तीय संस्थाले ५३ खर्ब दुई अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

बैंकहरूले कुल निक्षेपको ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउँछन् । तर, अहिलेसम्म जम्मा ७८ दशमलव ५५ प्रतिशत मात्रै कर्जा प्रवाह भएको तथ्याङ्कमा देखिन्छ । यस आधरमा बैंकहरूसँग अहिले छ खर्ब ७१ अर्ब रुपैयाँ हाराहारी लगानीयोग्य पैसा छ ।

वाणिज्य बैंकहरूले अहिलेसम्म ५९ खर्ब तीन अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी ४६ खर्ब ९६ अर्ब कर्जा लगानी गरेका छन् ।

यस्तै विकास बैंक र फाइनान्स कम्पनीहरूले सात खर्ब ३४ अर्ब निक्षेप सङ्कलन गरी छ खर्ब छ अर्ब कर्जा लगानी गरेका छन् ।

कर्जा विस्तार न्यून हुँदा प्रणालीमा लगानीयोग्य रकम प्रशस्त छ । बैंकहरूले स्थायी निक्षेप सुविधा उपयोग गर्दै खर्बौँ रुपैयाँ राष्ट्र बैंकलाई दिँदै आएका छन् ।

यस्तो बेला राष्ट्र बैंकले प्रणालीमा निक्षेप पठाउन लागेको छ । केन्द्रीय बैंकले सोमबार सूचना जारी गर्दै चार अर्ब चार करोड ७९ लाख रुपैयाँ मुद्दती निक्षेप लगानी गर्न लागेको छ ।

राष्ट्र बैंकले तोकिएका सर्तहरू पूरा गरेका बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको निक्षेप रकम र उक्त रकमको लागि ब्याजदर तोकेर प्रस्ताव पेस गर्नसक्ने जनाएको छ । यस्तो प्रस्ताव २०८१ मंसिर १९ गते राति १२ बजेभित्र प्राप्त हुनेगरी पेस गर्नुपर्नेछ ।

राष्ट्र बैंकले २०२४ डिसेम्बर १६ देखि २०२५ डिसेम्बर १७ सम्म तीन सय ६६ दिनका लागि मुद्दती निक्षेपमा सो पैसा राख्न लागेको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा तीन अर्ब २३ करोड ८५ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरूमा ६० करोड ७१ लाख रुपैयाँ र राष्ट्रिय स्तरका फाइनान्स कम्पनीहरूमा २० करोड २३ लाख रुपैयाँ निक्षेप राख्न लागेको जनाएको छ ।

राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष कायम गरेको, कर्जा निक्षेप अनुपात सीमाभित्र रहेको, निष्क्रिय कर्जा कुल सापटीको पाँच प्रतिशतभन्दा कम रहेको, खुद तरलता सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी भएको, गत आर्थिक वर्षमा मुनाफामा रहेको, रियल स्टेट कर्जा तोकिएको सीमाभन्दा बढी नभएको, कुनै पनि जरिबानामा नपरेको र शीघ्र सुधारात्मक कारबाहीमा परेको भए कारबाही फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको लगायत सर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थाले निक्षेप लिनका लागि आवेदन दिन सक्नेछन् । (आर्थिक दैनिकबाट)

प्रतिक्रिया