February 23, 2025, 1:32 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित

मंसिर १०, २०८१ मा प्रकाशित | ७००दर्शक तीव्रखबर

ढोरपाटन (बागलुङ),  : चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन् । ढोरपाटन नगरपालिका–९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी पर्न थालेका हुन् । विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित भएको छ ।

उच्च पहाडी क्षेत्रमा पर्ने ढोरपाटनमा बिहानमा तुसारो पर्ने र दिउँसोमा चिसो सिरेटो चल्दा बालबालिका बिरामी पर्ने गरेको ज्योति विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले बताउनुभयो । विद्यार्थीलाई ज्वरो, रुघाखोकीसहित निमोनिया देखिँदा पढाइ प्रभावित भएको उहाँको भनाइ छ । जाडो याममा ढोरपाटनमा हिउँदमा विद्यालय बन्द हुने गर्छ ।

पुस महिना भरि पठनपाठन गर्ने योजना बनाए पनि चिसोका कारण छिट्टै विद्यालय बन्द गर्ने स्थिति देखिएको अदैले बताउनुभयो । कक्षा ९ र १० का लागि बिहान सञ्चालित ट्युसन कक्षामा विद्यार्थीहरु कठ्याङ्ग्रिएर पढ्न नसक्ने अवस्था भएको उहाँको भनाइ छ । विद्यालयमा ‘हिटर’को व्यवस्थापन नहुँदा बालबालिकालाई चिसोबाट जोगाउन समस्या भएको छ ।

“ बिहान तुसारोले खेलमैदान पुरिएको हुन्छ, बिहान १० बजे घाम लाग्ने हुँदा समयमै पठनपाठन सुरु गर्छौँ, साँझ ३ः३० बजेनै छुट्टी गर्छौँ”, उहाँले भन्नुभयो । ढोरपाटनका अधिकांश हुने खाने वर्गले छोराछोरी पोखरा, काठमाडौँलगायतका ठाउँमा पढाउने गरेका छन् ।

ढोरपाटन उपत्यका क्षेत्रमा ज्योति विकास माध्यमिक विद्यालय, सिद्धबराह प्राथमिक विद्यालय, सहलथान प्राथमिक विद्यालय, बाल ज्योति प्राथमिक विद्यालय, ढोरपाटन दुर्गम प्राथमिक विद्यालय र ढोरबहारा प्राथमिक विद्यालय सञ्चालनमा छन् । यी विद्यालय चिसोका कारण हरेक वर्ष पुस दोस्रो सातादेखि बन्द हुने गर्छन् ।

प्रतिक्रिया