January 22, 2025, 3:54 pm
» भारतमा रेल दुर्घटनाः ११ जनाको मृत्यु, नेपाली पनि परेको आशंका » कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल » एमाले नेता ऐन महरविरूद्ध पक्राउ पुर्जी जारी » जिपको ढोकाबाट खसेर दुई जना घाइते » जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि

कुल राजस्वमा चौधरी ग्रुपको योगदान २ प्रतिशत

मंसिर ३, २०८१ मा प्रकाशित | ६६०दर्शक तीव्रखबर

काठमाडौं : चौधरी ग्रुपले आर्थिक वर्ष ०८०/८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रुपैयाँ कर तिरेको छ । यो सरकारको कुल राजस्वमा करिब २ प्रतिशत (१.९६ प्रतिशत) को योगदान हो । चौधरी ग्रुपअन्तर्गत सञ्चालित कम्पनीहरूले सरकारी राजस्वमा गरेको यो योगदान सबैभन्दा उच्च रहेको कम्पनीको अनुमान छ ।

आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको, व्यावसायिक वातावरण सुमधुर नरहेको, उत्पादन तथा निर्माण क्षेत्रको अवस्था कमजोर रहेको पृष्ठभूमिमा पनि चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको कम्पनीले जनाएको छ ।

आर्थिक गतिविधिमा आएको संकुचनका कारण सरकारले गत आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको पृष्ठभूमिमा चौधरी ग्रुपको योगदान भने गत आर्थिक वर्षको तुलनामा १५ प्रतिशतले वृद्धि भएको बताइएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा चौधरी ग्रुपले पछिल्लो आर्थिक वर्षमा राजस्वमा पुर्‍याएको योगदान २ अर्ब ३८ करोड रुपैयाँले बढी छ । आर्थिक वर्ष २०७९/८० मा ग्रुपले १६ अर्ब १४ करोड रुपैयाँ कर तिरेको थियो ।

यसैक्रममा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, ‘राष्ट्रिय अर्थतन्त्रको विस्तार र देशका विकास परियोजनामा योगदान गर्न पाउँदा हामीले गौरवान्वित महसुस गरेका बताउँछन् । उनी भन्छन्, ‘राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकूल वातावरणका बीच पनि राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउन सकेकोमा हामीलाई खुसी लागेको छ । यसले देशको विकास निर्माण र आम नागरिकको सामाजिक सुरक्षामा सरकारी दायित्व निर्वाह गर्न सहयोग पुग्नेछ भन्ने मेरो विश्वास छ ।’

गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७६ अर्ब ५४ करोड रुपैयाँ कर तिरेको छ । आर्थिक वर्ष २०७६/७७ मा ९ अर्ब ८७ करोड, २०७७/७८ मा १४ अर्ब २८ करोड, २०७८/७९ मा १७ अर्ब ७२ करोड, २०७९/८० मा १६ अर्ब १४ करोड, २०८०/८१ मा १८ अर्ब ५२ करोड रुपैयाँ कर सरकारी ढुकुटीमा दाखिला गरिएको छ । यसैगरी, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आफ्नो ग्रुपले स्थापित एवं नयाँ व्यवसाय वृद्धिका माध्यमद्वारा नेपालको राष्ट्रिय अर्थतन्त्रमा सन्तोषजनक योगदान गर्न सकिएको बताए । ‘हामीले प्रत्येक वर्ष राजस्वमा योगदान बढाउँदै लगेका छौं र आगामी वर्षहरूमा पनि यो वृद्धिदर कायम राख्ने हाम्रो लक्ष्य छ’, प्रबन्ध निर्देशक चौधरी भन्छन्, ‘चौधरी ग्रुपले नेपाललाई आफ्नो प्रमुख प्राथमिकतामा राखी लगानीको दायरा विस्तार गर्दै आएको छ । हामीले पूर्वाधार र नयाँ प्रविधिमा आधारित व्यवसायमा लगानी गरिरहेका छौं । यसबाट राष्ट्रको समग्र आर्थिक विकासमा योगदान पुग्ने हाम्रो विश्वास छ ।’

नेपालमा व्यावसायिक ग्रुपहरूले सरकारको राजस्वमा गरेको योगदानलाई सरकारी तवरबाट छुट्टै गणना गर्ने र प्रोत्साहन गर्ने परिपाटी नहुँदा पनि चौधरी ग्रुपले प्रत्येक वर्ष आफ्नो समूहबाट राजस्वमा गरेको योगदानलाई सार्वजनिक गर्दै आएको छ । चौधरी ग्रुपका प्रवक्ता मधुसूदन पौडेलका अनुसार करदाताको रूपमा व्यवसायमार्फत भुक्तानी गरेको रकम व्यक्तिले तिरेको करमा गणना हुँदैन । ‘यसले कतिपय अवस्थामा जनमानसमा भ्रम उत्पन्न भएको पनि देखिँदै आएको छ ।

यो दुविधालाई अन्त्य गर्न र आफूले राजस्वमा गरेको योगदानलाई आम जनमानसकाबीच सार्वजनिक जानकारीमा ल्याउन जिम्मेवार व्यावसायिक ग्रुपका हैसियतमा चौधरी ग्रुपले प्रत्येक वर्ष पारदर्शिताका साथ यो विवरण प्रकाशित गर्ने गर्दछ,’ उनले भने । साथै, व्यावसायिक ग्रुपहरूबाट राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याइएको योगदानको वास्तविक तथ्य आम जनमानससमक्ष राख्न सरकारी स्तरबाटै व्यावसायिक ग्रुपहरूले तिरेको करको गणना गर्ने र सार्वजनिक गर्ने व्यवस्था मिलाउनका लागि पनि सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया