November 23, 2024, 9:29 pm
» अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु » इराकमा भएको हवाई आक्रमणमा पाँच जना आइएस लडाकुको मृत्यु » काठमाडौँमा आज तीन शव भेटिए » गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दिगो रुपमा हुन्छ : मन्त्री पाण्डे » चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…

स्पेनमा भारी वर्षा, धेरै क्षेत्र डुबानमा

कार्तिक १४, २०८१ मा प्रकाशित | ३२०दर्शक तीव्रखबर

भारी वर्षाका कारण युरोपेली देश स्पेनका धेरै क्षेत्र डुबानमा परेका छन् । भ्यालेन्सिया सहरमा अवस्था गम्भीर रहेको सञ्चार माध्यमहरुमा उल्लेख छ।

बाढीमा धेरै जना हताहत भएको भए पनि कतिजनाको मृत्यु भएको भने एकिन विवरण सार्वजनिक भइनसकेको जनाइएको छ।

पूर्वी प्रान्त अल्बासेटेमा छ जना हराइरहेका अधिकारीहरूले बताएका छन्। यहाँको जनसंख्या १००० भन्दा कम छ ।

राहत तथा उद्धार कार्य जारी रहेको र रातभर बाढी प्रभावितलाई बचाउने प्रयास जारी रहेको जनाइएको छ ।

सामाजिक सञ्जालमा बाढीसँग सम्बन्धित धेरै भिडियो शेयर भएका छन् । जसमा सडकमा सवारीसाधन पानीमा डुबेको देखिन्छ ।

बाढीमा फसेका सयौं मानिसहरूले रेडियो र टिभी स्टेशनहरूलाई मद्दतको लागि कल गरिरहेका छन्। कोही आफैं बाढीमा फसेका छन् त कोही आफन्तका लागि सहयोगको याचना गरिरहेका छन् ।

कतिपय क्षेत्रमा आकस्मिक सेवा समेत उपलब्ध छैन । स्थानीय अधिकारी मिलाग्रोस टोलानले स्पेनको सरकारी टेलिभिजनलाई बेपत्ता व्यक्तिहरूको खोजी गर्न ड्रोनको प्रयोग भइरहेको बताए।

स्पेनको मौसम एजेन्सीले भ्यालेन्सिया सहरमा दोस्रो उच्च सतर्कता जारी गरेको बताएको छ ।

भ्यालेन्सियामा सबै स्कूलहरू बुधबारसम्म बन्द छन् र खेलकुद कार्यक्रमहरू स्थगित गरिएको छ। सबै पार्क पनि बन्द गरिएको छ ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा बेपत्ता व्यक्ति र बाढीबाट भएको क्षतिको रिपोर्ट हेरिरहेका उल्लेख गरेका छन्।

सान्चेजले मानिसहरूलाई प्रशासनको सल्लाह पालना गर्न आग्रह गरेका छन्। साथै उनले अनावश्यक यात्रा नगर्न पनि आग्रह गरेका बीबीसी समाचारमा उल्लेख छ ।

प्रतिक्रिया