November 15, 2024, 2:17 am
» शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर » देशका अधिकांश भागमा आज मौसम सफा रहने » सातै प्रदेशमा फिस्टुला रोगको निःशुल्क उपचारको तयारी » झाँक्री प्रकाश भुजेललाई अनुसन्धान गर्न अदालतबाट पाँच दिन म्याद थप » Education Minister asks agencies to improve results of grade 11 and 12

वाणिज्य बैंकहरूको तीन महिनाको नाफा १६ अर्ब : १२ वटाको नाफा बढ्यो आठवटाको घट्यो

कार्तिक ८, २०८१ मा प्रकाशित | ६६०दर्शक तीव्रखबर

काठमाडौं,  । निक्षेप सङ्कलनको तुलनामा कर्जा विस्तार हुन नसक्दा बैंकहरूको खुद ब्याज आम्दानीमा राम्रो सुधार भएको छैन ।

तर, पनि चालू आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खुद मुनाफा बढेको छ । खासगरी ‘इम्पेरमेन्ट’ चार्जमा छुट्याउनुपर्ने रकम घटेका कारण बैंकहरूको नाफामा सुधार भएको देखिन्छ ।

२० वटा वाणिज्य बैंकहरूले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकहरूले १६ अर्ब २३ करोड १८ लाख ९२ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१ दशमलव ६४ प्रतिशत अर्थात् दुई अर्ब ८८ करोड ७५ लाख रुपैयाँले बढी हो । गतवर्ष असोजसम्म वाणिज्य बैंकहरूले १३ अर्ब ३४ करोड ३७ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।

यस वर्ष पहिलो त्रैमासमा सानिमा बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैंक र एनआईसी एसिया बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिकोे तुलनामा घटेको छ । बैंकहरूको नाफा बढेको छ ।

नबिल बैंक एक्लैले दुई अर्ब बढी नाफा कमाएको छ । त्यसपछि धेरै नाफा कमाउने बैंकहरूमा ग्लोबल आईएमई बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एभरेष्ट बैंक र एनएमबी बैंक छन् ।

यी बैंकहरूको नाफा एक अर्ब रुपैयाँभन्दा माथि छ । यीबाहेकका सानिमा, हिमालयन, माछापुच्छ्रे, लक्ष्मी सनराइज, नेपाल एसबीआई, स्टान्डर्ड चार्टर्डसहितका १२ वटा बैंकहरूको नाफा भने एक अर्ब रुपैयाँभन्दा कम छ ।

धेरै बैंकहरूको निष्क्रिय कर्जा (एनपीएल) पनि बढेको छ । नबिल बैंकले दुई अर्ब पाँच करोड ६५ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ भने यो बैंकको निष्क्रिय कर्जा एक दशमलव ४२ प्रतिशत छ ।

गत आर्थिक वर्षको सोही अवधिमा नबिलको नाफा एक अर्ब ४६ करोड ९३ लाख रुपैयाँ र निष्क्रिय कर्जा एक दशमलव ५८ प्रतिशत थियो । ग्लोबल आईएमई बैंकले यस वर्ष पहिलो त्रैमासमा एक अर्ब ५१ करोड २१ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भनेन चार दशमलव ६७ प्रतिशत निष्क्रिय कर्जा छ ।

गत आर्थिक वर्षको सोही अवधिमा यो बैंकको नाफा एक अर्ब २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ र निष्क्रिय कर्जा चार दशमलव ३८ प्रतिशत थियो ।

प्राइम कमर्सियल बैंकले एक अर्ब २८ करोड ८३ लाख १८ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा चार दशमलव ८६ प्रतिशत निष्क्रिय कर्जा छ ।

गत आर्थिक वर्षको सोही अवधिमा प्राइम बैंकको निष्क्रिय कर्जा तीन दशमलव ६७ प्रतिशत र नाफा एक अर्ब ६४ करोड ४९ लाख ८३ हजार रुपैयाँ थियो ।

प्रभु बैंकले एक अर्ब चार करोड छ लाख ५७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भने निष्क्रिय कर्जा चार दशमलव ९४ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा प्रभुको नाफा एक अर्ब तीन करोड ४२ लाख १४ हजार रुपैयाँ र निष्क्रिय कर्जा तीन दशमलव ९७ प्रतिशत थियो ।

कुमारी बैंकले एक अर्ब सात करोड ८१ लाख ७७ हजार रुपैयाँ नाफा कमाउँदा चार दशमलव ९६ प्रतिशत निष्क्रिय कर्जा छ । गत आर्थिक वर्षको सोही अवधिमा कुमारीको यस्तो नाफा २६ करोड ३९ लाख ३५ हजार रुपैयाँ थियो भने निष्क्रिय कर्जा चार दशमलव ८९ प्रतिशत थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक अर्ब ४६ करोड ४० लाख ७५ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा एक दशमलव ९९ प्रतिशत कर्जा खराब छ ।

गत आर्थिक वर्षको सोही अवधिमा यो बैंकले एक अर्ब ५२ करोड २२ लाख ९९ हजार रुपैयाँ खुद मुनाफा कमाएकोे थियो भने निष्क्रिय कर्जा एक दशमलव ८६ प्रतिशत थियो । एभरेष्ट बैंकले एक अर्ब १२ करोड ७७ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाउँदा शून्य दशमलव ७७ प्रतिशत निष्क्रिय कर्जा छ ।

गत आर्थिक वर्षको सोही अवधिमा एभरेष्टको नाफा ७८ करोड सात लाख ५९ हजार रुपैयाँ थियो भने निष्क्रिय कर्जा शून्य दशमलव ९० प्रतिशत थियो ।

एनएमबी बैंकले पनि पछिल्लो अवधिमा एक अर्ब १४ करोड ५६ लाख तीन हजार रुपैयाँ खुद मुनाफा कमाउँदा तीन दशमलव ६३ प्रतिशत निष्क्रिय कर्जा छ ।

गत आर्थिक वर्षको सोही अवधिमा एनएमबीले ९६ करोड ३२ लाख नौ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा दुई दशमलव ८४ प्रतिशत निष्क्रिय कर्जा देखिएको थियो ।

सानिमा, हिमालयन, माछापुच्छ्रे। लक्ष्मी सनराइज, नेपाल एसबीआई, स्टान्डर्ड चार्टर्ड, सिद्धार्थ, कृषि विकास, सिटिजन्स, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकहरूले ११ करोड देखि ८६ करोड रुपैयाँसम्म खुद मुनाफा कमाएको देखिन्छ । यी बैंकहरूमा निष्क्रिय कर्जा पनि शून्य दशमलव ७७ देखि पाँच दशमलव ४१ प्रतिशतसम्म छ । (आर्थिक दैनिकबाट)

 

प्रतिक्रिया