नेपाल एक्स टु सेक्युरीटी सर्भिसको ठगी, पिडित सुरक्षागार्डको यस्तो रोदन

- February 26, 2018 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-पवित्र शर्मा

काठमाडौं । नेपाल एक्स टु सेक्युरीटी सर्भिसमा आवद्ध आठ सय छपन्न सुरक्षागार्डहरुले आर्थिक शोषण भएको गुनासो गरेका छन् । उनीहरुले सुरक्षागार्ड उपलब्ध गराए वाफत कम्पनीले विभिन्न संघसंस्थाहरुबाट धेरै लिएपनि आफूहरुलाई थोरै दिने गरेको दुखेसो पोखेका छन् । यसरी आर्थिक शोषणमा परेको गुनासो गर्नेमा विभिन्न बैंक तथा वित्तिय संस्थामा कार्यरत सुरक्षागार्ड रहेका छन् । कम्पनीले १२ घण्टा काम गर्ने एक सुरक्षागार्डको मासिक तलब कम्तीमा पनि १८ हजारसम्म बुझेर आफूहरुलाई ७ हजार देखि ९ हजार सात सय सम्ममा भुल्याएको नाम गोप्य सुरक्षागार्डले बताए।

उनले बैंक तथा वित्तिय संस्था र कम्पनीले समेत आफूहरुको वास्तविक तलब उल्लेख नगर्ने गरेको बताए । ‘हामीहरु कम्पनीको ठेकेदारी प्रथाले साह्रै अन्यायमा परेका छौं’ उनले भने–‘हाम्रो वास्तविक तलब कति हो भन्ने नै थाहा छैन ।’ उक्त सेक्युरिटी कम्पनीहरुले बैङ्कसंग ठेक्कापट्टा गरी गार्ड पठाउने गरेका छन् । सुरक्षागार्डहरुलाई कम्पनीले तलब दिने गरेको छ । १२ घण्टा डयूटी गर्ने आफूलाई ७ हजार मात्रै तलब दिने गरेको नाम उल्लेख नगर्ने शर्तमा अर्का एक सुरक्षागार्डले तीव्रखबर प्रतिनिधीलाई बताए।

‘हाम्रो तलब दैनिक ज्यालादारी मजदुरको भन्दा पनि कम छ’ उनले भने–‘बैङ्कले त एउटा तलब दिएको सुनिन्छ । तर, कम्पनीले थोरै दिएर ठगिरहेका छन् ।’ कम्पनीसंग ठेक्कापट्टा गरेर गार्ड राख्नु भन्दा बैङ्कले आफ्नै तवरले करारमा सुरक्षागार्ड राख्दा आफूहरु मर्कामा नपर्ने उनले बताए । कम्पनीले आठ घण्टा काम गर्ने गार्डको कम्तीमा १२ हजार र १२ घण्टा काम गर्नेको १७ हजार पाँच सयदेखि २२ हजारसम्म मासिक तलब सो सेक्युरिटीले बुझ्ने गरेको जिल्ला सेक्युरिटी संगठनका एक सदस्यको दाबी छ ।

 

‘एक हजारसम्म नाफा लिए पनि हामीलाई कुनै गुनासो छैन’ उनले भने–‘तर, चार हजारसम्म कमिसन लिनु हामीमाथि ठूलो अन्याय हो।’ एक कर्मचारीको गुनासो छ । ती कर्मचारी भन्छन् –आफू जानी–जानी न्यून ज्यालामा काम गर्न बाध्य छु । नेपाल एक्स टु सेक्युरिटी सर्भिस प्रा। लि।का प्रवन्ध निर्देशक पूर्वमेजर पदमबहादुर खत्रीले कम्पनीमा कार्यरत सुरक्षा गार्डलाई दिइने तलब बारे अरुलाई बताउन जरुरी नरहेको बताए । सो सेक्युरिटी कम्पनी तथा बैङ्कहरुले मोटो कमिसनका भरमा ठेक्कापट्टा गर्ने गरेको एक बैंकका शाखा प्रवन्धकले तीव्रखबर प्रतिनिधीलाई खुलासा गरे ।

सो कम्पनीमा कार्यरत सुरक्षा गार्डहरुले बिरामी, सरकारी बिदा, घर बिदाको मात्र होइन सन्चयकोष तथा उपदानको समेत व्यवस्था नभएको उल्लेख गरे । ठेकेदारी प्रथाका कारण बैङ्कबाट आफूहरुलाई कुनै किसिमको सुविधा नमिल्ने गरेको उनीहरुको गुनासो छ । यसै विषयमा प्रतिकृयाका लागि प्रवन्ध निर्देशक खत्रीलाई जिज्ञासा राख्दा मेरो कम्पनीको बारेमा जे पायो त्यहि लेख्नु भयो भने तपाईहरुलाई गाहो हुन्छ । जे पनि हुनसक्छ म अदालतसम्म पुग्न सक्छु भन्दै धम्कीपूर्ण भाषामा बोलेका छन् । उनीसंग मागिएको आधिकारीक कम्पनिको विवरण, कर्मचारीलाई दिइएको सेवा सुविधाको विवरण उपलब्ध गराउन नसकेपछि धम्कीपूर्ण भाषामा थर्काएका हुन् ।

               बैंकको मिलेमतो

यसैविच एनआईसी एसिया बैंकले राष्ट्र बैंकको नीति बिपरित सुरक्षागार्डको ठेक्का दिइएको फेला परेको छ । नेपाल एक्स टु सेक्युरीटी सर्भिसलाई राष्ट्र बैंकको नीति विपरित सुरक्षागार्डको ठेक्का दिँदै आएको आरोप बैंकका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा खुलासा गरे । उक्त बैंकको सेक्युरिटी अफिसर पदमा जागिरे रहेका जयबहादुर खत्रीको मिलेमतोमा उक्त बैंकले खत्रीका बुबा पदमबहादुर खत्री प्रवन्ध निर्देशक रहेको नेपाल एक्स टु सेक्युरीटी सर्भिसलाई सुरक्षागार्डको ठेक्का दिइएको हो यसमा केही बैंकका कर्मचारीको समेत मिलेमतो रहेको समाचारस्रोतले उल्लेख गरेको छ ।

एकाघरका परिवारका कुनैपनि सदस्य जागिरे वा संचालक रहेको बैंकमा सोही परिवारका अर्का सदस्यले संचालन गरेको सेक्युरिटी कम्पनीबाट सुुरक्षागार्ड राख्न नपाउने कानुनी प्रावधान रहेको बताइएको छ । यसरी खुलेआम मिलेमतोमा सो बैंकले उक्त सेक्युरिटी सर्भिसलाई सुरक्षागार्डको ठेक्का दिनुलाई अर्थपूर्ण रुपमा लिन्छन् बैंकका अन्य कर्मचारीहरु । यसै विषयमा सो बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाललाई प्रतिकृयाको लागि सम्पर्क गर्दा सम्पर्क हुन सकेन् । सो कम्पनीले कुन कुन बैंकका को कसलाई कति कमिसन दिएर सम्झौता गरेका छन्, यी र यस्ता थप खबर तीव्रखबरले खोजी जारी राखेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!