October 18, 2024, 8:30 am
» पर्यटकको पर्खाइमा भोजपुरको छाँगे झरना » सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० डलरभन्दा माथि » दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु » Gold price reaches all-time high, trading at Rs 164,400 per tola » सलमान खानलाई फेरि आयो ज्यान मार्ने धम्की

यसवर्ष च्याङग्राको मूल्य घट्यो

अशोज १७, २०८१ मा प्रकाशित | ६४०दर्शक तीव्रखबर

म्याग्दी । दसैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक सस्तो भएको छ ।

च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग्राको मूल्य महँगो हुँदा व्यापार नभएपछि यस पटक कृषकहरूले नै बिक्री मूल्य घटाएका हुन् । गत वर्ष खोरमै प्रतिगोटा ४० हजार भन्दा बढी मूल्य तिरेर च्याङग्रा खरिद गरेका व्यापारी टसी छेवाङ गुरुङले यसपालि ३० देखि ३३ हजारमा किसानबाट खरिद गरेको बताए। “ठाउँ अनुसार पाँच देखि १० हजार कम मूल्यमा च्याङग्रा खरिद भएकाले बिक्री गर्ने मूल्य पनि घटाएका हौ,” उनले भने “गत वर्ष काठमाडौँ पोखरामा प्रतिगोटा रु। ५५ हजारसम्म परेको च्याङग्राको मूल्य यसपालि रु। ४५ हजार भन्दा कम हुन्छ ।” गत वर्ष बजारमा ल्याएको च्याङग्रा महँगी हुँदा बिक्री नभएर व्यापारीले नोक्सान व्यहोरेको गुनासो गरेका थिए ।

छेवाङ सहित डोल्पाका चार जना व्यापारीले मुस्ताङ हुँदै पाँच दिन हिँडेर दुई सय ५० च्याङग्रा बिक्री गर्न पोखरा लैजानका लागि बुधबार म्याग्दीको घोडेपानी पुगेका छन् । मुस्ताङका साथै डोल्पा र मुगुबाट ल्याइएका च्याङग्राहरु दसैमा बिक्रीका लागि म्याग्दी हुँदै देशका विभिन्न सहर बजारमा पुग्न थालेका छन् ।

म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँ लगायत ठाउँबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारीहरू मुस्ताङ पुगेर फर्किन थालेका हुन् । जडिवुडीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थ मानिन्छ ।

दसैँ तिहारमा हिमाली च्याङग्राको मासुको खपत बढी हुने गर्छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख लालमणि अर्यालका अनुसार बुधबार सम्म सात हजार च्याङग्रा जोमसोम देखि म्याग्दीतर्फ झरेका छन् ।

यस वर्ष दसैँका लागि मुस्ताङबाट दश हजार च्याङग्रा बिक्री हुने अनुमान गरिएको छ । मुस्ताङबाट म्याग्दीको बेनीसम्म दुई देखि तीन दिन हिँडाएर ल्याएका च्याङग्रा बेनीदेखि ट्रक र गाडीमा राखेर देशका विभिन्न ठाउँमा लैजाने गरिन्छ ।

तीन वर्ष पुरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङग्रा पालिएका छन् । उपल्लो मुस्ताङका कृषकको मुख्य आयस्रोत च्याङग्रापालन भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका-४ याराका कृषक डिण्डुप गुरुङले बताउनुभयो । विसं २०८० मा सात हजार, २०७९ मा छ हजार आठ सय, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुस्ताङबाट भेडाच्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्यांक छ ।

प्रतिक्रिया