पाल्पा । प्राकृतिक छटाले भरिपूर्ण ऐतिहासिक, धार्मिक घुमारीघाटलाई धार्मिक क्षेत्रको रुपमा विकसित गरिने भएको छ ।
कालीगण्डकी नदीको तटमा रहेको घुमारीघाटको दृश्य नै पूर्ण कुम्भ आकारको रहेको छ । ब्रह्मानारायण भगवान्ले हिमालय पर्वत उठाएपछि कालीगण्डकी नदीको उत्पत्ति हुन पुगेको पौराणिक इतिहास रहेको छ । त्यसैबखत कालीगण्डकी नदी उत्तरबाट दक्षिण हुँदै पूर्व बग्दै जाँदा यस स्थानमा आइपुग्दा कामधेनु गाईले बाच्छा जन्माइ रहेकाले उक्त बाच्छालाई बचाउन खोज्दा नदीको आकार कुम्भ भएकाले घुमारी नामाकरण हुन पुगेको भन्ने धार्मिक विश्वास रही आएको छ ।
अर्कोतर्फ नदी बग्ने क्रममा घुमाउरो बहावमा बगेकाले घुमारी नाम रहेको पनि बताइन्छ । यस स्थानमा कामधेनुगाईको गोपीठ रहेको, रात्रिकालीन समयमा शङ्ख र गाईको आवाज आउने साथै यस ठाउँ वरिपरि शालिग्रामको वासस्थान रहेकाले यसको धार्मिक एवम् सांस्कृतिक मान्यता रहेको कृष्णगण्डकी क्षेत्र विकास समितिका अध्यक्ष कुलराज चालिसेले बताए ।
प्रशस्त धार्मिक मूल्य र मान्यता बोकेको, प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस स्थललाई धार्मिक गन्तव्यका रुपमा विकास र विस्तार गर्न थालिएको छ । २०७१ सालदेखि दशहरा पर्वको अवसरपारि गङ्गा दशहरा महोत्सव पनि गरिँदै आएको स्थानीय वीरबहादुर बिसीले बताए ।
यहाँका स्थानीयले यस स्थानमा यज्ञकुण्ड, अतिथिगृह, कामधेनु मन्दिर जीर्णोद्वार, नागको मन्दिर, मूर्ति र मञ्च समेत निर्माण गरेका छन् । नेपाल सरकार, शान्ति मन्त्रालयबाट शान्तिका लागि विकास कार्यक्रममार्फत रु १८ लाखको सहयोगमा काम अगाडि बढिरहेको स्थानीय कृष्णप्रसाद लामिछानेले बताए ।
कालीगण्डकी नदी तटमा रहेका यस्ता धेरै धार्मिक तथा सांस्कृतिक महत्व बोकेका स्थल छन् । यस्ता पवित्र, ऐतिहासिक, धार्मिक स्थानको विकास, विस्तार र प्रचारप्रसार गर्नसके यस क्षेत्रको मात्र नभै राष्ट्रकै धार्मिक एवम् पर्यटकीय विकासमा टेवा छ । रासस
यस बिषयमा तपाइको प्रतिक्रिया...!