धनजित हत्याका तीन आरोपी पक्राउ

- April 15, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

खोटाङ,  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित निभारेका ३१ वर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा तीन युवा पक्राउ परेका छन् ।

यही वैशाख १ गते राति करिब ८ बजे स्थानीय भीमबहादुर बस्नेतको मकैबारीमा छुरा प्रहारगरी धनजितको हत्या गरेर फरार भएको आरोपमा सोही ठाउँका २२ वर्षीय विकास राई, १८ वर्षीय आशन राई र २८ वर्षीय गणेश राईलाई प्रहरीले पक्राउ गरेको हो ।

हत्या गरी फरार उनीहरुलाई सोही नगरपालिकाको वडा नं. १० पाथेकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभएको छ ।

“धनजितको हत्यापछि फरार भएका उनीहरु तीनैजनालाई पाथेकास्थित भुसुन्दाका धनपति राईको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ । उनीहरु विरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्धा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ”, उहाँले भन्नुभयो ।

उनीहरुले धनजितको हत्या के कारणले गरेका हुन् भन्ने अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनीहरु तीनैजनाले धनजितको हत्या आफूहरुले नै गरेको स्वीकार गरिसकेका छन् ।

धनजितको हत्यापछि भागेर भुसुन्दा पुगेका उनीहरु मावली घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रनाउ खड्काले जानकारी दिनुभयो । घटना भएको तीन दिनपछि पक्राउ परेका तीनैजनालाई थप अनुसन्धनाका लागि जिल्ला अदालत खोटाङमा हाजिर गराएर म्याद थप गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।

साँझको समयमा भएको घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक तथा प्रहरीचौकी जालपा र प्रहरीचौकी तालखर्कबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरीको टोली घटनास्थलमा खटिएका थिए ।

धनजितको हत्यापछि राति नै भागेका उनीहरु तीनैजनालाई एउटै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मादक पदार्थ सेवन गरेका तीन युवाले भीमबहादुरलाई घरैमा गएर कुटपिट गर्न थालेपछि गुहार दिन जाँदा धनजितमाथि आक्रमण भएको स्थानीय बासिन्दाले बताएका छन् ।

छुरा प्रहारबाट घाइते बनेका धनजितले आफू घाइते भएपछि घटनास्थलबाट साहिला भाइलाई साँझ साढे सात बजे फोन सम्पर्क गरेको बताइएको छ ।

भाइसँगको फोन सम्पर्कपछि खोज्दै जाँदा धनजितलाई मकैबारीमा मृत फेला पारिएको स्थानीय उमेश राईले जानकारी दिनुभयो । मृतक धनजितको शव सोही राति जिल्ला अस्पताल खोटाङमा ल्याएर आइतबार परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

मृतक धनजित र भीमबहादुर गाउँमा सँगै मिलेर मिस्तिरी (घर बनाउने काम) गर्दै आउनुभएको थियो । तीन युवाको आक्रमणमा परेका भीमबहादुर र उहाँकी श्रीमती अप्सरा भनिने प्रेमकुमारी पौडेल (बस्नेत) सामान्य घाइते हुनुभएको छ ।

विकास र आशन गत वैशाख ३ गते अभद्र व्यवहार मुद्दामा पक्राउ परेर तारिख छुटेका थिए । अर्का आरोपित गणेश चोरी मुद्धामा कारागार बसेर छुटेका थिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!