भृकुटी र (व)स्रोङ(व)त्सन(स)गमपो कूटनीतिक वैवाहिक सम्बन्ध

- April 7, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-शैलेन्द्रबहादुर थापा

अंशुवर्माको शासन काल सन् ६२१ सम्म रहेको इतिहास साक्षी छ । यसरी अंशुवर्मा आफुले शासन गरिरहेको समयमा उहाँको मृत्यु भएको तथ्य पनि इतिहासमा सुरक्षित छ । सन् ६२४ मा जन्मिनु भएकी भृकुटी, सन् ६२१ मा मृत्यु भएको अंशुवर्माकी छोरी होईनन् भन्ने निष्कर्ष स्थापित छ । राजा उदयदेवका छोरा नरेन्द्रदेव, नरेन्द्रदेवकी बहिनी भृकुटी, भृकुटीका वुवा उदयदेव एक सोझा प्रवृत्तिका उदार राजा कहलिएका छन् । ऊनै राजा उदयदेवले अंशुवर्माको शेषपछि आफ्नी छोरी भृकुटीको विवाह उत्तरी सँधियार भोट तिब्बतका तत्कालीन राजा (व)स्रोङ(व)त्सन(स)गमपोसँग गरिदिएको प्रमाणिक इतिहास जीवित छ । भृकुटी विवाह गरेर भोट गएको तथ्य तिब्बती वंशावलीमा उल्लेख छ । वास्तवमा यो राजकीय कूटनीतिक विवाह हो । पुनम राज्यलक्ष्मी राणाद्वारा लिखित ‘रोल अफ भृकुटी (भेल्सा ठ्रित्सुन) ईन स्प्रेड अफ बुद्धिजम’ शीर्षकको आलेखमा भृकुटीले राजा (व)स्रोङ(व)त्सन(स)गमपोसँग विवाह गर्नुभएको, उहाँले तिब्बतभरि बुद्धधर्म फैलाउनमा अतुलनीय योगदान दिनु भएको तथ्य पेश गर्नु भएको छ । जगदीशचन्द्र रेग्मीद्वारा लिखित कृति ‘प्राचीन नेपालको राजनीतिक इतिहास’ मा उदयदेवले तिब्बती राजा स्रोंग–चन् गम्पोलाई छोरीको बिहे गरिदिएर उतातिर सम्बन्ध बनाएकोले नै उनका छोरा नरेन्द्रदेवले तिब्बतमा राजकीय सहायता पाउन सकेको खुलासा गर्नु भएको छ । तिब्बती राजा स्रोंग–चन् गम्पो, यदी नरेन्द्रदेवका सहोदर पारिवारिक नातेदार नभएका भए पछिल्लाले त्यसरी सहयोग पाउन सक्ने सम्भावना व्यक्त्याउन सकिँदैन भनेर जगदीशचन्द्र रेग्मीले स्पष्ट पार्नु भएको छ । त्यसैको परिणामस्वरुपः चीनले नेपाललाई सन् ६३० मा एक स्वतन्त्र राज्यको मान्यता दिई भृकुटीका दाजु नरेन्द्रदेव र तिब्बती राजा (व)स्रोङ(व)त्सन(स) बीच ‘पहिलो प्रतिरक्षा सैनिक सहयोग तथा व्यापार–पारवहन सन्धि’ सम्पन्न भएको राजनीतिक इतिहास छ । यो सन्धिले तिब्बतको दक्षिणपट्टिको सीमालाई नेपालले सुरक्षित गर्नुपर्ने व्यवस्थासाथ नरेन्द्रदेवलाई तिब्बती सेनाको ‘सुवेदार’ पद दिएको कूटनीतिक इतिहास छ । नेपाल–भोट चीनको प्रतिरक्षा प्रणालीको इतिहासमा यो साधारण सम्बन्ध होईन । यो एक असाधारण कूटनीतिक सम्बन्ध हो । यसरी नरेन्द्रदेव र भृकुटी दाजु बहिनीको कारणबाट नेपाल–भोट चीन ऐतिहासिक सम्बन्धको जरा कसिलो बनेको देखिन्छ । यसको पृष्ठभूमि भृकुटी र (व)स्रोङ(व)त्सन(स)गमपो बिच सम्पन्न भएको कूटनीतिक वैवाहिक सम्बन्ध नै हो ।
तिब्बती ग्रन्थ ‘मणि काबुम’ का अनुसार तिब्बतका तत्कालीन तान्त्रिक राजा (व)स्रोङ(व)त्सन(स)गमपोले गर्नुभएको एक ध्यानमा एउटा प्रकाश नेपालमा, अर्को प्रकाश चीनमा गएको देख्नुभएको उल्लेख छ । नेपालका राजा ‘होस्यार गोचा’ वा तिब्बती भाषामा ‘प्रकाश’ अर्थात् ‘उदयदेव’ को एक छोरी ‘ल्हाच्≈िग ठ्रित्सुन’ १६ वर्षकी थिइन् भनिएको छ । तिब्बती भाषा अनुवादक वुरिङ चेनका अनुसार तिब्बतको भाषामा ‘ल्हाच’ भनेको ‘देवी’, ‘≈िग’ भनेको ‘एक’ हो । अर्थात् ‘ल्हाच्≈िग ठ्रित्सुन’ भनेको ‘रातो र सेतो रुप’ हो । यसरी एक जना देवी सर्वगुणसम्पन्न छिन् भनी भृकुटीलाई जनाइएको उल्लेख गर्नुभएको छ । ‘थाङ थाइचाङ् लि शिमिन’ अर्थात् चिनियाँ उच्चारणमा ‘थाइ चाङ्’ अथवा नेपाली उच्चारणमा ‘ताइजोङ’ की छोरी ‘वेङचेन कोङ्चो’ पनि १६ वर्षकी छिन् भनिएको छ । यसरी हेर्दा विभिन्न अन्तरदेशीय अनुसन्धानकर्ताहरुको धारणा के पाइन्छ भने वास्तवमा तिब्बती राजा (व)स्रोङ(व)त्सन(स)गमपोले सपना देख्नुभएको समय इ.सं. ६३२ ताका वहाँ आफु १६औं वर्षको जैविक उमेर (वाइलोजिकल वर्थ्) को चरणमा हुनुहुन्थ्यो । तर विभिन्न अध्ययनले के देखाएका छन् भने चिनियाँ (तिब्बती) क्यालेण्डर अनुसार तिब्बती राजा (व)स्रोङ(व)त्सन(स)गमपो आफ्नी आमाको गर्भमा आइसकेपछि नै वहाँको उमेर १ वर्ष गणना गर्नुपर्ने संस्कार भएकाले त्यसलाई नेपाली पक्षले आधार मान्ने हो भने इ.सं ६३२ ताका (व)स्रोङ(व)त्सन(स)गमपोको जैविक उमेर १६ वर्षको हुन आउने देखिन्छ । तर त्यो बेला न त नेपाली राजकुमारी भृकुटी १६ वर्षकी हुनुहुन्थ्यो न त चिनियाँ राजकुमारी वेङचेन कोङ्चो १६ वर्षकी हुनुहुन्थ्यो । त्यो बेला भृकुटी ९ वर्षको जैविक उमेरको चरणमा हुनुहुन्थ्यो । यसरी चीन (तिब्बत) को क्यालेण्डरमा शिशु (बच्चा) आमाको गर्भमा आएको शुरु समयदेखि गर्भाशयमा रही पैदा नभए सम्मको अन्तिम समयसम्म १ वर्ष मानिने संस्कार छ । यदी यो संस्कारलाई नेपालीले फेरि पनि आधार मान्ने हो भने सन् ६२४ मा जन्मिनु भएकी भृकुटीको जैविक उमेरको अगाडि, (व)स्रोङ(व)त्सन(स)गमपोले ध्यान गर्नु भएको समय इ.सं. ६३२ मा भृकुटी देवी ८ वर्ष पुरा भइ ९ वर्षको उमेरमा टेक्नु भएको मान्नु पर्ने हुन आउँछ । यसरी तिब्बती राजा (व)स्रोङ(व)त्सन(स)गमपो तन्त्र विद्यामा पारङ्गत हुनु भएकाले नेपाली राजकुमारीसँग विवाह गर्ने निर्णय बारे वहाँ आफैले साइत् जुराउनु भएको कतिपय तिब्बती स्रोतहरुबाट थाहा हुन आएको छ ।

(व)स्रोङ(व)त्सन(स) ले सन् ६३२ मा जंगल क्षेत्रमा एउटा किल्ला बनाइ नदी मार्गहरु सफा गर्न लगाइ गुम्बाहरु निर्माण गराए । यसरी ल्हासाको आधारशीला खडा गरी स्थापना गरेको एउटा शक्तिशाली तिब्बत (ट्युवो) अधिराज्य भृकुटीसँग विवाह गर्नुभन्दा करीब १ वर्षअगाडि पूर्वसन्ध्याकालमा सम्पन्न गरेको बुझिन्छ । यस लगत्तै उनले आफ्ना मन्त्रीहरुलाई लमी दूतका रुपमा नेपाली राजकुमारी भृकुटीको हात माग्न नेपालमा पठाउने निर्णय गरे । सो अनुरुप (व)स्रोङ(व)त्सन(स) १६ वर्षको उमेर, भृकुटीको ९ वर्षको उमेरछँदा सन् ६३३ मा सो विवाह सम्पन्न भएको विभिन्न घटनाक्रमहरु, नेपाली तथा तिब्बती स्रोतहरुबाट खुलेका छन् । यसै सिलसिलामा ‘मणि काबुम क’ अनुसार तिब्बती विवाह प्रतिनिधिमण्डल भृकुटीको हात मागी तिब्बत लैजान नेपाल आएको समय सन् ६३२ अटम महिनाको ८ गते अर्थात् शरद ऋतु (आश्विन÷कात्र्तिक) ताका पर्न आउँछ । (व)स्रोङ(व)त्सन(स)का मन्त्रीद्वय गार (घार) तोङत्सेन युलसुङ, थोनमी साम्भोटा लगायतका विवाह प्रतिनिधिमण्डल वि.सं. ६८९ मंसिरको तेस्रो (डिसेम्बर ६३२ को अन्तिम) हप्तातिर केरुङ–रसुवागढीहुंदै नेपाल आइपुगेको अनुमान गर्न सकिन्छ । यता, कतिपय स्रोतहरुले उदयदेवलाई सन् ६२३, ६२९, ६३१÷३२ ताकाको समयमा राजगद्दीसीन राजाको रुपमा रहेका विभिन्न मितिहरु पनि उल्लेख गरेको पाइन्छ । उता, तिब्बती जनताले आफ्नो राजाद्वारा नेपाली राजकुमारी भृकुटीसँग विवाह गरिएको वर्ष र चिनियाँ सम्राटकी छोरीसँग पनि विवाहको लागि पहिलो प्रस्ताव पठाएकै वर्ष सन् ६३३ मा ल्हासालाई राजधानी शहरको रुपमा घोषणा गरी अधिकार प्राप्त गरेको तिब्बती स्रोतहरुबाट बुझिन्छ । सुप्रसिद्ध विद्वान तिब्बती लेखक लिआओ तोङफानले आफ्नो कृति ‘दि एनेक्डोट्स एबाउट ल्हासा’ मा टुबो त्सेनपो सोङत्सेन ग्याम्पोले सन् ६३३ मा नेपाली राजकुमारी भृकुटीदेवीसँग विवाह गर्नुभएको तथ्य उल्लेख गर्नु भएको छ । अतः तिब्बतमा दुलाहा (व)स्रोङ(व)त्सन(स)गमपोसँग नेपाली दुलही भृकुटीको पहिलो वैवाहिक भेट सन् ६३३ मा भएको प्रायः अधिकांश स्रोतहरुको मतैक्य पाइन्छ । यसरी नेपाल–भोट चीन सम्बन्धको राजनीतिक इतिहासमा सन् ६३३ लाई आधार वर्षको रुपमा लिन सकिन्छ । मीनबहादुर शाक्यका अनुसार सन् ६३३ मा तिब्बती राजा (व)स्रोङ(व)त्सन(स)गमपोले नेपाली राजकुमारी भृकुटीसँग विवाह गर्नु भएको र सन् ६४१ मा चिनियाँ राजकुमारी वेङचेन कोङचोसँग विवाह गर्नु भएको तथ्य पुष्टि गर्नु भएको छ । तिब्बती आचार्य कृति टुल्कु लोब्शाङ तेन्जिनले (व)स्रोङ(व)त्सन(स)गमपोको विवाह सन् ६३२÷३३ ताका ‘≈वे स्यार गोचा’ की छोरी भृकुटीसँग भएको उल्लेख गर्नु भएको छ ।

भृकुटीका लमी काजी थोनमी साम्भोटा यसअघि पनि केरुङकै बाटो प्रयोग गरी नेपाल आइसक्नु भएको थियो । लेखक मुकुन्द कार्कीद्वारा लिखित पुस्तक ‘नेपाल–चीन सम्बन्ध (सी चिनफिङको नेपाल नीतिसहित)’ कृतिका अनुसार एक जना चिनियाँ विद्वान थोन मीको नेतृत्वमा एक बौद्धमण्डल सन् ५८४ तिर बौद्ध ज्ञानको अध्ययन अनुसन्धानका लागि तत्कालीन नेपालको राजधानी यूपग्राम (वर्तमान पाटन सहर) आइपुगेको उल्लेख छ । सत्यमोहन जोशीद्वारा लिखित कृति ‘कलाकार अरनिको’ मा सिल्भाँ लेभीले लेख्नु भएको तथ्यलाई उधृत गर्नुहुँदै वहाँहरु केरुङ (किढोङ÷किरोङ) को बाटो भएर नेपाल आएको लेभीको दाबी उपर सहमत रहेको पाइन्छ । जसअनुसार किरोङ र भेनमको बाटो गरी त्रिशुलीपट्टिका घाँटीबाट बाटो पहिल्याउँदै नेपाली राजकुमारी भृकुटीलाई लिन आउने लमी काजी थोनमी साम्भोटा नै थिए । यसै बेलादेखि काठमाण्डौ उपत्यकाबाट पश्चिमपट्टि त्रिशूली (किरोङतिरको बाटो) र पूर्वपट्टि सुनकोशीको सिरान (कुतीतिरको बाटो) मा रहेका हिमाच्छादित भञ्ज्याङहरुमा नयाँ बाटो खुले । त्यसकारण आधुनिक समयमा आएर यी क्षेत्रहरुलाई ‘मध्य हिमाच्छादित भृकुटी पर्यटन परिपथ (भृकुटी सर्किट)’ को रुपमा विकास गर्न सकिने सम्भावना पहिल्याउँदै भृकुटी स्मृति प्रतिष्ठानले गृहकार्य गर्ने सोंच बनाइरहेको छ । केरुङ—रसुवागढीको बाटो भएर भृकुटीलाई लिन आउनु भएका विद्वान तिब्बती मन्त्री थोनमी साम्भोटा यस अघि जुन बाटो भएर नेपाल आउनु भएको थियो, सोही बाटो भएर भृकुटीलाई तिब्बत लिएर जानु भएको तथ्यमा प्रायः अधिकांश अनुसन्धानकर्ताहरु सहमत देखिएका छन् । यसको अर्थ भृकुटीलाई नेपालको खोपासीबाट विवाह गरेर लगेको जन्ती मार्ग केरुङ हो, जहाँबाट नेपाल—चीन विद्युतीय रेलमार्ग सेवा सञ्चालन हुन गइरहेको छ । केरुङमा अहिले पनि गुरुफुग गुफा छ, जहाँ बेहुली भृकुटीलाई ल्हासा लैजानेक्रममा राखिएको थियो । त्यसपछि नेपाली सेनाले बेहुली राजकुमारी भृकुटीलाई त्यो गुरुफु गुफामा अन्तिम सलामी दिएर ल्हासातर्फको यात्रा सवार गराइएको थियो । केरुङमा आज भोलि यसलाई ग्येफु÷ग्येफुग भनिन्छ । तिब्बती भाषामा ‘ग्ये’ को अर्थ छुटेको वा बिदाइ गरेको हुन्छ । ‘फु÷फुग’ को अर्थ गुफा हुन्छ । यसरी बेहुली भृकुटीलाई बिदाइ गरिएको प्राचीन ऐतिहासिक गुफा भएकाले त्यो गाउँमा रहेको गुफालाई आज भोलि पनि ‘बिदाइ गुफा’ भनिन्छ । यो बिदाइ गुफाको चर्चा राजा (व)स्रोङ(व)त्सन(स)गमपोले आफ्नै हातले लेख्नु भएको विश्वास गरिएको तिब्बती ग्रन्थ ‘मणि काबुम भोलुम क’ का पेचाहरुमा उल्लेख गरेको पाइन्छ । यो विषयलाई यसै पंक्तिकार शोधकर्ताले नेपाली भाषामा अनुवाद गर्न लगाएर लेखिएको एक शोध कृति ‘भृकुटी (भेल्सा ल्हाच्ह्गि ठ्रित्सुन) ः एक अध्ययन’ मार्फत नेपालमा पहिलो पटक सार्वजनिक गर्ने सौभाग्य मिलेको हो ।

काभ्रे (कुर्पासी) खोपासी निवासी विद्वान विश्व उलकका अनुसार भृकुटीको विवाहका लागि ल्हासाबाट सम्राट स्रोङत्सन गम्पो आएका थिएनन् । भृकुटीलाई लिन सम्राट स्रोङत्सन गम्पोका भारदार मात्र आएका र उनको बिदाइ कुर्पासीबाट भएको थियो भन्ने तथ्यमा प्रायः अधिकांश सम्बद्ध स्रोतहरु सहमत छन् । कुर्पासीका कलाकारहरुले सुनचाँदी, तामादिका धातुहरु तथा काठ, बाँस, निगालो र कपडामा विभिन्न हिन्दू र बौद्धधर्म झल्कने कला कृति सहितका प्रशस्त सामाग्रीहरुको साथमा बुद्धका जीवनचक्र सहितका झल्लरी छातासहित सातवटा हात्तीमा दाईजो राखेर बिदाइ गरेका थिए । भृकुटीको विवाहपश्चातः उदयदेव आफ्नी श्रीमती भद्रावती र छोरा नरेन्द्रदेव सहित कुर्पासीबाट काठमाण्डौ आएको तथ्य भृकुटी नगरी काभ्रे खोपासीको जनमानसमा रहिआएको छ । राजा उदयदेव केही दिनमै आफ्नै भाइ ध्रुबदेवले गुप्तहरुको सहयोग लिइ दाइ उदयदेव र उनको परिवारलाई धपाएपछि उदयदेव र उनकी श्रीमती कुर्पासीमा गएर बसे । छोरा नरेन्द्रदेव आफ्नी बहिनी भृकुटी र ज्वाइँ सम्राट स्रोङत्सन गम्पोको शरणमा पुगे । उहाँले आफ्ना जेठान नरेन्द्रदेवलाई तिब्बतबाट प्रशस्त सम्पत्ति र दलबल सहित नेपाल दरबारमा फिर्ता पठाए । नरेन्द्रदेव फर्केर नालामा बसी शक्ति एकीकृत गरे र सजिलै आफ्ना काका ध्रुवदेवलाई हटाई आफू राजगद्दीमा बसेको नेपाली इतिहास साक्षी छ । यिनको पालामा देश धेरै धनी, शक्तिशाली तन्त्रमय बनेको थियो । यिनको पालामा विकास पनि भएको थियो । त्यसपछि ल्हासा र भारत बिचको व्यापार कुर्पासीबाट नालामा स¥यो । अंशुवर्माकी छोरी भोगादेवीलाई भारतमा र उदयदेवकी छोरी भृकुटीलाई चीन (तिब्बत) मा विवाह गरेर पठाइएको यो कूटनीतिक ऐतिहासिक विवाहले नेपाललाई चीन र भारतसंग राजनीतिक सन्तुलन कायम राख्न मद्दत गरेको छ । भारतले पनि भृकुटीलाई देवी मान्दै आएको छ, जसको प्रतिमा अहिले पनि भारतको सारनाथमा राखिएको छ । यसरी भृकुटी–(व)स्रोङ(व)त्सन(स)गमपो कूटनीतिक वैवाहिक सम्बन्धले चीन र भारतसंग नेपालको कूटनीतिक सन्तुलन स्थापित गरी चीन–नेपाल–भारत त्रिदेशीय÷त्रिपक्षीय सम्बन्ध सुदृढिकरणमा महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ ।
(लेखक विगत ८ वर्षभन्दा लामो समयदेखि ‘नेपाल–चीन (तिब्बत) सम्बन्ध’ विषयक विद्यावारिधि शोधकार्यको सिलसिलामा भृकुटी सम्बन्धी खोज, अन्वेषण गर्दैै आउनु भएको छ) ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!