पौने अर्बभन्दा बढी राजस्व छलीको मुद्दा

- March 27, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं ।  राजस्व अनुसन्धान विभागले सन्दिप ट्रेडर्ससहित विभिन्न कम्पनी तथा व्यक्तिहरूलाई ७९ करोड भन्दा बढी राजस्व छली गरेको विभिन्न मुद्दामा सजाय मागदाबीसहित उच्च अदातल बुटवल र पाटनमा मुद्दा दायर गरेको जानकारी दिएको छ । उसको कारोबारसम्बन्धी कागजातहरूको विवरण विश्लेषण गर्दा उक्त फर्मले २०७९ भदौ २७ गतेदेखि २०८० भदौ २१ सम्म एक वर्षको अवधिमा प्रणालीमा प्रविष्टि विवरण दाखिला नगरेको पाइएको छ ।

उक्त फर्मले यो अवधिमा ६ करोड ५४ लाख २२ हजार ६ सय ६० रुपैयाँ बराबर  मालवस्तुको बिक्री र ६ लाख ४९ हजार ४ सय बराबरको खरिद गरेको देखिएको बताइन्छ । खरिद बिल, भन्सार प्रज्ञापनपत्रलगायत अन्य विश्वसनीय खरिद स्रोत बिना नै करोडौंको मालवस्तु बिक्री गरेर राजश्व छली गरेको विभागले दायर गरेको मुद्दामा उल्लेख छ ।

करदाताले भन्सार चोरीपैठारी, मालवस्तुको कारोबार गरी राजस्व चुहावट गरेको देखिएको विभाग स्रोतले जानकारी दिएको छ । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी दफा ४ को खण्ड क च  र झ बमोजिम कसुर गरेको अनुसन्धानबाट पुष्टि भएको स्रोतले जानकारी दिएको छ । ट्रेडर्सका मुख्य कारोबारी दयाशंकर चौधरी र सञ्चालक विमलावती देवी चौधरी कुर्मीमाथि बिगोसहित १२ करोड ८५ लाख २६ हजार २ सय ८० रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको हो ।

यस्तै, विभागले प्रयोगमा ल्याएको भीसीटीएस प्रणालीमा प्रतिवादी राहूल कुमार द्विवेदीले प्रविष्टि गरेको खरिद बिक्रीको विवरण सही नभएको पाइएको छ । निजले आन्तरिक राजस्व विभागले सञ्चालन गरेको प्रणालीमा प्रविष्टि गरेको विवरणबाट प्राप्त भ्याट रिटर्नमा गोलमाल गरेको पाइएको छ ।

प्रतिवादीहरू गुरु इम्पेक्सका प्रोपाइटर  सीताराम प्रसाद रौनियार, शुभश्रीका रिजवान अन्सारी, न्यू कञ्चनका मिरा कुमारी श्रीवास्तव, एस.पी. कन्सर्नका प्रभुशंकर रौनियार र न्यूएसका रामछवि कलवारको कारोबार पनि शंकास्पद रहेको पाइएको छ ।

छानबिन, विश्लेषण र अनुसन्धानका क्रममा विभागले मिलेमतोमा नै यस्ता कार्य गरेको भेटिएपछि प्रतिवादी राहुल कुमार द्विवेदी र माथि उल्लेखित फर्म तथा बीरवलजी भनिने भारतीय नागरिकको मिलोमतो र संलग्नतामा रहेको पुष्टि भएको छ । मालवस्तुहरू भन्सार बिन्दुबाट छली गरी चोरी पैठारी गरेकोमा हदैसम्मको कारबाही माग गर्दै विभागले राजस्व चुहावट र चोरी पैठारी कसुरको ऐन, २०५२ को दफा २० बमोजिम अभियोजन गर्नुपर्ने ठहर गरेको बताइन्छ ।

जया एन्ड जिया इम्पेक्स र त्यसका प्रोपाइटर द्विवेदीलगायतको हकमा १७ करोड ३८ लाख ८० हजार २ सय ४०, गुरु इम्पेक्सका रौनियारको हकमा १ करोड ८२ लाख ९४ हजार ४ सय ७८, शुभश्रीका अन्सारीको हकमा २ करोड ११ लाख १९ हजार २ सय ३६, न्यू कञ्चनका प्रोपराइटर श्रीवास्तवको हकमा २ करोड ११ लाख ८१ हजार ९ सय ४, एस.पी.कन्सर्नका प्रभु शंकरको हकमा १ करोड ७८ लाख ४० हजार २ सय  र न्यू एस कुमार इन्टरनेशनलका रामछत्री साह कलवारको हकमा १ करोड ७५ लाख २८ हजार ६ सय ६० रुपैयाँ बिगो असुल गरी बिगो बमोजिमको जरिवाना माग गरी उच्च अदालतमा मुद्दा दायर गरिएको बताएको छ । पछिल्ला दिनहरूमा गम्भीर प्रकृतिका राजस्व छली, हुण्डी र क्रिप्टोकरेन्सीको अनुसन्धान तीव्ररूपमा अगाडि बढाइरहेको विभाग स्रोतले बताएको छ । (साँघु साप्ताहिकबाट)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!