प्रवासी नेपाली मञ्चद्वारा श्रमिक राहत कोष स्थापना

- February 11, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं  । प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशहरूमा कार्यरत श्रमिक नेपालीलाई आकस्मिक रूपमा आइपर्ने समस्या सम्बोधन गर्न एक करोड नेपाली रुपैँयाको “प्रवासी नेपाली मञ्च श्रमिक राहत कोष” खडा गर्ने निर्णय गरेको छ ।

मञ्चको पन्ध्रौँ बैठकले उक्त कोष सञ्चालनको लागि एक महिनाभित्र आवश्यक कार्यविधि निर्माण गर्न लागि कमलमणि गुरागाईँ (कतार) को संयोजकत्वमा भक्त गुरुङ (हङकङ), बलराम गिरी (साउदी अरेबिया), शालिग्राम पन्त (बहराइन), मोहन रायमाझी (जापान) र दयाराम कुमाल (मलेसिया) सदस्य रहेको समिति गठन गरेको छ । मञ्चका अध्यक्ष सञ्जय थापाको अध्यक्षता तथा नेकपा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा फरबरीको १० र ११ गते मलेसियाको राजधानी कोललमपुरमा भएको १५ औँ बैठकले सो निर्णय गरेको हो  ।

बैठकले प्रवासी नेपालीलाई समस्या पर्दा चौबिसै घण्टा परामर्श सेवा दिने उद्देश्यले नेपालमा हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको छ । उक्त डेस्क सञ्चालनको लागि शिशिर नेपाल (अष्ट्रेलिया) को नेतृत्वमा प्रत्येक महादेशबाट एक/एक जना रहने गरी सञ्चालन समिति गठन गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले प्रवासी नेपाली मञ्च मलेसियाले वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहँदा औद्योगिक दुर्घटना लगायत विविध कारणले मृत्युवरण गर्नुभएका श्रमिक नेपालीको मृत शरीरलाई निःशुल्क हवाई टिकटको व्यवस्था गरी नेपाल पठाउने, विविध कारणले अलपत्र परेका श्रमिक नेपालीहरूलाई निःशुल्क हवाई टिकट उपलब्ध गराई नेपाल उद्धार गरिदिने, उपचार खर्चको अभावले पीडामा परेका श्रमिक नेपालीहरूलाई औषधोपचारको व्यवस्था गरिदिने, श्रमसम्बन्धी विविध कानुनी अप्ठ्यारोमा पर्नुभएका श्रमिक नेपालीहरूलाई निःशुल्क कानुनी सेवाको व्यवस्था गरिदिने लगायतका मानवीय कल्याणकारी सेवा प्रदान गर्दै आएकोमा प्रवासी नेपाली मञ्च मलेसियालाई धन्यवाद दिएको छ ।

मध्यपूर्वमा इजरायल–हमासबीच चलिरहेको नरसंहारकारी युद्धका कारण मृत्युवरमा पर्नुभएका नेपाली युवाहरूका पीडित परिवारलाई आर्थिक राहत स्वरूप जनही १ लाख ४० हजार र चार जना घाइतेलाई प्रतिव्यक्ति ३० हजार नेपाली रुपैँयाका दरले दरले मञ्चले राहत प्रदान गरेको कुरालाई स्मरण गर्दै सोही युद्धमा परी हालसम्म बेपत्ता रहनुभएका विपिन जोशीको अविलम्ब खोजी गरी तत्काल उद्धार गर्न नेपाल सरकार समक्ष बैठकले माग गरेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!