कर्मचारीको तलब, भत्ता र कार्यालय व्यवस्थापनमा बैंकहरूको खर्च ३३ अर्ब १३ करोड

- January 14, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, बैंक तथा वित्तीय संस्थाहरूले खर्च व्यवस्थापनमा मितव्ययिता अपनाएको देखिएको छ । अर्थतन्त्रमा मन्दी आएपछि आम्दानी संकुचन हुँदा बैंकहरूले खर्च कटौतीमा जोड दिएका हुन् । चालू आर्थिक वर्षको चार महिनामा निक्षेप बढ्दै गएकोे तर कर्जाको माग सुस्त भएका कारण बैंकहरू अप्ठ्यारोमा छन् । बैंक तथा वित्तीय संस्थाहरूको कर्मचारी व्यवस्थापन र कार्यालय व्यवस्थापन खर्चसम्बन्धी नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको प्रतिवेदनअनुसार बैंकहरूले कर्मचारीको पारिश्रमिक र कार्यालय व्यवस्थापनमा ३३ अर्ब १३ करोड १० लाख रूपैयाँ खर्च गरेका छन् ।

यसमध्ये कर्मचारी खर्च २० अर्ब २२ करोड ३० लाख रूपैयाँ छ भने कार्यालय व्यवस्थापन खर्च १२ अर्ब ९० करोड ८० लाख रूपैयाँ छ । बैंक तथा वित्तीय संस्थाको यो खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६४ करोड ५० लाख रूपैयाँले बढी हो । गतवर्ष साउनदेखि कात्तिकसम्म बैंकहरूले कर्मचारीको तलब भत्तामा १९ अर्ब ६४ करोड ८० लाख रूपैयाँ र कार्यालय व्यवस्थापनमा १२ अर्ब ८३ करोड ८० लाख रूपैयाँ गरी कुल ३२ अर्ब ४८ करोड ६० लाख रूपैयाँ खर्च गरेका थिए । वाणिज्य बैंकहरूले मात्रै चालू आर्थिक वर्षको पहिलो चार महिनामा कर्मचारी शीर्षकअन्तर्गत १७ अर्ब ७२ करोड ९० लाख रूपैयाँ र कार्यालय व्यवस्थापन शीर्षकअन्तर्गत ११ अर्ब १३ करोड ४० लाख रूपैयाँ गरी कुल २८ अर्ब ८६ करोड ३० लाख रूपैयाँ खर्च गरेका छन् ।

यो खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१ करोड रूपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले कर्मचारी शीर्षकअन्तर्गत १७ अर्ब १९ करोड २० लाख रूपैयाँ र कार्यालय व्यवस्थापन शीर्षकअन्तर्गत ११ अर्ब १६ करोड १० लाख रूपैयाँ गरी कुल २८ अर्ब ३५ करोड ३० लाख रूपैयाँ खर्च गरेका थिए । विकास बैंकहरूले भने चालू आर्थिक वर्षको पहिलो चार महिनामा कर्मचारीहरूको तलब भत्तामा दुई अर्ब ६० लाख रूपैयाँ र कार्यालय व्यवस्थापनमा एक अर्ब ४० करोड ९० लाख रूपैयाँ गरी कुल तीन अर्ब ४१ करोड ५० लाख रूपैयाँ खर्च गरेका छन् ।

यो खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ करोड ४० लाख रूपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूले कर्मचारीहरूको तलब भत्तामा एक अर्ब ९७ करोड ८० लाख र कार्यालय व्यवस्थापनमा एक अर्ब ३१ करोड ३० लाख रूपैयाँ गरी कुल तीन अर्ब २९ करोड १० लाख रूपैयाँ खर्च गरेका थिए । राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरूले चालू आर्थिक वर्षको पहिलो चार महिनामा कर्मचारीहरूको तलब भत्तामा ४९ करोड ९० लाख रूपैयाँ र कार्यालय व्यवस्थापनमा ३६ करोड ५० लाख रूपैयाँ गरी कुल ८५ करोड ४० लाख रूपैयाँ खर्च गरेका छन् । यो खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक करोड १० लाख रूपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरूले कर्मचारीको तलब भत्तामा ४७ करोड ८० लाख रूपैयाँ र कार्यालय व्यवस्थापनमा ३६ करोड ५० लाख रूपैयाँ गरी कुल ८४ करोड ३० लाख रूपैयाँ खर्च गरेका थिए । (आर्थिक दैनिकबाट)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!