राष्ट्र बैंकको तथ्यांक सार्वजनिक : ‘सुधारको दिशामा अर्थतन्त्र’

- January 12, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, तथ्य जस्तोसुकै भए पनि नेपाल राष्ट्र बैंकको तथ्यांकमा भने मुलुकको अर्थतन्त्र सुधारोन्मुख देखिएको छ । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाको प्रतिवेदनअनुसार वैदेशिक व्यापारघाटामा ३ दशमलव १ प्रतिशतले कमी आई पाँच खर्ब ७९ अर्बमा कायम रहनु, कुल वस्तु आयात ३ दशमलव ४ प्रतिशतले घटेर छ खर्ब ४२ अर्ब २१ करोड हुनु, रेमिट्यान्स रकमसँगै विदेशी मुद्राको सञ्चिति बढ्नु, शोधनान्तर स्थिति बढ्नु आदिले पनि मुलुकको अर्थतन्त्र सुधारोन्मुख देखिएको हो ।

राष्ट्र बैंकले अर्थतन्त्र सुधारको दिशातर्फ गएको बताए पनि बजार र आम सर्वसाधारणको अवस्थामा भने सुधारको संकेतसम्म पनि देखिएको छैन । बजारमा खरिदबिक्रीको अवस्था कमजोर छ भने मुख्य सहरका सटरहरू अहिले पनि प्रशस्त खाली नै छन् । प्र्रतिवेदनअनुसार चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाको अवधिमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ४ दशमलव ९५ प्रतिशतमा कायम रहनु, आयात ३ दशमलव ४, निर्यात ६ दशमलव १ र व्यापारघाटा ३ दशमलव १ प्रतिशतले घट्नु, विप्रेषण आप्रवाह नेपाली रूपैयाँमा २७ दशमलव ६ प्रतिशतले बढ्नु, शोधनान्तर स्थिति दुई खर्ब १० अर्ब ५९ करोडले बचतमा रहनु, कुल विदेशी विनिमय सञ्चिति १७ खर्ब ६७ अर्ब चार करोड पुग्नु, सरकारको खर्च चार खर्ब ५३ अर्ब र राजस्व परिचालन तीन खर्ब ६३ अर्ब ४३ करोड पुग्नु, विस्तृत मुद्राप्रदाय ४ दशमलव ७ प्रतिशतले बढ्नु, बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४ दशमलव ६ प्रतिशतले बढ्नु आदि कारणले गर्दा पनि मुलुकको समग्र अर्थतन्त्र सुधारोन्मुख देखिएको हो ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाको अवधिमा चालू खाता एक खर्ब ४० अर्ब २३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ४१ अर्ब २१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड २२ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा एक अर्ब पाँच करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १७ दशमलव २ प्रतिशतले कमी आई दुई अर्ब ८७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी तीन अर्ब ९२ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर तीन अर्ब ४७ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाखले धनात्मक रहेको प्रतिवेदनमा उल्लेख छ ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति दुई खर्ब १० अर्ब ५९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ५८ करोडले बचतमा रहेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो पाँच महिनामा विदेशी मुद्राको सञ्चिति पनि बढेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १४ दशमलव आठ प्रतिशतले वृद्धि भई २०८० मंसिर मसान्तमा १७ खर्ब ६७ अर्ब चार करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० मंसिर मसान्तमा १३ दशमलव ६ प्रतिशतले वृद्धि भई १३ अर्ब ३१ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० मंसिर मसान्तमा १५ दशमलव प्रतिशतले वृद्धि भई १५ खर्ब ५६ अर्ब २५ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० मंसिर मसान्तमा आठ दशमलव नौ प्रतिशतले वृद्धि भई दुुई खर्ब १० अर्ब ७९ करोड कायम भएको छ । राष्ट्र बैंकका अनुसार २०८० मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव छ प्रतिशत रहेको छ । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ को पाँच महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४ दशमलव एक महिनाको वस्तु आयात र ११ दशमलव आठ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने रहेको छ ।

२०८० मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३२ दशमलव आठ प्रतिशत, ९८ दशमलव तीन प्रतिशत र २७ दशमलव पाँच प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरू क्रमशः २८ दशमलव छ प्रतिशत, ८३ प्रतिशत र २५ दशमलव एक प्रतिशत रहेका थिए । चालू आवको पछिल्लो पाँच महिनाको अवधिमा खुद सेवा आय भने २६ अर्ब ९३ करोड रूपैयाँले घाटामा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३० अर्ब ९६ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ४७ दशमलव पाँच प्रतिशतले वृद्धि भई ३३ अर्ब ९५ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २३ अर्ब एक करोड रहेको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ५९ दशमलव पाँच प्रतिशतले वृद्धि भई ७५ अर्ब ७३ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ४७ अर्ब ३५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ४७ अर्ब ४८ करोड रहेकोमा शिक्षातर्फको व्यय २८ अर्ब ८१ करोड रहेको प्रतिवेदनमा उल्लेख छ ।

यस्ता छन्, अर्थतन्त्रमा मुख्य सूचकहरू
–उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ४ दशमलव ९५ प्रतिशत
–आयात ३ दशमलव चार, निर्यात ६ दशमलव एक र व्यापारघाटा ३ दशमलव १ प्रतिशतले घट्नु
–विप्रेषण आप्रवाह नेपाली रूपैयाँमा २७ दशमलव ६ प्रतिशतले बढ्नु
–शोधनान्तर स्थिति दुई खर्ब १० अर्ब ५९ करोडले बचतमा रहनु
–कुल विदेशी विनिमय सञ्चिति १७ खर्ब ६७ अर्ब चार करोड पुग्नु
–सरकारको खर्च चार खर्ब ५३ अर्ब र राजस्व परिचालन तीन खर्ब ६३ अर्ब ४३ करोड पुग्नु
–विस्तृत मुद्राप्रदाय ४ दशमलव ७ प्रतिशतले बढ्नु
–बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४ दशमलव ६ प्रतिशतले बढ्नु

पाँच महिनामा भित्रियो छ खर्ब १३ अर्ब रूपैयाँ रेमिट्यान्स
रेमिट्यान्स रकम बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाको प्रतिवेदनअनुसार रेमिट्यान्स अर्थात् विप्रेषण आप्रवाह २७ दशमलव छ प्रतिशतले बढेर छ खर्ब १३ अर्ब २५ करोड पुगेको छ । प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४ दशमलव पाँच प्रतिशतले वृद्धि भई चार अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव एक प्रतिशतले बढेको थियो ।

चालू आवको पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख ७३ हजार पाँच सय ५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख चार हजार ३७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः दुई लाख ३६ हजार सात सय ७९ र एक लाख १५ हजार नौ सय ४८ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २६ दशमलव तीन प्रतिशतले वृद्धि भई छ खर्ब ६९ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१ दशमलव ६ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । (आर्थिक दैनिकबाट)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!