अछामका २ जना आगलागीका घाइतेलाई उपचारकालागि काठमाडौं ल्याइयो

- February 25, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नं. ८ कोसेडीका स्थानीय बासिन्दाको घरमा आगलागीबाट घाईते भएका दुईजनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको छ ।

फागुन ११ गते घरमा नै आगलागीमा परेपछि स्थानीय २१ वर्षका हिमराज रोका मगर र १९ वर्षका पिरम रोकामगर गम्भीर घाइते भएका थिए । जिल्लामा उपचार सम्भव नभएपछि उनीहरूलाई सुर्खेत अस्पतालमा भर्ना गरिएको थियो ।

घाइतेमध्ये हिमराज रोका मगरको शरीरको ८० प्रतिशत भाग जलेको बताइएको छ । पिरम रोकामगरको ३६ प्रतिशत जलेको जनाइएको छ । सुर्खेत अस्पतालले समेत उपचार गर्न नसक्ने र काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा लैजान सिफारिस गरेपछि पीडित परिवारले उद्धारका लागि पहल गरिदिन प्रधानमन्त्री प्रचण्डसमक्ष अपिल गरेका थिए।

प्रधानमन्त्री कार्यालयले घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै पीडितहरूलाई तत्काल अस्पताल पुर्‍याउन निर्देशन दिएपछि गृह मन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत घाइतेहरूलाई काठमाडौं ल्याइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!