बालाजु औद्योगिक क्षेत्रको जग्गा व्यक्तीलाई बिक्री

- November 7, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

विचौलीयाले प्रति आना न्यूनतम ५० लाखमा सरकारी जग्गा बिक्री

काठमाडौं । मुलुककै पहिलो बालाजु औद्योगिक क्षेत्रको नाममा रहेको सार्वजनिक जग्गा अहिले व्यक्तीले खरिद बिक्री गर्दै आएको पाइएको छ । अबैधधन्दा गर्दै गैरकानुनी व्यवसाय समेत गर्दै आएका उच्च घरानीया कम्पनीका सञ्चालकहरुले सो क्षेत्रको जग्गालाई आफु अनुकुल बिक्री गर्दै आएको आरोप लागेको छ ।

यसरी सरकारी जग्गालाई आफुले भनेकै व्यक्तलाई बिक्री गर्नकालागि शक्तीकेन्द्रको आँडमा किया गाडीका मालिक सुहृद घिमिरे पहिलो नम्बरमा परेका छन् । उनले बालाजु औद्योगिक क्षेत्रको बीसौं रोपनी जग्गा कौडीको मूल्यमा लिजमा लिएर अन्य व्यक्तीलाई आनाका दरमा बिक्री गर्दै आएको समेत बताइएको छ ।

बालाजु औद्योगिक क्षेत्रको जग्गा भाडा लिने र सो जग्गा अन्य व्यक्तीलाई बेच्ने कार्यमा सकृय रहेका घिमिरेले सरकारी भाडा दर भने बृद्धि गर्न समेत अबरोध गर्दै आएका छन् । औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडका प्रतिनिधिलाई आप्mनो अनुकुल निर्णय गर्न लगाएर जग्गाको भाडा बृद्धि गर्न बाट रोक्दै आएका छन् ।

ब्याट्री कम्पनीको १३ रोपनी भन्दा बढी सरकारी जग्गा अतिक्रमण गरी गैरकानुनी रुपमा आफ्नो बनाएको समेत भेटिएको छ । एकातर्फ सरकारलाई बुझाउनु पर्ने कर राजश्व, आयकर र मुल्यअभिबृद्धि कर (भ्याट) समेत छली गर्दै आएका घिमिरेले नेपालमा आर्जन गरेको सम्पत्ति करछली गर्न ट्याक्स हेभन मुलुक ब्रिटिस भर्जिन आइल्याण्डमा लुकाएको समेत उल्लेख गरेको छ ।

यसअघि पनामा पेपर्सले पनि भर्जिन आइल्याण्डमा कालोधन लुकाउनेमा घिमिरेको नाम सार्वजनिक गरेको थियो । मुलुककै पहिलो बालाजु औद्योगिक क्षेत्रको नाममा रहेको सार्वजनिक जग्गा अहिले कुनै व्यक्तीले खरिद बिक्री गर्दै आएको पाइएको छ । औद्योगिक क्षेत्रमा अहिले १ सय २९ उद्योग मध्ये १२ वटा अटोमोबाइल कम्पनीका नाममा जग्गा अतिक्रमण गरेर बसेका छन् ।

यो क्षेत्रमा शोरुम तथा सर्भिस सेन्टर राख्नेहरुमा अशोक एल टी इन्जिनियरिङ सर्भिसेस, आइएमई अटोमोटिभ्स, बालाजु अटो वर्क, दुगड अटो, गुराँस इन्जिनियरिङ, कन्टिनेन्टल कम्पोनेन्ट्स एण्ड सर्भिस, कन्टिनेन्टल सर्भिस प्रालि, नाकासु इन्जिनियरिङ, नेपाल भ्याली इन्जिनियरिङ, पुजा इन्टरनेशनल, सुन्दर प्रोडक्ट एण्ड सर्भिसेस र स्याकार सर्भिसेस प्राली रहेका छन् ।

यी सबै कम्पनीले सवारी साधन बिक्रीका लागि शोरुम र सर्भिस सेन्टर राखेका छन् । यहाँबाट बस, हेभी इक्विपमेन्ट, वाइक, जीप, कार लगायत सवारी साधनहरु बिक्री तथा मर्मत हुँदैं आएका छन् । सुरुमा कम्पनी दर्ता गर्दा वर्कशप वा मर्मत सम्भार केन्द्र भनेर दर्ता गरिए पनि केही कम्पनीहरुले प्रर्दशनी र बिक्री केन्द्र बनाएका छन् ।

सो कार्यालयका अनुसार अटो कम्पनीसँग वर्कसप स्थापनाका लागि सम्झौता भएको हो । तर यी कम्पनीहरुले बिक्री र शोरुमलाई नै प्राथामिकता दिएका छन । उद्योग स्थापनाका लागि जग्गा नभएको भन्दै आएपनि भित्रभित्रै भने सोही क्षेत्रभित्रको जग्गा अबैधरुपमा १ आनाको ५० लाख रुपैयाँमा बिक्री गरिदै आएको छ ।

बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले उत्पादनमूलक उद्योगबाट प्रति रोपनी प्रति वर्ष १६ हजार ५ सय ५७ रुपैंयाँ उठाउँदै आएको छ । औद्योगिक भवनको लागि प्रति वर्ग फूट ३ रुपैंयाँ ७१ पैसा र गोदामका लागि १५ रुपैंयाँ महशुल उठाउँदै आएको छ । गैर उत्पादनमूलक उद्योगहरुलाई तीन समूहमा विभाजन गरिएको छ ।

समूह– १ को लागि प्रति वर्ष एक रोपनीको २८ हजार ३ सय ५०, समूह– २ को लागि ४६ हजार र समूह– ३ का लागि १ लाख १५ हजार महशुल कार्यालयले लिदैं आएको छ । यो रकम प्रत्येक दुई वर्षमा १५/१५ प्रतिशतले वृद्धि हुने भनिएको भएपनि त्यो बृद्धि हुन सकेको छैन । अटोमोबाइल्स कम्पनीलाई समूह २ मा राखिएको छ ।

चक्रपथभित्र गैह्र उत्पादनमूलक उद्योग दर्ताको लागि सुरुमा १ लाख रुपैंया तिर्नु पर्छ । जमिन प्रति आना प्रति महिना २ हजार ७ सय ५० लाग्छ । यो रकम औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको २०७४ माघ १० गते बसेको बैठक निर्णयबाट प्रत्येक वर्ष १० प्रतिशत मात्र वृद्धि भनिएको छ ।

क्षेत्रभित्रको ५ सय ४२ रोपनी लिजमा दिइएको छ । कार्यालयले आफ्नै लगानीमा ४४ वटा औद्योगिक भवनसहित २० गोदाम र २३ ग्यारेज निर्माण गरेको छ । विसं २०१६ मा शिलान्याश गरिएको बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड २०२० सालदेखि सञ्चालनमा आएको हो । औद्योगिक क्षेत्र ६७० रोपनी क्षेत्रमा फैलिएको छ । विचौलीयाहरुले सो जग्गा अन्य व्यक्तिलाई बेच्दै आएको सम्बन्धमा पटकपटक सो कार्यालयमा सम्र्पक गर्दा फोन उठेन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!