बाढी पीडितले लेखे प्रधानमन्त्रीलाई खुलापत्र : सडक र आबश्यकता नै नभएको ठाँउमा पुल बनेछ, मेलम्चीमा पुल कहिले बन्छ प्रधानमन्त्री ज्यु ?

- August 2, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रधानमन्त्री ज्यु
नमस्कार !
समाचार स्रोत अनुसार तस्बिरमा देखिएको यो पक्की मोटोरेबल पुल गोरखाको दरौदी नदी जरेबरमा बनेको पक्की पुल हो । ५ करोड ३९ लाख ८० हजार लागतमा बनेको पुलको पारिपट्टि घना जंगल र वारिपट्टि ब्यक्तीको हरियाली खेत देखिन्छ । यतिबेला समाचार र सामाजिक संजालमा यो पुलको निक्कै चर्चा छ । अझ आश्चर्य त जहाँको लागि पुल बन्यो त्यहीँका स्थानीयहरु नै यो पुलको आबस्यकता नै नभएको भन्दैछन ।
सडक नै नभएको ठाउँमा पुल किन ?
यो पैसा ,शक्ती र सत्ताको चरम दुरुपयोग हो ।
स्थानीयहरुको आक्रोश छ !!

२०७७ सालमा ठेक्का सम्झौता भएर काम सुरु गरिएको रहेछ, तपाईंको कार्यकालमा नभएपनि सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा प्राथमिकताकासाथ समाचार प्रकाशित भएपछि अचानक मैले तपाईंलाइ सम्झिए ।

तपाईंलाई सम्झिनुका केही कारणहरु छन प्रधानमन्त्री ज्यु ।

गएको असार १ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँ पालिकाको भ्रेमाथाङमा पहिरो गयो । पहिरोका कारण मेलम्ची–हेलम्बु क्षेत्रमा ठुलो बाढी आयो र सोही बाढीका कारण हेलम्बु गाउँपालिकाबाट १८ जना मानिसहरु बेपत्ता भए ।

हजारौं रोपनी खेतीयोग्य उर्बर जमीन, सयौं घर टहराहरु, सामुदायिक र सार्बजनिक भवनहरु दर्जनौं झोलुङगे पुल, विद्युत र सडकका पुर्बाधार अनी एउटा गाउँबाट अर्को गाउँ जोड्ने आधा दर्जन यस भेगका लाइफ लाइन मोटोरेबल पुलहरु केही घन्टामै बाढिले बगायो । वारिपारि आवतजावत बन्द भयो एक आपसमा सम्पर्क बिच्छेद भयो ।

सडक, बिजुली बत्ती, खानेपानी जस्ता अत्यावश्यक चिजबाट मानिसहरू महिनौंसम्म बन्चित बने । अझै पनि सो समस्या यथावत छ । बाढीका कारण हजारौं मानिसहरू बिस्थापित हुनपुग्यो ।

बाढिबाट प्रभावितहरुका कष्ट भनी साध्य छैन प्रधानमन्त्री ज्यु ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र बाचन गरेर सुनाउदै सागर श्रेष्ठ

अहिले कर्यौं गाउँहरुमा जब त्यहाँका मानिसहरु बिरामी पर्छन पुल नबनेका कारण कोशौ टाढा देखि स्टेचरमा बिरामी ओसार्न बाध्य हुन्छन । बाढिले ३५ किलोमीटर आसपास तटिय क्षेत्र खण्डहर बनेपछि लगत्तै मेरो नै नेतृत्वमा प्रभावितहरुका तर्फबाट यिनै कुराहरु बोकेर विभिन्न ११ बुँदे माग राखेर प्रधानमन्त्री ज्युको ध्यानाकर्षण गराएको स्मरण गराउदछु ।

बाढिबाट प्रभावितहरुको पुर्नस्थापना, बस्तिको संरक्षण र तत्काल केही लाइफ लाइन सडक र पुलहरुको पुनर्निर्माण हाम्रो प्राथमिकता थियो त्यसबेला । हाम्रो कुराहरू बडो गम्भीरताका साथ प्रधानमन्त्री ज्यु ले सुनिदिए पछि प्रधानमन्त्री ज्यु मार्फत नै हामिले उठाएका सबै मागहरु यथाशीघ्र सम्बोधन हुने प्रतिबद्धता आएको थियो ।

प्रधानमन्त्री ज्युलाइ प्रभावितहरुका तर्फबाट ध्यानाकर्षण गराएको केहि दिन पस्चात तपाईं कै नेतृत्वको सरकारबाट मनाङ र सिन्धुपाल्चोक जिल्लालाई बाढि संकटग्रस्त जिल्ला घोषणा हुंदा हामि निकै नै हर्षित भएका हौं । समयक्रमसंगै बाढिले मेलम्ची, हेलम्बु क्षेत्रमा अकल्पनीय क्षति पु¥याएको १ बर्ष नाघिसकेछ । हामिले त्यसबेला प्रधानमन्त्री ज्यु लाई बाढिग्रस्त क्षेत्रका प्रभावितहरुका समस्याका बारेमा अबगत गराएको पनि १ बर्ष बितिसकेछ ।

सामाजिक अभियन्ता मात्रै नभएर सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेसको स्थानीय नेतृत्व र खासगरी प्रधानमन्त्री निकट कार्यकर्ता हुनुको नाताले पनि प्रधानमन्त्री ज्यु मार्फत प्राप्त आश्वाशनका बारेमा अहिले हरेक दिन जसो प्रधानमन्त्री ज्यु लाई बुझाएको ध्यानाकर्षणका बारेमा के हुदैछ ? भनेर मेलम्ची हेलम्बुका स्थानीय प्रभावितहरुले सोध्ने गर्नुहुन्छ ।

छोटो समयमै नेपाली सेनाको नेतृत्वमा हेलम्बुको इचोक चनौटेमा एउटा बेली ब्रीज पुल बनेपछि क्रमैसंग अन्य पुलहरु पनि बन्दै जाने छ धैर्य गर्न भनेर उहाँहरुलाइ थामथुम पार्ने कोसिस गर्छु । बाढिग्रस्त क्षेत्रका स्थानीयहरु त्रासै त्रासमा रात बिताउन बाध्य छन् । कतिपय मानिसहरू उज्यालोमा सुत्छन रातमा टर्च लाइट बोकेर जागा बस्छन् । अघिल्लो आर्थिक बर्षमा बस्ति संरक्षणमा अपेक्षित काम भयन पुनर्निर्माणका काम त झनै शुन्य छ प्रधानमन्त्री ज्यु ।

गएको बर्ष यो आर्थिक बर्षको पर्खाइमा बित्यो यो आर्थिक बर्षको बजेटमा पनि बाढिले थला पारेको मेलम्ची, हेलम्बु क्षेत्र प्रदेश र संघीय सरकारको प्राथमिकता मै परेन । काकाकुल काठमाडौं राजधानीबासिको प्यास मेटाउने खानेपानीको उदगम स्थाल मेलम्ची हो प्रधानमन्त्री ज्यु ! दुध, तरकारी, चामल खाद्यान्न अनि ठुलो परिमाणमा गिट्टी, बालुवा राजधानी पठाउने स्रोत हो मेलम्ची !

पांचपोखरी, गोसाइँकुण्ड, पाल्चोक भगवती मन्दिर, हेलम्बु, लाङटाङ जस्तो धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलका बारेमा सुन्नु भएकै छ । आज यि सबै धार्मिक तथा पर्यटकीय ठाउँहरु एक अर्कासंग चुडिएका छन । सडक र आबस्यकता नै नभएको गोरखाको दरौदी खोलामा करोडौं लगानीमा पुल बनेछ आबश्यकता र सडक दुबै भएको मेलम्ची र हेलम्बुमा पुल कहिले बन्छ प्रधानमन्त्री ज्यु ?

प्रधानमन्त्री ज्यु बाहेक सरकारका थुप्रै सांसद र मन्त्रीज्युहरु बाट बाढिग्रस्त क्षेत्रको अबलोकन भ्रमण भएकै हो । स्वयं प्रधानमन्त्री ज्युलाई यस क्षेत्रको भ्रमणका लागि समेत पटकपटक आग्रह गरेको सम्झिन्छु । एउटा कार्यकर्ताका रुपमा हरेक पटक ब्यस्तताका बाबजुद पनि समय दिएर चासो पुर्बक मेरा कुराहरू सुनिदिनु भएकै थियो ।

आजपत्र मार्फत ब्यक्त गरिएका कुराहरू प्रधानमन्त्री ज्यु संगै भेटेरै पनि गर्न सक्दथे तर यो पटक मलाइ यसरिनै उचित लागेर खुल्ला पत्र लेखे । समय मिलाएर यसै खुल्ला पत्र मार्फत प्रधानमन्त्री ज्यु लाइ बाढिग्रस्त मेलम्ची, हेलम्बुमा भ्रमणका लागि निम्तो गर्दछु ।

उहि तपाईं कै …….

सागरकुमार श्रेष्ठ

समाजसेवी तथा होटल व्यवसायी
मेलम्ची नगरपालिका, सिन्धुपाल्चोक क्षेत्र नम्बर २

 

र यो पनि…

स्थानीय बासिन्दाले लेखे मेयरलाई पत्र : तपाईंले व्यक्त गरेको प्रतिबद्धता कहिले पुरा हुन्छ ?

हेलम्बु–मेलम्ची क्षेत्रमा बाढीबाट कटान सुरु : रातभर स्थानीय बासिन्दा घर बाहिर


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!